नेपाली समाजहरुको वर्तमान मुखौटा र यथार्थ

नेपाली समाजहरुको वर्तमान मुखौटा र यथार्थ


– सुमल कुमार गुरुङ,
युनानी दार्शनिक प्लेटोले आजभन्दा लगभग दुर्इहजार चारसय वर्षअघि, “कुनै पनि मानिसले सजिलै अर्कालाई हानी पुर्‍याउन सक्दछ, तर, प्रत्येक मान्छेले अरुलाई भलो गर्नचाँहि सक्दैन” भनेर आफ्नो विचार व्यक्त गरेका थिए । पश्चिमी दर्शनशास्त्र, साहित्य र विभिन्न विधाहरुको श्रोत युनानका तीन महान् दार्शनिकहरु क्रमशः सुकरात, प्लेटो र अरस्तु थिए । मानव समाजका विभिन्न पक्ष, राज्यको गहन अध्ययन गरेर यी महान दार्शनिकहरुद्वारा रचित कृतिहरुको अनुवाद नै वर्तमान विश्वको लागि शैक्षिक क्षेत्रका प्रारम्भिक सामग्री श्रोत बनेका छन् । १९औं तथा २०औं शताब्दिमा आएर पश्चिमी शैलीको शिक्षालाई विश्वभरिका राष्ट्रहरुले अँगाल्दै आएका छन् । समाजको संरचना, राज्य र राजनीतिको बारेमा हजारौं वर्षपहिले प्रतिपादन गरेका सिद्धान्तहरुलाई पहिल्याउँदै आधुनिक मानव समाजले स्थानीय संघसंस्थाहरुको स्थापना गर्दै अन्तर्राष्ट्रिय मानव समुदायको हितका लागि समाज निर्माण गरेर विश्व सञ्जाल फैलाइसकेका छन् । प्रत्येक समाजको आ-आफ्नो लक्ष्य र उद्देश्य हुन्छ । साधरणतया समाज मानव हित र कल्याणकारी कामका लागि समाजको निर्माण भएको हुन्छ ।
मानिस सामाजिक प्राणी भएको नाताले सभ्यताको उदय भएदेखि नै हामी समाजको दायराभित्र रहँदै आएका पाउँछौ । समाज भनेको सभ्यताको द्योतक हो । यसरी समाजको निर्माणको क्रममा समाजको दायरा पनि फराकिलो हुँदै आयो । यसमा धार्मिक, राजनीतिक, आर्थिक, साहित्यिक, संस्कृतिक र विभिन्न खाले विषयवस्तुलाई समेटेर समाज खोल्ने परम्परा बस्दै आएको छ । व्यक्तिगत अथवा पारिवारिक हिसाबले सुल्झाउन नसक्ने अप्ठ्यारोहरु समाजले समाधान गर्दछ । उहिले नींतिनियमका कुराहरु गाउँले समाज, पञ्चभलाद्मीद्वारा नै समाधान गरिन्थ्यो । समाजको सूत्रपात पनि परिवार, टोल, छिमेक हुँदै गाउँ र देश देशान्तरसम्म फैलिएको हो । त्यतिबेलाको समाजमा विशुद्ध सामाजिक धर्म र सिद्धान्तमा अडिएको पक्षलाई समेट्ने थियो र सक्षम व्यक्तित्व अथवा बौद्धिक क्षमता भएका मानिसलाई अगुवा बनाएर अनुशरण गरिन्थ्यो । तर, समयको परिवर्तनसँगै यी सबै मान्यता र संस्कारहरु विस्तारै लोप हुँदै गइरहेका छन् । अहिलेका नेपालीसमाजहरुमा दुइटा विषयले प्रभाव पार्दै गएको कुरालाई कसैले नकार्न सक्दैन । ती दुइटा पक्षहरु हुन् राजनीति र आर्थिक पक्षको प्रभाव जसले गर्दा समाजमा भाँडभैलो र विशुद्ध कल्याणकारी कार्यको उद्देश्य लिएर स्थापना भएका समाजहरु धराशायी र विवादित बन्न पुगेका छन् । नेपालीहरुमा यो दुर्इ दशकभित्र समाज खोल्नुपर्छ भन्ने चेतनामा ठुलो विकास भएको हामीले पाएकाछौं । ४ जना मान्छे जम्मा भएर सम्पूर्ण नेपालीको हकहितका कुरा उठाएर समाज स्थापना गर्ने एउटा नयाँ परम्पराको विकास हुँदै आएको छ । यस्ता समाज खोल्नेहरु जताततै च्याउ उम्रेसरि फैलिएका छन् । कतिपयले संघसंस्थाहरुको आडमा जीविकोपार्जन् गर्ने श्रोत बनाएका छन् । समाज खोलेपछि चन्दा संकलन गर्ने अनिवार्य एउटा नियम बनाएको हुन्छ, तर, चन्दा संकलन भैसकेपछि त्यो चन्दाको उपयोगितालाई अनुगमन गर्ने टोली छैन भने त्यहाँ भ्रष्टचार हुनसक्छ । समाजको नाउँमा विभिन्न मनोरञ्जनका कार्यक्रमहरु गर्छन्, तर, पर्दापछाडि आफ्नो दुनो सोझ्याउने काम गर्छन् । आजभन्दा बीस वर्षअघि नै नेपालमा लगभग ३३०० जति गैरसरकारी संस्थाहरु र गैरअन्तर्राष्ट्रिय संस्थाहरु विभिन्न संघसंस्थाहरुको आडमा तथा स्वतन्त्र रुपमा खोलेर नेपालभरि स्थापित भएका थिए । नेपालको आम जनतालाई लक्ष्य बनाएर स्थापना भएका ती संस्थाहरुमा प्रोजेक्टमा संलग्नता रहेका तथा प्रोजेक्टका स्टाफहरु मात्र मोटाए, तर, देशको लागि अथवा लक्षित गरेका समूहलाई केही अपवादलाई छाडेर कारगार सिद्ध भएको पाइएको छैन ।

नेपालमा गाउँदेखि शहरमा नयाँ बसाइँ-सराइको क्रम विगत १५,२० वर्षयतादेखि त्रि्रगतिमा बढ्दै आएको छ । गाउँघरहरु सुनसान, भत्किन आँटेका हिलेगाह्रा भएका घरहरु जीर्ण अवस्थामा छन् । उदाहारणको लागि पोखरा वरपरका बस्तीहरुबाट पोखरामा घरेडी किनेर घर बनाउने सिलसिला एक प्रकारको होड्बाजी जस्तै बन्न पुगेको छ । पूर्वको धरान र पश्चिमको पोखरा शहरहरु लाहुरे समुदायले धेरै पहिलेबाट बसाइँ-सराइको गन्तव्य बनाएका हुन् । यी शहरहरुमा, काठमाण्डौलाई छाडेर, बसाइँ-सराइको अनुपात अरु ठाउँहरुमा भन्दा बढी देखिन्छ । सन् सत्तरीको दशकदेखि पोखरा उपत्यकामा छेउछाउका गाउँहरुबाट मानिसहरु झर्न थालेका थिए । धेरैजसो आ-आफ्नो भेगका मानिसहरु स्थायीरुपले बसेका ठाउँतिर नै केन्द्रित भएर आउन थाले । मानिस सामाजिक प्राणी भएको नाताले समूहमा बस्न रुचाउँछन् । समूहगत रुपमा बसेपछि आफू बस्ने ठाउँको परिवेशअनुसार समूहगत कल्याणकारी कार्य गर्नकालागि समाजको निर्माण गर्दछन् । अवश्यकताअनुसार समाजिक क्रियाकलापमा संलग्न रहन्छन् ।

चारैतिरबाट बसाइँ-सराइ गरी आएका पोखरावासीहरुको अहिले सयौं समाजहरु निर्माण भइसकेका छन् । टोल-टोलदेखि वडा तथा नगरपालिका, विभिन्न गाउँबाट पोखरा झरेका मानिसहरुको आफ्नो गाउँले समाज, जातीय समाज, उपजातीय समाज, भाइखलक, विभिन्न धर्मालम्बीहरुका संस्थाहरु र घरघरमा समाजै समाजको वातावरण सिर्जना भएको छ । समाजको निर्माण गर्नु राम्रो पक्ष हो कारण समाजबिना हामीले केही गर्न सक्दैनौ । तर, जुन समाजको स्थापना आफ्नो स्वार्थ पूर्तिको लागि गरिन्छ र अरुलाई उल्लु बनाउने काशिस गर्दछ, यस्तो समाज हुनुभन्दा नहुनु जाती हुन्छ । यस्ताखाले समाज लामो समयसम्म टिक्न पनि सक्दैन ।

पोखरा घरमा जाँदा चन्दा माग्न आउनेहरुको ओइरो देख्दा, मैले कुन संस्थालाई चन्दा कति दिने भन्ने कुरामा कैयौंपल्ट जिल खाएको छु । भाइखलकलाई दिनु पर्‍यो, चन्दा कति दिनु पर्ने होभन्दा आफ्नो गच्छेअनुसार दिँदा हुन्छ भन्छन् तर, त्यति नै बेला फलानाले भाइखलकलाई यति लाख दियो अरे भन्छन् । त्यसपछि टोलको समाजको लागि, अनि गाउँबाट पोखरा झरेका गाउँलेहरुको समूहलाई, गुम्बालाई, मन्दिरलाई, गाउँको स्कुललाई गाउँ जाने बाटोलाई र आमा समूह इत्यादिलाई चन्दा दिनु पर्दा समाजले नै देश धानिराखेको आभास हुन्छ । सरकारबाट केही भएको जस्तो देखिन्न र अर्को प्रसंगमा जति चन्दा दिए पनि खाली ठाउँ खालीको खाली नै देख्ने हुँदा नेतृत्वको अभाव होकि समाजले केही गर्न नसकेको हो भन्ने प्रश्नचिन्ह खडा हुन्छ । अहिले पोखराभरि समाजघर निर्माणको होडबाजी चलेको छ । यतिबेलाका समाजका नेतृत्व पंक्तिले वर्तमान स्थितिलाई मात्र लिएर हेर्ने गरेका छन् तर भविष्याको गणितीय संख्यात्मक हिसाबलाई विचार गरेका छैनन् । यदि जनसंख्याको बृद्धधर्मलाई विचार गर्ने हो भने अबको पचास सालपछि ती भवनहरुमा एक तीहाइ समाजका सदस्यहरुमात्र अट्न सक्छन् ।

विगत डेढ दशकदेखि हङकङ, बेलायत, बेल्जियम, अमेरिका, अष्ट्रेलिया र विभिन्न अरु मुलुकहरुमा नेपालीहरु कामको सिलसिलामा पलायन हुँदै स्थायी रुपमा बसोबास गर्न थालेका छन् । छोटो अवधिभित्र सयौं नेपाली समाजहरुको निर्माण भइसकेका छन् । समाज स्थापना गरेर नेपालीहरुका लागि कल्याणकारी काम गर्नु अति आवश्यक देखिन्छ, तर, माथि उल्लेख गरेजस्तै धेरै-धेरै समाजहरुमा आर्थिक र राजनीतिको मैलो खेल यी विदेशमा समेत नेपालीहरुले समाजको नाममा खुलेआम खेल्न थालेका छन् । हाम्रो देशका दुर्इ विशाल छिमेकी मुलुकका नागरिकहरु न्ोपालीहरुभन्दा कैयौ सय वर्ष विभिन्न देशहरुमा विदेशिएर बसेका छन् । आफ्नो अस्था र पहिचान राख्नको लागि उनीहरु जहाँ गए पनि ऐक्यबद्ध भएर अघि बढ्छन् । राजनीतिको छिंटासम्म समाजमा पर्न दिँदैनन् । उनीहरुको समाजमा राजनीति जस्ता घटिया खेलको गन्घसम्म आउन दिँदैनन् । तर, नेपालीहरुको समाजमा एउटा संकीर्णताले व्यापकता पाएको छ । विदेशमा आएर पनि आफ्नो राजनीतिक आकंक्षाको प्रतिपूर्ति गरिरहेका भर्खर-भर्खर खोल्दै गरेका समाजका कर्णधारहरुले देखाइरहेका छन् । नेपालबाट राजनीतिक दलका नेताहरु विदेशमा खोलेका भातृ संगठन्हरुको निम्तोमा आउँछन् र मज्जाले खाएर विदेशमा बसेका पार्टी कार्यकर्ताहरुलाई आश्वासन दिएर जान्छन् । यसले गर्दा के हुन्छभने हामी विदेशमा जुन उद्देश्य लिएर विदेशिएका थियौं त्यसको सट्टा अलि कमाउन थालेपछि नेपालको वातावरण यहाँ सिर्जना गर्ने प्रयासमा रहन्छौं र यसैबाट नेपालीहरुमा विभाजनको शुरुवात हुँदै आएको देखिन्छ । नेपालको राजनीतिलाई विदेशमा किन फस्टाउने ? नेपालको घीनलाग्दो राजनीतिको कारणले देश अराजकता, गरीब, अशान्त र एउटा अँध्यारो भविष्यातिर गइरहेको थाहा हुँदाहुँदै पनि यी देश बिगार्ने बजियाहरुलाई (केही नेतालाई छोडेर) खादा ओढाएर, फूलगुच्छा दिँदै, स्वागत गर्दै घीनलाग्दो सधैंको एउटै सुगारटाइ भाषण सुन्न ताँती लाग्छन् । बडो अचम्म लाग्ने कुरा, हामी किन आफ्नो व्यक्तिगत स्वार्थको लागि अरुलाई होस्याउँदै लान्छौ र आफ्नो पछि लगाउँछौ- गोरखा सैनिकहरुको पेन्शन र समान तलबको मुद्धामा किन विभाजित भएका छौ ? नेपाली समाजका अनुत्तरित सवालहरु अझ बढ्दै गइरहेका छन् ।

समाजको नाउँमा आफ्नो राजनीतिक प्यानलको मानिस अघि ल्याउनको लागि कम्मर कसेर अधिवेशन आउने बेलामा जोडतोडले लाग्छन् । त्यही नेपालको राजनीतिको सिको, अरु बेला चासो नदेखाउनेहरु विदेशमा पनि अधिवेशनको बेलामा फोन गर्ने र घर-घर चहार्ने गरेको मैले देखेको छु । समाज निर्माण गरेर राजनीतिको मैलो खेल समाजमा खेलिन थाल्छ भने त्यो समाजले कहिल्यै पनि प्रगति गर्न सक्तैनन् । यहाँ सबैको भुँडी केलाउन थाले धेरै इष्टमित्रहरुलाई पीर पर्नसक्छ, तर, संक्षेपमा भन्नुपर्दा हामी एकजुट भएर समाज निर्माण गरेर कल्याणकारी काममा लाग्नुछ भने यहाँ राजनीतिलाई प्रश्रय दिन हुँदैन । हङकङको नेपाली महासंघ र बेलायतको यती समाजभित्रको विभाजन र झगडाले नेपाली समाजको उदाङ्गो रुप देखाइसकेका छन् । अहिले एनआरएनको विश्वव्यापी सञ्जालमा पनि यही संस्कार शुरु हुन लागेको अभास आउँछ । यी सबै असन्तोषहरु नेपालीहरुले एउटा संस्कारस्वरुप ग्रहण गर्न लागिरहेका छन् । स्तम्भकार हङकङमा १२ वर्षभन्दा बढी समय बिताउँदा निकै संघसंस्थामा आबद्ध रहेको थियो । नेपालीहरुका लागि एउटा सामुदायिक भवनको खाँचो परेकोले एनआरएनको तर्फबाट पहल गर्दै नेपालीहरुकालागि एउटा सामुदायिक भवनको मेसो मिलाउन सकिन्छ कि भन्ने अभिप्रायले त्यहाँको एउटा गैरसरकारी संस्थासँग मिलेर सरकारको कल्याणकारी विभागमा भर्खरै दर्खास्त हालेको मात्र के थियो, यस कुराको भनक हङकङ नेपाली महासंघ र केही नेपाली संस्थाहरुले पाएका रहेछन् । त्यसपछि महासंघले महासंघमार्फत मिलेर सामुदायिक भवनको लागि अघि बढ्नुपर्छ भनेर सबै संघ-संस्थाहरुलाई बैठक बोलाएको थियो । वास्तवमा भन्नुपर्दा हङकङमा दर्ता भएका हङकङभरिका आधाभन्दा कम संघ-संस्थाहरुको सदस्य रहेको महासंघले नेपालीको प्रतिनिधित्व गर्दछ भन्ने कुरामा शंकास्पद देखिन्छ ।

त्यतिबेला महासंघले बोलाएको बैठकमा संस्थाका प्रतिनिधिहरुद्वारा मन्तव्य मेसोसँगै प्रकट गर्ने क्रममा बितिसकेका हिन्दू मन्दिरको प्रसंग र एनआरएनले किन यो विषयमा पहल गर्‍यो र अरुलाई किन सूचना दिएन भन्ने कुराहरु उठाएर झगडाको सूत्रपात गर्न थालेका थिए । स्तम्भकार झगडा हुनुअघि काम परेकोले बैठकबाट निस्किसकेको थियो, तर, पछि भीडीयोमा वेबसाइटमार्फत प्रसारण गरेको कृयाकलाप देखेपछि मलाई ती व्यक्तिहरुको संकीर्णतालाई देख्दा आफैलाई लाज लागेर आएको थियो । त्यस्तै यती समाजको भीडीयोले त पूरा विश्व छोएको थियो । यस्तो किन हुन्छ ? यस प्रसंगमा मलाई उनै प्लेटोको भनाइ सम्झना हुन आउँछ, “कुनै पनि मानिसले सजिलै अर्कालाई हानी पुर्‍याउन सक्दछ, तर, प्रत्येक मान्छेले अरुलाई भलो गर्नचाँहि सक्दैन” । भन्नको तात्पर्य समाजको नेतृत्व पनि सबै मान्छेको औकातको कुरा हुँदैन । समाजलाई भलोभन्दा कुभलो गर्नेहरुले नेतृत्व गर्दछन् भने समाज दिशाविहीन र गन्तव्यविहीन भएर जान्छ । खाली आफ्नो नामको लागि पदमा रहेर अघिल्लो कुर्सीमा बस्ने रहर बोकेकाहरुबाट केही हुन सक्दैन । हामीले समाजको नेतृत्व गर्ने व्यक्तिमा समाजलाई भलो गर्न सक्ने खुबी खुट्याउन सक्नुपर्छ र राजनीतिलाई पर राख्नुपर्छ । राजनीतिको परिभाषामा राको अर्थ राक्षसले जसरी, जको अर्थ जनतालाई, निको अर्थ निचोडेर, तिको अर्थ तितरबितर गरेर विभाजन गरेर खाने नेताहरुको खेल हुन आउँछ । नेपाल अहिले विभाजित छ, त्यसकारण मेल हुनसकिरहेको छैन । यी पीडाहरु वर्तमान नेपाली समाजले नेपालमा तथा विदेशमा भोगिरहेको यथार्थ हो ।
: Author can be reached at [email protected]