बेलायती नेपालीहरुका 'राजधानी'

बेलायती नेपालीहरुका 'राजधानी'


जिन्समाथि टिसर्ट लगाएको युवक र मगर पहिरनकी युवती, अल्डरसटको ‘निरमाया दोहोरी रेष्टुरेन्ट’मा, आफ्नो फर्माइसमा गाइएको कौडा लयको गीतमा लयवद्ध तरिकाले नाच्दैथिए । सो नृत्यका साथै जातीय भेषमा नाचिएको सो शैली यत्तिको सुमधुर देखिन्थ्यो कि केहीअगाडि गाइएको अश्लील मतलव दिने दोहोरी लोकगीतमा रक्सीको मातमा झुमेकाहरु पनि तब अति नै भावविभोर भएर उक्त जोडीको कौडा नृत्यमा चाखपूर्ण आसयले ताली बजाउँदैथिए र एक मगर दम्पती उक्त युवा जोडीको नृत्य र कौडा भाखाको गीत गायनमा खुशी भएर स्टेजमा राखिएको सानो बक्समा पैसा राख्दै थिए, त्यसैले गर्दा पनि सो पल मनमोहक बनेको केही ग्राहकहरुको भनाइ थियो ।


अल्डरसटको ‘हाइ-स्ट्रिट’को वरपर रहेको ‘भेटघाट दोहोरी र निरमाया दोहोरी’ रेष्टुरेन्ट, करीव तीन चारहजार नेपालीहरुको स्थायी बसोबास रहेको सो क्षेत्रमा निक्कै नै स्थापित नामहरु हुन् । साढे दश बजे रातिसम्म खोल्ने अनुमति पाएको भेटघाट दोहोरी, धेरै हदसम्म उत्कृष्ट रुपको रेष्टुरेन्ट, यसको साजसज्जाले गर्दा ज्यादा लाग्दथ्यो । समर याममा साढे दश बजेसम्म दिनको उज्यालो केही मात्रामा अद्यावधि नै देखिन्छ र यही प्रहरको सम्साँझै बन्द गर्नु पर्ने ‘भेटघाट’, पहिलो नेपाली दोहोरी रेष्टुरेन्ट, हप्ताको चार साँझ खोल्दा पनि ग्राहकहरुले भरिपूर्ण देखिँदैनथ्यो । बेलायती छिमेकीको अब्जेक्सनले गर्दा सोही छोटो समयलाई पनि प्रशस्तै संगीतमय बनाउन मश्किल पर्दै गएको सो रेष्टुरेन्टका मालिक, भूतपूर्व ब्रिटिस आर्मी केशर गुरुङ बताउँदथे भने त्यसको केही तल रहेको ‘निरमाया दोहोरी’लाई व्यवस्थापन गर्ने नेपाल प्रहरीका भूतपूर्व डी.यस.पी. वाचस्पति रेग्मीको विहीबार, शुक्रबार र शनिबार आफ्नो दोहोरी भने प्याक हुने भनाइ थियो । नाइट क्लवको अनुमति पाएकोले अबेरसम्म चल्ने सो दोहोरी रेष्टुरेन्टको मूल गेटमा दुर्इ जना र माथि पनि राखिएको सुरक्षा गार्डहरुलाई देख्दा, होइन होला भन्न सकिँदैनथ्यो ।

दक्षिण-पश्मिच लण्डनबाट ३७ माइल टाढा पर्ने ‘रशमूर बोरो काउन्सिल’ले व्यवस्थापन गरेको अल्डरसट शहरलाई ‘ब्रिटिस सिपाहींहरुको बस्ती’ भनेर ज्यादा चिनिने गरिन्छ । एक तथ्याङ्कअनुसार, लगभग ३४००० जनसङ्ख्या रहेको यस सानो शहरको वरपरको शहरी क्षेत्रहरु ‘क्याम्बर्ली’, ‘फार्नबोरो’ र ‘फार्नहाम’ गरी २४३,००० जनसङ्ख्या पुगेको छ, र यो क्षेत्र यूकेको तीसौं विशाल क्षेत्र मानिएको छ । स्थानीय विभिन्न नामका सङ्ग्रहालयहरुलगायत ‘प्रिन्स हिल’, ‘वेस्ट एण्ड सेन्टर’, ‘अल्पाइन स्पोर्टस् सेन्टर’ र ‘अल्डरसट पूल कम्प्लेक्स’हरु अल्डरसटका अन्य आकर्षणहरु हुन् । ‘भिक्टोरिएन टाउन’ यूकेभरिमा सिपाहींहरुको घर भनेर प्रसिद्धिएको छ त्यस्तै, अठारौं शताब्दीमा रानी भिक्टोरियाको मनपर्ने स्थानमध्ये एक अल्डरसटलाई मानिने पत्रपत्रिकामा लेखिएको छ । अल्डरसटमा रहेका विभिन्न पूरातात्विक अवस्थाले गर्दा पनि समूल यूकेमा यस क्षेत्रको महत्व रहेको हो र यही महत्ता तथा राम्रोपनले अनि विविध रुपका सामन्जस्यताले नै गर्दा यस शहरसँग ‘पोल्याण्डको सुलेचो’, ‘फ्रान्सको म्यौडन’ र ‘जर्मनीको अबेरोर्सल’ नामका साना शहरहरुसँग मीतेरी साँइनो गाँसी देशहरुबीचमा सम्वन्धहरु सुमधुर बनाइएको छ । जस्तै, ‘क्याम्ब्रिजस्थित वेम्बिस र डेब्डेन’ गाउँलाई नेपालको कास्की जिल्लाअन्तर्गत पर्ने ‘तिङताङ’ गाउँसँग मीतेरी लगाई सो स्थानहरुबीच सामाजिक सामन्जस्यता ल्याउने प्रयास गरिएको छ ।

सन् १९७२ मा ‘१६ प्यारास्युट ब्रिगेड’को हेडक्वाटरमा आईआरएले सात जनाको ज्यान लिने गरेर गरेको कार बम्बिङको घाउ अझै अल्डरसटमा खाटो हालातमा रहेको छ तापनि बितेका वर्षहरुमा अल्डरसटलाई सुन्दर गाउँले शहर बनाउनका लागि सरकार तल्लीन भएको लाग्दछ । सानो शहर, खुल्ला परिवेश तथा वातावरणहरुले गर्दा यस क्षेत्रमा गर्न र बनाउन सकिने विकासका पूर्वाधारहरु प्रशस्त देखिएकोले सरकारले गहिरो अभिरुचि देखाएको हो । आईआरएको घातक हमलापछि, मिलिटरीहरुलाई ज्यादा नै सजग बनाइएको थियो । ब्रिटिस सेनाहरुको बसाइ भएको स्थानमा नेपालीहरु पनि सोही पर्यायलाई पछ्याएर यही शहर तथा वरपरका शहरहरुमा अत्यधिक मात्रामा बस्न थालेका हुन् भन्ने बताइएको छ र सो प्रकारले बसाइ-सराइ हुने क्रम पनि जारी रहेको छ । नेपालीहरुका त्यही उपस्थितिलाई मध्यनजर राखेर नै यहाँ हरेक प्रकारका कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ । व्रिटिस गुर्खाहरुका साथै अन्य नेपालीहरु यहाँ यसरी थुप्रँदै गर्दा यस क्षेत्र अहिले नेपालीहरुको केन्द्रको रुपमा रहेको छ । सर्वत्र खुल्ला र फराकिलो देखिने अल्डरसटमा हरेक साल हुने गुर्खा कप, व्रिटिस सेनाको स्वामित्वमा रहेको खुल्ला चउरमा हुने गर्दछ जो पहिले निःशुल्क रुपमा नेपालीहरुलाई उपलब्ध हुन्थ्यो तर अहिले सशुल्क भएको बताइएको छ । ‘अल्डरसट’, ‘फार्नबोरो’, ‘फार्नहाम’, ‘बागसट’ आदि स्थानहरुका विभिन्न खुल्ला चउरहरु वा स्कुलहरुका खुल्ला चउरहरुमा विभिन्न अवसरमा नेपालीहरुको भेला हुने गर्दछ ।

गत आइतबार, अल्डरसटको यही चर्चालाई ध्यानमा राख्दै मेरो यूके डट कमको एक सानो समूह जम्मा हुने अभिप्रायले म त्यसतर्फ लागेँ ‘इन्फिल्ड’, लण्डनबाट । ५७ माइल टाढा रहेको सानो गाउँ ‘ब्राकनैल’मा जम्मा हुने भनिएकोले लण्डनको चक्रपथ ‘यम २५’, ‘यम ३’ अनि ‘ए २३०’ हुँदै ‘ब्राकनैल’ पुग्न एक घण्टा लागेको थियो । दिउँसोको चकमन्न टन्टलापुर घाममा सो गाउँ मसानघाट जस्तो गरी स्थीर लम्पसारिएको थियो । ससाना घरहरु र घरहरुका अगाडि कारहरु निस्चेष्ट पल्टिएको भान हुने उक्त गाउँलाई चारैतिर जँगलले घेरेकोले एकतमाससँग चराचुरुङ्गीहरु कराइरहेको आवाज झर्कोलाग्दो सुनिन्थ्यो । कारहरुको पार्क गरिएको ठाउँको खाली स्थानमा कार पार्क गरी बाहिरिँदा मन नै भरङ्ग हुने किसिमको वातावरण देखिन्थ्यो । कुनै घरका ढोका खुल्ला थिएनन्, कोही झ्यालबाट चिहृयाएर बाहिर हेरेनन् । न ती घरहरुमा मानिसहरुका आवाज सुनियो, न त तिनका कोठाहरुमा रहेको टीभीको आवाज नै सुनियो । सानो बाटो, ससाना खुल्ला चउर, प्रशस्तै छाया दिनसक्ने ठूल्ठूला रुखहरु सर्वत्रै थिए तर कतै बच्चा उफ्रेका थिएनन्, कराएका थिएनन्, चिच्याएका थिए त ती चराहरु वनबाट एकतमाससँग, जस्तो कि मेरो प्रवेश तिनको साम्राज्यमा वर्जित गरिएको होस् ।

‘ब्राकनैल’, नेपालीहरुको अर्को लोकप्रिय बस्ती भएको शहर ‘रिडिङ’बाट २० मिनेट ‘ड्राइभ’को दुरीमा पर्दछ । झुरुप्प नभए पनि केही घरहरु नेपालीका रहेको यस ‘ब्राकनैल’ सस्तो गाउँ हो । लगभग डेढ लाखमा तीन कोठा भएको घर नै पाउने भएकोले नेपालीहरुलगायत अन्य वासीहरु पनि यो ठाउँमा टाँसिएका भए तापनि मेरो पहिलो ‘इम्प्रेशन’ नै खराव रहेको थियो । मित्र यामलाई पर्खन अर्को आधा घण्टा र अर्को मित्र हुमलाई पर्खन लागेको पैंतालीस मिनेट कष्टरहित रहेन । घरपछाडिको सानो खाली ठाउँलाई जतिभन्दा धेरै सदुपयोग गरेर सागसब्जीहरु उमार्ने सो नेपाली परिवार उक्त गाउँलाई एक शान्त स्थान मान्दछन्, आफ्नो संसारको । अनौठो लागेन, मानिसहरुका जीवनलाई भोग्ने र बुझ्ने शैली नै फरक-फरक हुन्छ । सो घरमा बसेका मित्र याम र मित्र होमसँग त्यसपछि हामी अर्को बीस मिनेट ‘ड्राइभ’ पर रहेको अल्डरसट पुग्यौं । सानो र रमाइलो लाग्ने शहर अल्डरसट सुन्दर लाग्यो ।

अल्डरसटका कुनै गल्ली तथा सडकहरुमा हिँड्दै गर्दा, ढाका टोपी लगाएका मामा (बूढा नेपाली लोग्नेमान्छे)हरु र लुङ्गी लगाएकी छामा (बूढी नेपाली महिला)हरुलगायत र्झन-र्झन थालेको पाइन्ट लगाउने, कानमा मून्द्रा लगाउने नेपाली ठिटाहरु र कोभन्दा कम भनेजस्तै गरी छोटो फ्रक वा मिनिस्कर्ट लगाउने नेपाली ठिटीहरु यत्रतत्र देखिन्छन् । नेपालीको आफ्नो स्वामित्वमा रहेको ठूला सुपरमार्केटहरु -‘क्वालिटि’, ‘बुद्ध’, ‘फेवा’ तथा नेपाली रेष्टुरेन्ट तथा क्याफे ‘ए.यम.’, ‘टाइम’लगायत नाइट क्लव वा दोहोरीहरु ‘भेटघाट’, ‘निरमाया’ आदि अल्डरसटमा स्थापित व्यवसायहरु हुन् । वर्षौं वर्षदेखि यहाँ स्थायी बसोबास गर्दै आएका नेपालीहरुमध्ये धेरै परिमाणमा ब्रिटिस नागरिक भइसकेका छन् । तिनीहरुको ठूलो भागले नेपालमा भएको आफ्नो नामको चलअचल सम्पतिहरु बेचविखन गरी सदाकै लागि यहाँ आएका छन् । यत्तिका समयदेखि बस्दै आएका वा स्थानीय भइसकेका नेपालीहरुभने स्थानीय बेलायती समाजको अंग जस्ता लाग्ने खालका देखिएनन् । ‘भेटघाट दोहोरी’मा आइतबार साँझ लगभग खाली थियो । नेपाली संस्कृतिको लोकभाकालाई व्यवसायको रुपमा पस्कने ‘भेटघाट’ले स्थानीय बेलायती समुदायलाई आकर्षित पार्न नसकेको सञ्चालक केशर गुरुङ धक नमानी बताए । दिउँसो पूर्णतया बन्द रहने सो रेष्टुरेन्ट यस्तो लोकेसनमा छ कि, ‘अफिसियल लन्च सर्भ’ गर्न सक्ने प्रशस्तै क्षमता राख्दछ । रेष्टुरेन्टको स्तर उच्च, उपयुक्त लोकेसन, नेपालीत्वको प्रस्तुति गर्न सक्षम हुँदाहुँदै पनि बडो मश्किलले रेष्टुरेन्ट चलेको बताउने गुरुङ, स्थानीय समाजमा घुलमुलिन नसकेको आफ्नो कमजोरी मान्दछन् । भूतपूर्व व्रिटिस सिपाहींको त यस्तो हालात छ भने अन्यको हालातको बारेमा अनुमान सजिलै लगाउन सकिन्छ । नेपालीहरुलाई हेर्ने स्थानीय आँखाहरु साँघुरिएको भने पक्कै हो । यता, ‘निरमाया’मा पनि आइतबार साँझ खाली जस्तै थियो । रोधीं घरको झनक दिने किसिमको साधारण साजसज्जा रहेको सो दोहोरीमा अश्लील मतलवका दोहोरी गाइएका थिए । दुर्इजना स्थानीय बेलायती महिलाहरु देखिएको सो दोहोरीमा रक्सीको नशामा अगाडि गएर नाच्नेहरु झुम्मिएकै बखत, एक जिन्समाथि टिसर्ट लगाएको युवक र गुरुङ पहिरनकी युवती, आफ्नो फर्माइसमा गाइएको कौडा लयको गीतमा लयवद्ध तरिकाले नाच्दैथिए र तिनका सोही नचाइलाई प्रतिविम्वित गर्दै खुशी भएर एक दम्पती गीत गाउने कलाकारहरुलाई टिप्स दिँदै थिए । भर्खरै त्यसरी अश्लील गीत गाइएको र रक्सीको शुरमा हल्लिरहेको परिवेशको एकदम उल्टो नेपाली संस्कृतिको पारम्परिक नृत्यले सबैलाई मुग्ध बनाएको थियो । वास्तवमा आफ्नो संस्कृति यसरी नै जोगाउने हो ।

हरेक पन्ध्रौं दिनमा आफ्नो सबै परिवारसहित जीत बहादुर राना सो ‘निरमाया दोहोरी’मा आफ्नो ‘नेपाली-पन’ छाम्नका लागि आउने गर्दछन् । वर्षौंदेखि अल्डरसटवरपर बस्दै आएका जीतबहादुरलाई जति यहाँको बेलायती समाज तथा रहनसहन प्यारो छ, त्योभन्दा ज्यादा आफ्नो नेपालीपन, नेपाली संस्कृति प्यारो लाग्दछ र त्यही रुपमा नै आफ्ना सन्तानलाई हुर्काउँदै लगेकोमा गर्व पनि लाग्दछ । भर्खरै नाच्ने युवा जोडी, जीतबहादुर रानाको छोरा र छोरी थिए । आफ्ना हुर्केका छोराछोरी साथसाथै आफ्नो मगर पारम्परिक कौडा नृत्य नाच्दा जीतबहादुरसहित उनकी श्रीमतीको छाती गर्वले चौडा भएकाले त्यही खुशीलाई निरमायाका कलाकारहरुसँग बाँडेकाथिए भने यसरी सानो साथमा आफ्ना बाबाआमालाई खुशी दिँदा आफूहरु पनि गर्वित भएको बताउँदै थिए तिनका छोरा मोहन । अल्डरसटको यो पक्ष भने अत्यन्तै उदारहणीय लाग्यो । नेपालीबाट बेलायती बन्ने प्रयत्नमा झर्न-झर्न लागेको पाइन्ट लगाउने मून्द्रे नेपाली केटा र एक बित्ताको फ्रक लगाएर हिँड्ने नक्कली नेपाली केटीलाई देख्दा बिरक्तिएको मन, निरमायामा नाचेका, रानाका छोराछोरीलाई देख्दा शान्त भएको भने थियो ।

सिपाहींहरुको बस्ती भनेर चिनिएको अल्डरसटमा स्थानीय बेलायतीहरुले स्थानीय नेपालीहरुलाई सहवासीको मान्यताले नहेर्ने अनेक प्रसङ्गहरुमा स्पष्ट देखिन्छ नै, उसो त अल्डरसट पनि परापूर्व कालमा भिक्टोरिया रानीबाट मन पराइएको शहर अहिले त्यसको विकृत हालातमा ‘धङधङी’लाई मात्र धानेर रहेको छ भन्नु अतिसयोक्ति हुँदैन । बेलायती राजनीतिका लागि चारवटा क्षेत्रहरु ‘रोहिल’, ‘वेलिङ्टन’, ‘म्यानोर पार्क’, ‘हेरोन वुड’ र ‘नर्थ टाउन’मा विभाजन गरी व्यवस्थित गर्ने प्रयत्न गरिएको भए तापनि भित्रभित्रै नाजुक हालतमा रहेको यथार्थ छोपिएको छैन । काउन्सिलले प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको जगजाहेर नै भएको छ ।

हप्ताको प्रत्यक विहीबार, अल्डरसटको टाउनसेन्टर वा त्यहाँका गल्लीहरु र कुनाकाप्चाहरुमा यौन पिपासुहरु सल्लबलाइरहेका देखिनु अहिले त्यहाँ सामान्य भएको छ । प्रत्येक विहीबार छुट्टी पाउने सिपाहींहरु र तिनका भोका आँखाहरुले लखेट्ने मिनिस्कर्टलगायत हरेक चाल र ढालका आइमाइहरु अनि ती चाल र ढालका आइमाइहरुका आफ्ना आसेपासे वा सहोदर स्थानीय लोग्नेमान्छेहरुको पारस्परिकतामा हरेक विहीबार कहीं न कतै ग्याङ फाइटहरुले निरन्तरता लिने गर्दछ त्यतातिर भने, अल्डरसटकै, खासगरी वेस्ट एण्डका गल्लीहरुमा सखारै विहानी र अवेर राति लुटिने डरले गर्दा हिँड्न सकिँदैन । अल्डरसटमा वास्तवमा भन्ने भए ड्रगिस्टहरु जताततै देखिन्छन् । तिनीहरुका झोलझाल स्वरुप दृश्यावलोकनकै मानेमा पनि खोटो लाग्ने देखिन्छन् । ससाना बाटोघाटोमा सौखिनहरु कुकुरहरु नबाँधेर कुकुरसँगै चाहार्छन् र ती कुकुरबाट अनायासै झसङ्गिन पर्ने, वा हमला ब्यौहोर्न पैदल हिँड्नेहरु हरहमेसा तयार हुनु पर्दछ । शिरमा बेसबल क्याप, गलामा मोटो चेन, कानमा मून्द्रा अनि कपाललाई पँहेलै पारेर हिँड्नेहरु एक किसिमले आततायी लाग्दछन् हरेकजसो बाटोघाटोमा ।

स्थानीय वास्तविक बेलायती समाज र सिपाहींका परिवारहरु भने राम्रा मानिन्छन् । तर यो सङ्ख्या तुलनात्मक रुपमा सानो हुँदै गएकोले अल्डरसटप्रति आशावादी हुनसक्ने परिणामहरु कम हुँदै गएका छन् । त्यही मिलिटरीहरु पनि यहाँ नहुने हो भने अल्डरसट ‘ग्याङ-फाइट’लगायत आपसी युद्ध भइरहने ठाउँ हुनेमा ज्ञारेन्टी गर्न गाह्रो पर्दैन ।

यस्तो हालात र परिवेशमा बस्ने नेपालीहरु एकै स्थानमा झुरुम्म भएर बस्न नसक्नु एउटा विडम्वना हो । नेपालीहरुमा, आफू नेपाली हुँ भन्ने, बेलायती हुँ भन्ने अनि नेपालकै विविध जातजातिका एक जाति हुँ भन्नेहरुका थरीहरुले गर्दा नेपाली-नेपालीबीचमा व्यापक असमानता देखिँदै समाज नै सानो र साँघुरो बन्दै गएको छ । त्यसैले त विभिन्न अवसरहरुमा यहाँ एकथरी नेपाली र अर्को थरी नेपालीबीच छुरी हानाहान, टाउको फोडाफोड हुने गर्दछ । अवसर र स्थानको भौगोलिक अवस्थाले गर्दा यहाँ नेपालीहरु फैलिनसक्ने प्रशस्तै सम्भावनाहरु छन् । यहाँ सामाजिक भएर बसेका नेपालीहरु सबैभन्दा पहिला अल्डरसट अर्थात् यहाँको माटोप्रति वफादार हुनु जरुरी छ । स्थानीय समाजको धारमा समाहित हुनका लागि भाषा बोल्दैमा हुँदैन, तिनका सामाजिक वा पारिवारिक जमघटहरुमा पुग्ने अनि आफ्ना उस्तै प्रकारका जमघटहरुमा बोलाउने कार्य सो कृयाको लागि पहिलो प्रयासहरु हुनेछ । कुनै समुदायका मानिसहरु पनि कसैको वर्थ डे वा एनिभर्सरीहरुमा बोलाइए नआउने गर्दैनन्, यसरी परिवार परिवारबीचमा पहिलो वास्तविक घुलमिलको चरण शुरु हुनेगर्दछ ।

एकपटकको मानवचोलामा खासगरी यो कालमा नेपालीहरु घरका न घाटका हुने परिस्थिति सर्वत्र टड्कारो देखिएको छ । जिन्दगीभर भागेर वा खोजीमा दौडेर मात्र बिताउन पटक्कै सकिँदैन । तटस्थता जीवनको प्यारो पर्याय हो, त्यसलाई जतिसक्दो चाँडै खोजी भोग्नु, मानवको एउटै बाटो हो । त्यसैले, विदेशमा सबैभन्दा पहिला, त्यो क्रममा बढ्नका लागि सो स्थानसापेक्ष हुन अत्यन्तै जरुरी रहनेहुन्छ ।

त्यस्तै हो, आइतबार अबेर राति, ‘प्रिमियर-इन’मा थकित हालातमा रात बिताउन पुगेकाथियौं, चौबीसै घण्टा खुल्ला रहने उक्त होटेलको मूलद्वारको घण्टी बजाउँदा पनि ज्यादै बेर लगाएर ढोका खोलेको उक्त रिसेप्सनको व्यक्तिलाई ढोकाबाटै आफ्नो रिजर्भ गरिएको कोठाको नम्बर एकैपल्ट सबैले एकैसाथ बताएका थियौं । भित्र पसेपछि आरामसँग आफ्नो कोठाको नम्वर बताई चाबी लिन नसकिने त्यहाँ कुनै वाध्यता थिएन, तर नजानिँदो गरी सायद हाम्रो मन तथा मस्तिष्कमा हामीलाई हामी नेपाली भएको यथार्थको वोध भएको हुँदो हो । सायद !!
-प्रकाश के.सी., [तस्वीरहरु : याम तमू, नेट]