राम्रो तस्वीर !-चन्द्र गुरुङ

राम्रो तस्वीर !-चन्द्र गुरुङ


मैले
जीवनभरिको कमाइले
यो शहरमा
एउटा सुन्दर घर बनाएँ
र सबैले तारिफ गरे-
“वाह, क्या विशाल घर !”

मैले
रात-दिन मेहनत गरेर
अकूत धन-दौलत जोडेँ
र एउटा कार किनेँ
सबैले ताली पड्काए-
“वाह, क्या शानदार कार !”

सधैँ
एकोहोरो लागिरहेँ
र थुप्रै धनार्जन गरेँ
सबैले भने-
“वाह, कति धेरै सम्पत्ति !”

मैले
बहुमूल्य लुगा-गहनाले
आफूलाई सजाएँ र सिँगारेँ
सबैले प्रशंसा गरे-
“वाह, क्या राम्रो डिजाइन !”

मैले
आफ्नो सन्तानको विवाह-भतेरमा
ईज्जतको लागि
पानीसरह पैसा बगाएँ
र सबैले मज्जा लिएर भने –
“वाह, क्या भव्य पार्टी !”

आज,
मैले त्यो गरीब असहायलाई
मानवताको खामभित्र राखेर
दिएँ एउटा न्यानो मुस्कान
हेर्दा-हेर्दै
उसको मुटुको भित्ताहरूमा
मेरो फोटो छापियो
र वरिपरि सबैले भन्न थाले-
“वाह, क्या राम्रो तस्वीर !”

(हिजोसम्म मात्र मेरो धन-सम्पत्तिको चर्चा चल्थ्यो । तर आज मेरो तस्वीरको प्रशंसा भएको छ ।)