गुल्मीमा घट्यो सुन्तला उत्पादन, कृषकलाई ५ करोडको घाटा

गुल्मीमा घट्यो सुन्तला उत्पादन, कृषकलाई ५ करोडको घाटा


गुल्मीमा यसबर्ष सुन्तला उत्पादनमा भारी गिरावट आएको छ । गुल्मीको कृषि क्षेत्रमा कफी पछि मुख्य नगदे आम्दानीको श्रोत मानिने सुन्तला उत्पादनमा यसबर्ष निराशजनक उत्पादन भएको हो ।

कृषकहरुले अघिल्लो बर्ष ढिलोगरी सुन्तला टिपेको, फूल खेल्ने समयमा खडेरी परेको, लागेका फूल पातलो मात्रामा फक्रिएको, पतेरो किराले सताएका कारण यसपटक गुल्मीमा सुन्तला उत्पादन निराशजनक भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकासहित १२ वटै स्थानिय तहमा कार्यरत कृषि सेवा केन्द्रका अनुसार यसवर्ष सुन्तला उत्पादनमा १५ देखि ५० प्रतिशत कामी आएको छ ।

मदाने गाउँपालिका कृषि प्राविधिक सेवा केन्द्रकी प्रमुख प्राविधिक सहायक फुलनदेवि चौथरीले त्यस गाउँपालिकामा विगतको तुलनामा यस वर्ष ४० प्रतिशत सुन्तला उत्पादनमा कमी आएको बताईन् । ‘हामीले गत वर्ष १७ हजार सम्मको सुन्तला बेचेको पाएका थियौं ।’ उनले भनिन् ।

गुल्मीमा औषत ३० प्रतिशत सुन्तला उत्पादनमा कमी आएको आंकलन गरिएको छ । गत वर्ष जिल्लाभरीको सुन्तला उत्पादनको विवराण अनुसार ३ हजार १ सय ६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यसको थोक मुल्य प्रति किलो ५० रुपैयाँका दरले गणना गर्दा गत वर्ष गुल्मीमा १५ करोड ५३ लाख मुल्य वरावरको सुन्तला उत्पादन भएको थियो ।