दोहोरो शतकमा ह्याट्रिक : शर्माले पत्नीलाई दिए उपहार

दोहोरो शतकमा ह्याट्रिक : शर्माले पत्नीलाई दिए उपहार


रोहित शर्माले श्रीलंकाविरुद्ध बनाएको दोहोरो शतक पत्नी रितिकाप्रति समर्पित गरेका छन् । हालै मोहालीमा सम्पन्न दोस्रो एकदिवसीय क्रिकेटमा शर्माले दोहोरो शतक बनाएका थिए । एकदिवसीय क्रिकेटमा तीनपटक दोहोरो शतक बनाउने शर्मा विश्वका पहिलो खेलाडी हुन् । शर्माले दोहोरो शतक बनाउने क्रममा १३ चौका, १२ छक्का प्रहार गरेका थिए । शर्माले पहिलो दोहोरो शतक श्रीलंका र दोस्रो अस्ट्रेलियाविरुद्ध बनाएका थिए । यो विश्वकीर्तिमान पनि हो ।
अहिलेसम्म विश्वका कुनै पनि क्रिकेट खेलाडीले तीनपटक दोहोरो शतक बनाएका छैनन् । शर्माबाहेक तीनजना क्रिकेटरले मात्र दोहोरो शतक बनाउन सफल भएका छन् । एकदिवसीय क्रिकेटमा पहिलो शतक मास्टर ब्लास्टर सचिन तेन्दुल्करले बनाएका थिए ।

शर्माले श्रीलंकाविरुद्ध तेस्रो शतक प्रहार गर्दै दोहोरो शतकमा ह्याट्रिक गरेपछि उनले यो शतक आफ्नी पत्नी रितिकाप्रति समर्पित गरेका थिए । १३ डिसेम्बर शर्मा र रितिकाको विवाहको दोस्रो गाँठ थियो । आफ्नो दोस्रो वर्षगाँठको दिन दोहोरो शतक प्रहार गरेपछि शर्माले पत्नी रितिकाको लागि उपहार भएका बताएका थिए । त्यो दिन मोहालीमा क्रिकेट हेर्न रितिका पनि उपस्थित भएकी थिइन् । दोहोरो शतक अर्थात् २ सय ८ रनमा नटआउट रहेका शर्माकोे खेलपछि रितिका निकै भावुक बनेकी थिइन् । उनी रंगशालामै रोएकी थिइन् ।

रितिका स्पोर्टस् इभेन्ट म्यानेजर हुन् । कामको सिलसिलामा शर्माको प्रायजसो रितिकासँग भेटघाट भइरहन्थ्यो । भेटघाट बाक्लो हुँदै गएपछि एक–अर्कासँग चिनाजानी र त्यसपछि उनीहरूबीच प्रेममा परेका थिए । पछि शर्माले प्रपोज गरेपछि उनीहरूले विवाह गर्ने फैसला गरेका थिए । शर्मा र रितिकाको प्रेम सम्बन्ध ६ वर्ष चलेको थियो । यो ६ वर्षमा उनीहरूले थुप्रैपटक डेटिङ गरेका थिए । रितिका युवराज सिंहकी राखी बाँधेकी बहिनी हुन् ।