राजधानी विवादले दलहरू तनावमा

राजधानी विवादले दलहरू तनावमा


प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव सकिएपछि दलहरूबीच प्रदेशहरूको राजधानी तोक्ने र प्रमुखको नियुक्तिको विषय निकै चर्किएर गएको छ । देउवा सरकारले प्रदेश प्रमुख नियुक्ति गर्न खोज्दा वाम घटकले अस्वीकार गरेपछि चुनावअघिको राजनीतिक समझदारीमा ठूलो दरार पैदा भएको हो । प्रदेशको राजधानी तोक्ने विषयमा सँगै चुनाव लडेका वाम घटकबीच नै एकमत छैन ।

प्रदेश नं. १ को राजधानी विराटनगर, सुनसरी वा धनकुटामा राख्ने विषयले पूर्वका जिल्लाहरूमा दलहरूको झगडा चर्कन थालेको छ । यो प्रदेशमा खासगरी जनजाति बाहुल्य भएकोले पहाडी समुदायबाट धनकुटालाई केन्द्र बनाउन लबिङ सुरु भएको छ । हिजो मंगलबार नै राजधानीमा बसोबास गरेका पूर्वीपहाडका बासिन्दाले धनकुटालाई प्रदेश केन्द्र बनाउनुपर्ने भन्दै माइतीघरमा जुलुस प्रदर्शन गरे । दलहरूका शीर्ष नेतृत्वमा पनि धनकुटालाई केन्द्र बनाउन दबाब परेको छ । पूर्वी जिल्लाहरूका तराई क्षेत्रका बासिन्दाले भने विराटनगर वा इटहरी नै राजधानी राख्नुपर्ने भन्दै जिल्लामा प्रदर्शन सुरु गर्न थालेका छन् । इटहरी पूर्वको केन्द्र भाग पर्ने र सुनसरीमा पर्ने धरान बजार पनि नजिकै पर्ने भएकोले सुनसरी नै राजधानी हुनुपर्ने एकथरी पूर्वेलीहरूको माग रहेको छ । तर, विराटनगर र वरपरका बासिन्दाले भने विराटनगरमै राजधानी राख्नुपर्ने माग उठाएका छन् ।

प्रदेश नं. २ को कुन सहरमा राजधानी राख्ने भन्ने विषयमा मधेसी दलहरूबीच नै विवाद निम्तिएको छ । जनकपुर, वीरगन्ज, राजविराज, सर्लाहीको नवलपुर वा राजमार्गसँग जोडिएका बजारमा राख्ने विषयमा ठूलो मतान्तर सिर्जना भएको देखिएको छ । मधेसी दलहरूबीच जनकपुर कि वीरगन्जमा राख्ने कुरामा चुनावको मत परिणामपछि विवाद बल्झिन थालेको हो । ठूला दलहरू एमाले, नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले राजमार्ग वरपरको बजार क्षेत्रलाई राजधानी बनाउन खोजेका छन् ।

प्रदेश नं. ३ को राजधानी धुलिखेल, भक्तपुर, ललितपुर र हेटौँडा कहाँ राख्ने भन्ने विषयमा दलहरूबीच अझै एकमत हुन सकेको छैन । वाम घटक र काङ्ग्रेसबीच राजधानी राख्ने विषयमा अहिलेसम्म कुनै छलफल चलेको छैन भने भक्तपुर काङ्ग्रेसले ठिमी क्षेत्रलाई प्रदेशको प्रशासनिक एरिया तोक्न सकिने प्रस्ताव सार्वजनिक गरेको छ ।

प्रदेश नं. ४ को भने पोखरालाई केन्द्र मान्नेमा दलहरू लगभग सहमतिमा पुगेका देखिन्छन् । यो प्रदेशको ठूलो बजार पोखरा मात्र भएकोले अन्य शहरको प्रस्ताव खासै सुनिएको छैन । प्रदेश नं. ५ को राजधानी दाङको घोराही वा तुल्सीपुर, बुटवल वा पाल्पा राख्ने विषयमा वाम घटकबीच नै ठूलो विवाद कायम छ । चुनावअघि माओवादीका टोपबहादुर रायमाझी, काङ्ग्रेसका चन्द्र भण्डारी र एमालेका विष्णु पौडेलले प्रदेश केन्द्रको एजेण्डालाई लिएर ठूलो आन्दोलन चर्काएका थिए । चुनावमा यही आधार र आश्वासन देखाएर दलहरूले भोट मागे । तर, प्रदेश केन्द्रको सहमति झन्झन् बल्झँदै गएको छ ।
प्रदेश नं. ६ को सुर्खेत वा जुम्लामा राजधानी राख्ने कुरामा एकमत हुन सकेको छैन । प्रदेश नं. ७ को पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा, दिपायल, महेन्द्रनगर र धनगढीमा राख्ने कुरा चर्किन थालेको छ ।

देउवा सरकारले चुनावअघि नै प्रदेश प्रमुख तोक्न लागेको थियो । तर, वाम घटकले विरोध जनाएपछि देउवा सरकार पछि हटेको थियो । चुनावको बेलामा विवाद नहोस् भनेर निर्णय नभएको र अब प्रदेश प्रमुख सरकारले नै तोक्न पाउनुपर्ने अडान काङ्ग्रेसले राख्दै आएको छ । भारतमा राज्यपालजस्तै नेपालमा नयाँ प्रयोगको सङ्घीय संरचनाअनुसार प्रदेश प्रमुख तोकेर प्रदेशका मन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष शपथ खाने संवैधानिक प्रावधान छ । प्रदेश प्रमुखमा दलहरूले विवादरहित पूर्वप्रशासकहरूलाई ल्याउने तयारी थालेका छन् ।

तर, यही विषयमा काङ्ग्रेस र वाम घटकबीच सहमति जुट्न सकेको छैन । एमाले र माओवादीले यो सरकारलाई कुनै पनि निर्णय वा राजनीतिक नियुक्ति गर्ने अधिकार नभएकोले प्रदेश प्रमुख नतोक्न चेतावनी दिएका छन् । देउवा सरकारले भने पूर्वप्रशासकहरू, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्वसचिवहरू विद्याधर मल्लिक, दामोदर गौतम, भोजराज घिमिरे, विमल कोइराला, तीर्थमान शाक्य, पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, पूर्वसचिवहरू भोला सिवाकोटी, माधव रेग्मी, शान्तबहादुर श्रेष्ठ, शान्तराज सुवेदी, डा. केदारभक्त माथेमा, विश्वप्रकाश पण्डितलगायतमध्येका व्यक्तिहरूलाई प्रदेश प्रमुख बनाउन सकिने विषयमा बहस चलाएका छन् । तर, वाम घटकहरूले भने देउवा सरकारले गर्न लागेका यी सबै कामहरूप्रति आपत्ति प्रकट गरिसकेका छन् ।

नेपालमा पहिलोपटक सङ्घीय संरचनाअनुसार चुनाव सम्पन्न भए पनि यसको सञ्चालन प्रक्रियामा दलहरूबीच विवाद चर्किएर प्रशासन सञ्चालन निकै जटिल हुने स्थिति पैदा भएको छ । प्रदेशअन्तर्गतका संसद्ले नामाकरण र स्थानीय सरकार सञ्चालनको निर्णय गर्न पाउने अधिकारले सङ्घका राज्यहरू सञ्चालन अनियन्त्रित बन्ने सम्भावना बढेर गएको छ ।

(सांकेतिक तस्बिरहरु सामाजिक सञ्जालबाट)