चीलको आक्रमणबाट भयभित गाउँलेहरु

चीलको आक्रमणबाट भयभित गाउँलेहरु


लण्डन । हार्डफोर्डसायर, ब्रोमयार्ड गाउँनजिकैको पेनकोम्बे जंगलमा एउटा अति नै हिंस्रक तथा आक्रमक चीलले त्यस वरिपरि आउने मानिसहरुलाई सांघातिक हमला गरेर त्रास फैलाएको छ । कुनै एक्सन चलचित्रको पर्दामा प्रस्तुत गरेझैं भान हुने गरी बाटोमा हल्का जोगिङ गर्दै गरेका व्यक्तिहरु, साइकल चालकहरु, कुकुर डोर्‍याउँदै हिँडेकाहरु साथै घुडसवारीमा त्यसतर्फ गएकाहरु सबैलाई अकाशबाट अति वेग गतिमा कावा खेल्दै पञ्जा र चुच्चोले हमला गरेर धेरैलाई घायल बनाएको समाचार प्राप्त भएको छ । उक्त चीलको आक्रमणमा परेका व्यक्तिहरुको घाउ गहिरो र रगतको भैल बग्ने गरी घाइते भएकाले मानिसहरु त्यस क्षेत्रलाई प्रतिबन्धितस्वरुप अचेल जान डराउँछन् ।

वास्तवमा त्यो क्षेत्र सयर गर्ने र व्यायम गर्ने राम्रो स्थानहरुमा पर्छ । त्यस चीलको गुँड छेउछाउमा कुनै पनि मानिस र प्राणीको हलचल हुनासाथ आकाश मार्गबाट सोँझै झम्टेर थाहा नै नपाई आक्रमण गर्न थाल्छ । २ फिट जति उचाइ भएको त्यस चीलले त्यस क्षेत्रका वासिन्दालाई भयभित बनाएको छ । एकजना ३४ वर्षीय शिक्षक लिन्ड्से वैकका अनुसार उनी एकदिन आफ्नो घोडामा चढेर त्यतातिरको बाटो भएर जाँदै गरेको बेला आफूले ठूलो आवाज सुनेको, त्यसपछि लगत्तै आफूले ओढेको हेलमेटमाथि यति जोरले प्रहार भएको कि एकछिनसम्म आँखाअघि तारा देख्ने गरी आँखा नै तिलमिलाएको कुरा बताएकी छिन् । उनको हेलमेट बाक्लो भएर एकातिर ढल्किएको थियो । एकछिनपछि माथितिर बडेमानको चील उडेको उनले देखेकी थिईन् । उनको घोडासमेत एकपटक उफ्रेर उभिएको थियो । यदि घोडा बिच्केर भागेको भए समस्या हुनसक्नेथिथ्यो तर, घोडा भाग्ने खालको थिएन ।

त्यस्तै एकजना ए लेभेल पढ्दै गरेकी १८ वर्षीय छात्रा चारलोट कोलीलाई पनि सो चीलले सांघातिक आक्रमण गरेर गम्भीर घायल बनाएको रहेछ । उनको अनुसार उनलाई टाउकोबाट एक पिन्ट जति रगत बग्ने गहिरो चोट पुर्‍याएर ठुङ्गेको कुरा प्रकाशमा आएको छ । त्यस्ता चोट पुग्ने गरी कयौंलाई हमला गरेको हुनाले त्यसतर्फ मान्छेहरु अहिले हिँड्दैनन् । आरएसपीबीका स्टाफ लुइज पेडरसनका अनुसार चीलले आफ्नो गुँडमा भएका बचेराहरुको रक्षार्थ आक्रमण गरेको होला भनी प्रकाश पारेको छ । सभार मेट्रो, -सुमल, मेस ।