सुनमायाको रहर, रहर मात्र रहन्छ होला

सुनमायाको रहर, रहर मात्र रहन्छ होला


-सुमल कुमार गुरुङ,
सुनमाया !
तिमी शीतल, उज्यालो पूर्णिमाको जून जस्तै
तिम्रो पवित्र निश्छल कंचन मन,
तिमी वैंशको चञ्चलतामा छचल्किएकी,
सप्तरङ्गी यौवनको उपहारस्वरुप
आयौ धरातलको उर्वशी बनेर,
बा-आमाको सपनाहरु उनेर
सुखमय स्वर्गिक जीवन बिताउने
वक्षभित्र एउटा शान्तिको रहर बोकेर ।

के तिमीलाई थाहा छ ?
के छ तिम्रो रहरको संसारभित्र ?
अभाव बिस्कुन अंगभरि लिएर
लाम लागेका भोका पेटहरु,
दरीद्रताको हत्केलामा मुछिएका अनुहारहरु
दुःख र वेदनाको भुमरीभित्र फँसेका जिन्दगीहरु
समयको दोबाटोमा गोरेटो भुलेका जिन्दगीहरु
रित्तो अकाशमुनि ओइलिएकाछन् ।

किनकि तिमीलाई थाहा छैन,
सभ्यताको नपुंसक वाहकहरु
कहिले सडक, कहिले नारायणहिंटि, सिंहदरबार र बालुवाटार हुँदै
असन्तोष समयका अतृप्त जमातहरु,
कहिले सडक जलाउने र रगतले न्वारन गर्ने
तिम्रो रहरभित्रको संसार यस्तै छ सुनमाया ।

तिमी अनभिज्ञ छ्यौ !
तिम्रो रहरको संसारभित्र
अहिले भोट र मधेश अटेको छैन,
नेपालीत्व अटेको छैन,
राष्ट्रियता अटेको छैन,
मानव-अधिकार अटेको छैन,
सयथरिका फूलका थुँगाहरु अटेका छैनन्
किनभने,
बिखण्डनकारी समयको भूतले वास गरेको छ ।

हुँकार र अहंकारको भाषण
विभाजन र स्वार्थको पुरानो खेलभित्र
हिंसा, अत्याचारको दोहोरो मार खेप्दै
उज्यालोको मृगतृष्णा बोकी जिउने करौडौं यहाँ छन्
प्रत्येक दिन जन्मिने शहीदको माहौलभित्र
मलाई लाग्न थाल्यो सुनमाया !
तिम्रो रहर, रहर मात्र रहन्छ होला ।
-यूके