– श्रीविक्रम भण्डारी
राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पियन खेलाडीको सम्मानार्थ हालै एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमअन्तर्गत राखेपले ओलम्पियन खेलाडीलाई चन्द्रागिरी हिल्सको अवलोकन र भ्रमण गराएको थियो । उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका २५ जना ओलम्पियन खेलाडीको सहभागिता रहेको थियो । चन्द्रागिरी अवलोकन र भ्रमणमा निस्किनुअघि राखेपले हालै भित्र्याएको खेलकुद बसको उद्घाटन गरेको थियो । उक्त खेलकुद बसमा पहिलोपटक ओलपियन खेलाडीलाई राखेर चन्द्रागिरी हिल्स भ्रमण गराएको थियो । उद्घाटन गर्नुअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेलकुद बसको पूजा गरेका थिए ।
सयौँ नेपाली खेलाडीले ओलम्पिक खेलकुदका विभिन्न संस्करणमा सहभागिता जनाइसकेका छन् । प्रायजसो वाइल्ड कार्डमार्फत सहभागिता जनाएका नेपाली खेलाडी ओलम्पिक खेलकुद प्रतियोगितामा सोचेअनुरूप प्रदर्शन गर्न असफल भएका छन् । तेक्वान्दो खेलाडी संगीना वैद्य र दीपक विष्ट मात्र त्यस्ता खेलाडी हुन् जो ओलम्पिक छनोट चरण पार गरेर ओलम्पिकमा छनोट भएका थिए । यी दुवै खेलाडीले दक्षिण एसियाली, एसियाली खेलकुदमा नेपाललाई पदक जिताउन सफल भए पनि ओलम्पिकमा भने पदक जित्न असफल भएका थिए । यी दुवै खेलाडीबाट ओलम्पिकमा पदक जित्ने नेपालले आशा गरेको थियो । नेपालले अहिलेसम्म वैधानिक रूपमा ओलम्पिक पदक जित्न नसके पनि सिओल ओलम्पिकमा प्रदर्शन खेलमा भने कांस्य पदक जितेको थियो । उक्त कांस्य पदक तेक्वान्दो खेलाडी विधान लामाले जितेका थिए ।
ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन निराशाजनक भए पनि राज्यले खेलाडीले खेलकुदमा दिएको योगदानलाई मध्यनजर राख्दै ओलम्पियन खेलाडीलाई सम्मान गर्ने कार्यक्रम अघि सारेको छ । जसअन्तर्गत पहिलो चरणमा ओलम्पियनलाई मासिक ३ हजार भत्ता प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, फागुनदेखि ५ हजार र आउँदो आर्थिक वर्ष (२०७५) देखि १० हजार दिने योजना रहेको सदस्यसचिव विष्टले जानकारी गराएका छन् । स्मरण रहोस्, विष्टकै पालादेखि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई मासिक भत्ता दिने कार्य शुभारम्भ भएको थियो । विगत दुई वर्षदेखि प्रदान गरिँदै आएको उक्त भत्ता अहिले तीन हजारबाट बढाएर पाँच हजार पु¥याइएको छ । सोही कुरालाई मध्यनजर राख्दै राखेपले सागमा रजत र कांस्य पदक जित्ने खेलाडीलाई पनि आउँदो आर्थिक वर्षदेखि मासिक भत्ता प्रदान गर्ने योजना बनाएको छ । जसअन्तर्गत सागमा रजत र कांस्य पदक जित्नेले क्रमशः तीन हजार र दुई हजार पाउनेछन् ।
निर्धारित समयमा राष्ट्रिय प्रतियोगिताको आयोजना हुन नसकेको भन्दै केही महिना पहिले राखेपले ‘राखेप राष्ट्रिय च्याम्पियनसिप’ गर्ने निर्णय गरेको थियो । मङ्सिर १५ गतेदेखि काठमाडौंमा आयोजना गरिने भनिए पनि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका कारण उक्त च्याम्पियनसिप केही समयका लागि पछि धकेलिएको थियो । अब उक्त राष्ट्रिय च्याम्पियनसिप आगामी पुस ९ गतेदेखि माघ १० सम्म आयोजना हुने र उक्त च्याम्पियनसिपको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सदस्यसचिव विष्टले जानकारी गराएका छन् । स्मरण रहोस्, यो राष्ट्रिय च्याम्पियनसिपअन्तर्गतका थुप्रै खेलका राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेका छन् । पछिल्लोपटक सितोरियो करातेले राष्ट्रिय प्रतियोगिताको दशरथ रंगशालास्थित कभर्डहलमा आयोजना गरेर खेलाडी छनोट गरिसकेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले राष्ट्रिय च्याम्पियनसिपबाट नै राष्ट्रिय खेलाडीको छनोट हुने बताएका छन् । त्यसपछि छनोट भएका राष्ट्रिय खेलाडीलाई स्वदेश र विदेशमा प्रशिक्षण दिइने पनि विष्टले जानकारी गराएका छन् । यतिबेला सन् २०१८ मा इन्डोनेसियामा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता नेपालका लागि चुनौती बनेको छ । त्यसको तयारीका लागि पनि राष्ट्रिय च्याम्पियनसिप गर्नु अहिलेको आवश्यकता भएको छ । एसियन गेममा साधारण तरिकाले पदक जित्न कल्पना गर्न सकिँदैन, तसर्थ त्यसका लागि खेलाडीलाई उचित प्रशिक्षणको आवश्यकता छ । अहिले आफूले एसियन गेमलाई अर्जुनदृष्टि बनाएको भन्दै पदक जित्नका लागि कुनै कसर बाँकी नराख्ने विष्टले बताए । त्यसका लागि परिषद्ले साम, दाम, दण्ड, भेद चारै नीतिको अवलम्बन गर्ने बताउँदै खेलाडीलाई त्यसका लागि तयार रहन विष्टले निर्देशन दिएका थिए । विष्टले एसियन गेममा जसरी पनि पदक जित्नुपर्छ भन्दै सहभागिताका लागि मात्र नभई जित्ने मानसिकता बनाएर कडाभन्दा कडा प्रशिक्षण गर्न सुझाएका थिए ।
केही समयपश्चात् मुलुकले स्थिर सरकारले पाउने भन्दै विष्टले त्यसपछि नेपाली खेलकुदले नौलो फड्को मार्ने बताए । नयाँ बन्ने सरकारले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको चर्चा गर्दै अब खेलाडीका दुःखका दिन गएको बताए । खेलाडीले अब आफ्नो जीवनयापनका लागि सोच्नु नपर्ने विष्टको कथन थियो । उनले सरकारले राम्रो कार्यक्रम ल्याउनुहोस्, बजेटको चिन्ता नगर्नु भनेको खुलासासमेत गरेका थिए । साथै सम्पूर्ण राजनीतिक दलले आफ्नो घोषणापत्रमा खेलकुदलाई विशेष प्राथमिकतामा राखेका कारणले पनि दक्षिण एसियाली मुलुकमा अब नेपाल खेलकुदको प्रमुख थलो बन्ने बताए । राजनीतिक स्थायित्व नै खेलकुद विकासको मुख्य आधार भएको चर्चा गर्दै त्यो मुलुकले पाएको र खेलकुदले पनि पाउने कुरामा ढुक्क हुन विष्टले स्पष्ट पारेका थिए । यतिबेला परिषद्ले खेलकुदको नीति अगाडि बढाएको अवगत गराउँदै त्यो पारित हुने कुरामा आफू विश्वस्त रहेको बताए । त्यसपछि लोकतान्त्रिक नीति बन्ने खुलासा गर्दै खेलकुदको पनि कायापलट हुने विष्टका दाबी थियो । त्यसपछि खेलाडीको भविष्य कसरी सुनिश्चित हुन्छ त्यसतर्फ आफूले विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
ओलम्पियन खेलाडीको सम्मानार्थ राखेपले आयोजना गरेको चन्द्रागिरी हिल्स अवलोकन तथा भ्रमण कार्यक्रमलाई पूर्ण रूपमा सफल पार्न हिल्सका जरनल म्यानेजर अभिषेकप्रकाश शाहले विशेष सहयोग गरेका थिए । शाहले ६० जना खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई निःशुल्क केबलकार टिकटको व्यवस्था गरेका थिए । सोबापत हिल्सलाई परिषद्ले सम्मानपत्र प्रदान गरेको थियो । सो अवसरमा म्यानेजर शाहले ओलम्पियन खेलाडीका लागि विशेष छुटको व्यवस्थाका लागि आफूले पहलकदमी गर्ने बताएका थिए । त्यसका लागि परिषद्ले ओलम्पियन खेलाडीको पहिचानसहितको नामावली पठाएर सहयोग गर्नुपर्ने बताएका थिए । त्यस्तै सहारा स्पोर्टस् क्लबले ओलम्पियन खेलाडीलाई प्रदान गरिएको ट्रयाकसुटमा भारी छुट गरेको थियो । यो भ्रमणमा ओलम्पियन दीपक विष्ट, जितबहादुर केसी, राजकुमारी पाण्डे, फुपु लामा (खत्री), अर्जुन पण्डित, आमिरी यादव, कान्छीमाया कोजु, चन्द्रकला थापा, सरस्वती भट्टराई र भक्तबहादुर सापकोटालगायतका ओलम्पियनको सहभागिता रहेको थियो ।
प्रतिक्रिया