गाउँमा सूचनाको पहुँच पु-याउने प्रतिबद्धता

गाउँमा सूचनाको पहुँच पु-याउने प्रतिबद्धता


– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

विकट गाउँबाट वैदेशिक रोजगारीमा गएका महिलाहरु जोखिममा पर्ने क्रम बढेपछि सूचनाका हकका अभियन्ताहरु विभिन्न बस्तीमा जाने भएका छन् । सूचना अभावकै कारण गाउँका महिलाहरु बेचविखनमा पर्न थालेपछि चेतना अभिवृद्धिका लागि उनीहरुले गाउँ जाने प्रतिबद्धता जनाएका हुन् ।

बेदैशिक रोजगारीसँगै कागजी रुपमै मानव बेचविखन हुन थालेपछि त्यसको न्यूनीकरणका लागि तालिम प्राप्त सूचनाको हकका अभियन्ताहरु विभिन्न गाउँ जानेछन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले दिएको तीन दिने विपदपछिको असुरक्षित बैदेशिक रोजगारी र मानव बेचविखन न्यूनीकरणमा सूचनाको हकको प्रयोगबारे तालिम लिएपछि अभियन्ताहरु गाउँमा अभिमुखीकरणका लागि जाने भएका हुन् ।

म्यागले पहिलो चरण दस तालिम प्राप्त अभियन्ता पठाउन लागेको छ । अभियन्ताहरुले विभिन्न गाउँमा गई त्यहाँका स्थानीयलाई सूचनाको हकको प्रयोगबारे जानकारी दिनेछन् । ‘बैदेशिक रोजगारीमा किन जोखिम बढेको छ भन्नेबारे हामीलाई अहिले भएको छ,’ तालिमपछि उत्साहित रहेकी आशारानी तामाङले भनिन्, ‘हामीले गाउँमा गएर आफूले सिकेका ज्ञान बाँड्नु जरुरी छ ।’ उनले सूचनाको महत्व धेरै भएकाले गाउँमा यसबारे चेतना जगाउनु आवश्यक भएकोसमेत बताइन् । वैदेशिक रोजगारीबाट फिरेका किशोरीसहित दस जनालाई तालिम दिएर अभिमुखीकरणका लागि विभिन्न स्थानमा सूचनाको हकका अभियन्ता बनाईसुरक्षित बैदेशिक रोजगारीका साथै मानव बेचविखन रोकथाम गर्ने उद्ध्ेश्यले जिल्लामा कार्यक्रम सुरुआत गरिएको म्यागले जनाएको छ ।

महिला भएर दुःख पाउनुभन्दा उनीहरुमा सूचनाको पहँुच राम्रो नभएकै कारण दुःख भोग्ने गरेको देखिएको राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिना बताउँछिन् । ‘अभियन्ताहरुले समुदायस्तरमा पुगेर वैदेशिक रोजगारीबारे सूचना प्रवाह गरि चेलीलाई सुरक्षित तवरले विदेश जान सक्ने बनाउनेछन्,’ तिम्सिना भन्छिन्, ‘सूचनाका अभियन्तालाई वैदेशिक रोजगारीमा जानु पूर्व के कस्ता सूचनाका विधिहरु प्रयोग गर्न सकिन्छ भन्नेबारे जानकारी दिइएको छ ।’ उनकाअनुसार अभियन्ताहरुले सिकेका ज्ञान गाउँ तहसम्म पुग्दा निकै प्रभावकारी हुनेछ । अभियन्ताहरुलाई तालिममा बैदेशिक रोजगारीमात्रै नभई सूचना प्रयोग गर्ने विधि, समय र निकायबारेसमेत प्रयोगात्मक रुपमा जानकारी दिइएको बताइन् ।

समुदायस्तरमा विदेशमा हुने जोखिमबारे युवती तथा महिलाहरुलाई जानकारी नहुने हुँदा यो कार्यक्रमको सुभारम्भ गरिएको म्यागले जनाएको छ । जिल्लामा सीपको क्षमता विकास नगरी विदेश जाने महिलाहरु प्रसस्त छन् । जसकारण खाडी मुलुकसहित विभिन्न देशमा पुगेर जोखिममा पर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार कुल मध्ये ४० प्रतिशतभन्दा बढी महिला हुने गरेको प्रशासन कार्यालयले जनाएको छ ।