भी.सी. लछिमनको रगतले भिजेको बर्माको टाङडा र उनको सम्झना

भी.सी. लछिमनको रगतले भिजेको बर्माको टाङडा र उनको सम्झना


-काङमाङ नरेश,
हामी लाहुरेहरु कुनै वर्ग र राष्ट्रबाट सीमान्तकृत भएर लाहुर घरतिर लागेको साँचो कुरो हो । यो समयमा हामीले यसरी बोल्ने आट गर्‍यौं भने कुनै जातिहरुलाई अप्ठ्यारो लाग्न सक्छन् तर हामीले बोल्नु पर्ने हुन्छ । गोर्खालीहरुको करीब २०० बर्षको इतिहासमा धेरै सुखका दिनहरु भन्दा धेरै दुःखका दिनहरुले पोतिएका छन् । ती दुःखका दिनहरुलाई अझ धेरै दुःखमा परिणत गर्नेहरु तपाईं हाम्रोअगाडि छाती फुलाएर हिँडिरहेका छन् । तिनीहरुको लेखाजोखा गर्दै जानु पर्ने छ तपाई हामीले ।

नेपाल र इष्ट इण्डिया सरकार बीचमा भएको लडाइमा बलभद्र कुँवरको केही शीप नचलेपछि उनी स्वयम् पञ्जाब केशरी सिंहको सेनामा भर्ती हुन त्यस स्थानतिर गएको तथ्य होस् या सन् १८१६ मा नेपाल र भारत बीचमा भएको सन्धि-सम्झौता नै किन नहोस् । नेपाल राष्ट्रले विशेष गरेर जनजातिहरुका जवान छोराहारुमाथि दुर्व्यवहारको शुरुवात गर्न थालेको मान्न सकिन्छ । यही कारणले जनजातिका छोराहरु इण्डियन सेनामा भर्ती लाग्न थालेका हुन् । इण्डिया स्वतन्त्र भएपछि इण्डियान सेनामा भएका केही बटालियनलाई बेलायती सेनामा गाभेका थिए । नेपालीहरु अहिले पनि त्यही कारणले बोलायती सेनामा काम गरिरहेको त्यसकै निरन्तरता हो ।

पहिले पहिले हाम्रा पिता पुर्खाहरुलाई भर्ती गराउन गाउँहरुमा राणाहरुले हुकुमी उर्दी गर्थे । त्यसपछि मुखियाहरुले गाउँगाउँमा कटुवाल घोक्राएर जव्ब्रजस्ति गल्लावालको साथमा लाहोर पठाउँथे । यसरी लाहुरे हुन गएका धेरै जनजातिका छोराहरु कति त फर्केर घर पुगेनन् । सन् (१९१४-१८) नेपालको जम्मा जनसंख्या ५६ लाख मात्रै थियो । त्यस समयमा २ लाखभन्दा बढी नेपाली युवाहरु ब्रिटिसको मातहतमा इण्डियन सेनामा भर्ती भई पहिलो विश्व युद्ध लडेका थिए । त्यस्तै दोस्रो विश्व युद्धको समय (१९३९-४५) मा नेपालको जम्मा जनसंख्या ६० हजार लाखको हाराहारीमा थियो । त्यो समयमा २ लाख ५० हजार भन्दा बढी युवाशक्तिले दोस्रो विश्व युद्ध लडेका थिए ।

यसरी दोस्रो विश्व युद्धको समय (१९४०) मा लछिमन गुरुङ्ग भर्ती लागेका थिए । उनी खुदो लिन जाँदै गर्दा बाटैमा गल्लाले पक्रेर भर्ती गराउन लागेका थिए । त्यो समयमा गल्लाले पक्रेपछि जान्न भनेर प्रतिवाद गर्न सक्ने समय थिएन । आजभन्दा ७० वर्षअगाडि बाध्यताको जाँतोमा पिसिएर भर्ती लागका थिए भी. सी. लछिमन गुरुङ ।

उहाँको जन्म १९१९ मा चितवान जिल्ला अवस्थित दाहानी गाउँमा भएको थियो । तर उनको सैनिक अभिलेखमा सन् १९१७ भन्ने लेखिएको छ । “लाहुरेका कथा” भन्ने प्रकाशित कृतिमा उहाँले भनेअनुसार आमा सानैमा बितकोले कुन सालमा र कुन महिनामा जन्मिएको मलाई थाहा छनै भाउजुले भनेअनुसार वैशाखमा जन्मिएको भन्ने थाहा भएको छ । भनेका छन् ।

१९१७ को जन्म हो भने उहाँ २४ बर्षको उमेरमा भर्ती भएको बुझ्न सकिन्छ । अर्को कुरा उनी भर्ती लाग्दा उचाइ र वजन नपुगेकोले पछि बढ्न सक्ने अनुमान गरेर उनलाई भर्ती लागाएका थिए । उनको पछि पनि उचाइ र वजन पुग्न सकेन । यसको अर्थ हामीले के वुझ्न जरुरी छ भने सेनामा भर्ती हुनको लागि चाहिने मापदण्डलाई उल्लंघन गरी लडाइको लागि मात्र भर्ती गराएका थिए ।

उनी लडाइको दौडनमा बर्माको युद्ध मोर्चामा खटिए । १२ मे १९४५ को उनी बर्माको टाङ्डा भन्ने ठाउँमा परिचालित भए । समथीहरुसँग त्यस ठाउँमा ट्रेन्च खनेर बसेका थिए । मध्य रातमा १ बजेर २० मिनेटको समय तिर उनीहरु माथि जापानिज् सेनाहरुले अकस्मात हमला गरे । लछिमन गुरुङ भएको ट्रेन्चमा एउटा ग्रिनेड खस्यो । उनले हातले टिपेर दुश्मनतिर नै फ्याँकिदिए । अर्को पनि फेरि उनकै अगाडि झर्‍यो । त्यसलाई पनि टिपेर जताबाट आएको उतैतिर फ्याँकिदिए । तेस्रो पटक पनि दुश्मनले हानेको गि्रनेड उनकै अगाडि खस्यो । उनले हत्तपत्त दाहिने हातले समातेका मात्र थिए उनकै हातमा पट्कियो । उनको दाहिने हात उडाइदियो र शरीरभरि ग्रिनेडको चोइटाले लागेर सख्त घाइते भए । त्यस्तो अवस्थामा पनि ब्याण्डेज बाधेर देब्रे हातले गोलीहरु लोड गर्दै दुश्मनको प्रतिवाद गरिरहे । उनको ट्रेन्चमा भएका २ जना साथीहरु गम्भीर घाइते भइसकेका थिए । उनले लगातार ४ घण्टा दुश्मनको प्रतिबाद गरे । त्यस ठाउँमा भएका दुश्मनहरु अघि बढ्न सकेनन । बाँचेकाहरु त्यो ठाउँलाई छाडेर भाग्न थाले । त्यस लडाइमा ४ गोर्खा राइफल्स र ८ गोर्खा राइफल्सको ठूलो क्षति हुन गयो । ८६ जना जापानिज सेनाहरुको लासहरु जमीनभरि छरिएका थिए । तीमध्य ३१ जनाको लाश भी.सी. लछिमन गुरुङको ट्रेन्चको मुखमा पल्टिरहेका थिए । उनको साहास र युद्ध कौशलले गर्दा दुश्मनहरुलाई अगाडि बढ्नबाट रोके । उनको वफादारी र बहादुरीले त्यो महत्वपूर्ण ठाउँलाई आफ्नो कब्जामा यसरी पार्न सफल भए भनेर लण्डन राजपत्रमा लेखिएको छ । तर “लाहुरेका कथा” भन्ने प्रकाशित कृतिमा उनले अलिक भिन्नै तरिकाले वोलेको पाउन सकिन्छ । उनलाई घाइते भएको तीन दिनमा ४ जनाले स्टेचरबाट बोकी ओ.पी.मा पुर्‍याए । त्यसपछि चिठी बोक्ने सानो जहाजले ४, ५ दिन कता लगेर राख्यो उनले थाहा पाएनन् । त्यस दिनसम्म पानी मात्र पिएर बाँचेको तीतो सम्झना उनीसँग ताजै थियो । उनलाई उपचारको लागि कमिला भन्ने ठाउँमा लगे । उनको हातको तीन पटक अप्रेशन गरे । २२ दिन कमिलामा बसेर कलकत्ता गए । त्यहाँबाट गाडीमा चढाएर इण्डियाको मुर्जदावाद पुर्‍याए । त्यहाँ तीन महिना आफ्नो शरीरसँग संघर्ष गर्दै बिताए । बिस्तारै हिँड्ने सक्ने भएपछि उनलाई पुनामा लगे । त्यहाँ उनको नक्कली हात बनाइदिए । दशैं नजिकिँदै थियो । उनलाई रेजिमेन्टबाट लिनको लागि एकजना सुबेदार र लेशनायक आएका थिए र उनीहरुसँगै रेजिमेन्टमा दशैं मनाउन गए ।

उनलाई भी.सी. तक्मा थाप्न लण्डन जानुपर्छ भनेका थिए तर कहिल्यै लण्डन नगएको ठाउँ र भाषाको समस्याले उनी लण्डन जान मानेनन् र दिल्ली गए । परेड हेर्न उनको घरबाट बाबा, आमा र दाज्यु आएका थिए । उनले हृवील चियरमा बसेर नयाँ दिल्लीस्थित लालकिल्लामा भायसराय तथा फिल्डमार्शल लर्ड वेभलको हातबाट १९ डिसेम्बर १९४५ को दिन भी.सी.पदक ग्रहण गरेका थिए । उनले पाएका तक्माहरु निम्न प्रकारका छन :-

1. v.c. (LG 27 July 1945)
2. 1939-45 star
3. Burma Star
4. War Medal(1939-45)
5. Indian Service Medal (1939-45)
6. Indian Independence Medal (1947)
7. Queen Elizabeth II’s coronation Medal (1953)
8. Queen Elizabeth II’s Silver Jubilee Medal (1977)
9. Queen Elizabeth II’s Golden Jubilee Medal (2002)

यी माथिका सबै उनका पदकहरु इण्डियन सेनाको अन्ठाउन्नौ गुर्खा राइफल्सको तालिम केन्द्र सिलाङ्गको क्वाटर गार्डमा रहेको छ । उनलाई दिए जस्तो गरेर फेरि किन फर्काए ? यो सहस्यमय विषय हो । किन भने उनलाई त्यो बेलामा फकाई-फुलाई गरेर कागज-पत्रमा हस्ताक्षर गर्न लगाएर त्यहाँ राखेको हुन सक्छ ।

उनलाई १९४६ मा मेडिकल वोर्डको निर्णयअनुसार पेन्सन पठाइयो । अवकाशपछि उनी आफ्नै पुर्खौली थातथलोमा फर्किएर पैतृक घरमा ६२ बर्ष अपाङ्ग बुढेशकाल जीवन बिताए । उनी २००८ मा धेरै लडाइ लडेर वेलायत आएका थिए ।

वीर योद्धा भी.सी. लछिमन गुरुङ्गले वेलायतको लागि दाहिने हात उपहार चडाएर बिनाहात घर फर्किए । तर पनि उनलाई वेलायत आउन नदिनको लागि धेरै भेदभावपूर्ण षड्यन्त्रहरु रचिए । आश्चर्य कुरो त उनको स्वर्गारोहण हुदाँ कुनै पनि वेलायती मिडियाहरुले समाचार सम्प्रेशन गरेजस्तो मलाई लाग्दैन । मैले कुनै पनि टीभीका स्क्रिनहरुमा भी.सी. स्वर्गारोहण भएको समाचार पाउन सकिनँ । यसभित्र कहिँ तुष लुकेको हुन सक्छ ।

अहिले पनि अनेकौ भेदभाव पूर्ण कृयाकलापहरु पल्टन घरभित्र र बाहिर पनि गोर्खालीहरुमा छरपष्ट भएर बाँचिरहेको छन् । यसलाई कसरी तपाई हामीले निमिट्यान्न पार्नु पर्ने हो भन्ने गहन बिषय भएको छ ।

वीर योद्धा भी.सी. लछिमन गुरुङ्गको १२ डिसेम्बरको दिन ९३ बर्षको उमेरमा निधन भएको छ । उनलाई हामी के दिन सक्छौ र ? केही थोपो आँशु २ शब्द श्रद्धान्जली । एउटा जीवित इतिहास अब कापीका पानाहरुमा र अवोल फोटोहरुमा मात्र सीमित हुन पुगेको छ । तर पनि उनको वीरता, योग्दान, साहास र उनले बनाउनु भएको गरिमामय इतिहास युगौं युगसम्म बाँचिरहने छ ।

उनको परिवार, आफन्त जनप्रति सहानुभूति प्रकट गर्दै उनको मृत शरीरप्रति हार्दिक श्रद्धान्जलीसहित एक स्यालूट गर्दछौं ।

जसले हामीलाई प्रयोग गरेर अलपत्र छाडेका छन् । तिनीहरु वेलायती राष्ट्र मात्र नभई गोर्खालीमाथि अत्याचार गर्ने गोर्खालीहरु पन छन् र हामीलाई सीमान्तकृत गर्ने जातिहरु पनि छन् । तिनीहरु भनेको तपार्इं हाम्रोलागि सबैभन्दा ठूलो तगारा हुन् ।

तिनीहरुलाई अन्तमा एउटा प्रश्न ?
हामी के कालागि लड्यौं ?
हामी कसका लागि लड्यौं ?
हामीलाई कसले लड्न पठायो युद्धमा ?

सन्दर्भ सामांग्री
१. लाहुरेका कथा -२००२
२. वीरका पनि वीर भी.सी. विजेता गोर्खालीहरु -२००७
३. भी.सी. स्मारिका २०५० साल
४ नयाँ सन्देश साप्ताहिक वर्ष २ अंक २६