सलमान र क्याटरिनाको प्रेममा पुल बन्दै ‘टाइगर जिन्दा है’

सलमान र क्याटरिनाको प्रेममा पुल बन्दै ‘टाइगर जिन्दा है’


बहुप्रतीक्षित फिल्म ‘टाइगर जिन्दा है’ प्रदर्शनको मिति जति नजिकिँदै छ त्यति नै सलमान खान र क्याटरिना कैफको चर्चा हुन थालेको छ । त्यो हो यतिबेला उनीहरूबीच बनेको सुमधुर सम्बन्ध । जसले अहिले पुरानो यादलाई ताजा गरिदिएको छ । सबैलाई थाहा भएकै कुरा हो, लामो समयसम्म सलमान र क्याटरिना प्रेम–सम्बन्धमा थिए । यो जोडी बलिउडको चर्चित जोडी मात्र नभई दर्शकहरूले सबैभन्दा मन पराएको जोडी पनि थियो ।

कुनै बेलाको बलिउडमा सर्वाधिक लोकप्रिय र रुचाइएको यो चर्चित जोडी अहिले रिलेसनसिपमा छैन । ‘टाइगर जिन्दा है’मा एक साथ अभिनय गरेपछि उनीहरूबीच बढेको दूरी पुनः नजिक भएको अनुमान लगाउन सकिन्छ । दुवैको हाउभाउ र प्रस्तुति हेर्दा पनि कतै उनीहरूबीच पुनः प्रेम टुसाएको त होइन ? कुरो गहिरो र रहस्यमयी बन्दै गएको छ । अहिले उनीहरूले आफूहरू राम्रो साथी भएको बताए पनि बलिउडमा भने त्यसको हल्ला र चर्चा अर्कै रूपमा चलेको छ । जसलाई फिल्म प्रमोसनका लागि गरिएको फण्डा भन्नेहरूको पनि कमी छैन ।

सलमान र क्याटरिना पाँच वर्षपछि पुनः ‘टाइगर जिन्दा है’मा देखिन लागेका हुन् । यो फिल्म यही २२ डिसेम्बर अर्थात् पुस ७ गते विश्वभरि प्रदर्शन हुँदै छ । यो फिल्मका निर्देशक अली अब्बास जफर अहिले निकै प्रसन्न देखिएका छन् । उनी सलमान र क्याटरिनाको केमस्ट्रीदेखि निकै प्रभावित भएका छन् । अब्बासले यो जोडीलाई निकै सुन्दर भएको चर्चा गर्दै यदि यतिबेला दुवै पहिलाजस्तै प्रेम–सम्बन्धमा भएको भए सुनमा सुगन्ध हुन्थ्यो भनेका छन् । त्यस्तै अब्वासले सलमानको भित्री राज खोल्दै जब सलमानको कसैसँग प्रेम हुन्छ उनी आँखा उठाएर हेर्छन् तब सलमानसँग प्रेम भइहाल्ने बताएका छन् । सुल्तानमा अनुष्का र टाइगरमा क्याटरिनासँग सलमानको केमेस्ट्री निकै जमेको पनि उनले खुलासा गरेका छन् ।

भारतीय सिनेमामा सलमान एक्सन हिरोको रूपमा परिचित भए पनि निर्देशक अब्बासले सलमानलाई रोमान्टिक हिरोको संज्ञा दिएका छन् । सलमान जसरी रोमान्स गर्छन् र इमोसनल देखाउँछन् त्यो विशुद्ध देशी छ, त्यसमा कुनै अभद्रता देखिँदैन । त्यसैले उनको हरेक नायक–नायिकसँगको केमेस्ट्री निकै सुन्दर देखिन्छ ।

‘टाइगर जिन्दा है’ एक पारिवारिक सिनेमा भएको बताउँदै अब्बासले यो फिल्म जुनसुकै उमेरका व्यक्तिले पनि हेर्न सक्ने बताएका छन् । यो फिल्ममा कुनै बेड र किसिङ सिन नभएको बताउँदै दर्शकहरूले मन पराउने बताए । आफूलाई सलमानको फ्यानहरूको बारेमा राम्रोसँग जानकारी भएको बताउँदै अब्बासले सोहीअनुरूप फिल्मको निर्माण गरिएको बताएका छन् । साथै अब्बासले यो सुपरहिट फिल्मले सिक्वेल भएको बक्स अफिसमा सफल हुने दाबीसमेत गरे । यसभन्दा अघि अब्बासले सलमानसँग सुल्तानजस्तो सुपरहिट फिल्ममा सँगै काम गरिसकेका छन् ।