नेपालका आदिवासी गुरुङहरुबारे छोटो चर्चा

नेपालका आदिवासी गुरुङहरुबारे छोटो चर्चा


-सुमल कुमार गुरुङ,

प्रारम्भ

मैले भर्खरै लोकार्पण गरिएको तमु, गुरुङजातिको उत्पति र धर्म-संस्कृति नामक पुस्तक एकजना मित्रबाट प्राप्त गरें । पुस्तककी लेखिका श्रीमती होमा गुरुङ (थकाली) ज्युले धेरै प्रयास गरेर पुस्तकलाई अनुसन्धानमुलक बनाउने प्रयास गरेकीछिन् । अहिलेसम्मका गुरुङहरुसम्बन्धी लेखिएका पुस्तकहरुको थप अनुसन्धान गरेर गुरुङहरुको आस्था र इतिहासलाई मूर्तरुप दिने प्रयास गरेकी छिन् । यसैगरी गुरुङ बौद्धिक क्षेत्रका महानुभावहरुले थप कृतिहरु थप्दै जाने हो भने आउँदो पचास वर्षभित्र गुरुङ समाजको विकास र गुरुङहरुसँग आबद्ध कृतिहरुको भरमार हुनेछ भन्ने मलाई लाग्छ । शासकहरुको दमननीतिभित्र हामी केही शताब्दी थिचिएकाले गुरुङहरुको प्राचीन इतिहास यस समयको अन्तरालभित्र गुमराह भएको थियो । उसरी प्राचीनकालदेखिको लिखित दस्तावेजहरुको कमीले गर्दा पनि तमूहरुसम्बन्धी इतिहास पूर्णरुपमा उजागर हुन सकेको छैन । गुरुङहरुको छुट्टै गौरवमय पहिचान बोकेको संस्कार र परम्परा छ । मौखिक आख्यानहरु, पराम्परागत संस्कारहरु स्मरण गर्दै भनिएका पुस्तौंदेखिको मौखिक कुराहरुको आधारमा इतिहास लेख्दै आएका छौं । विगतमा गुरुङ समुदायभित्र बौद्धिक क्षेत्र फराकिलो थिएन, तर, अहिले यस समुदायमा प्रकाश फैलाउने कैयौ नक्षत्रहरु उदय भइसकेका छन् । मलाई विश्वास छ, गुरुङहरुको इतिहासलाई ब्युँताएर गुरुङहरु अवश्य नै अघि बढ्नेछन् ।

पाषन य्रगदेखि क्होला सोंथरसम्मको समयकालमा गुरुङहरु

सृष्टि र मानव सभ्यताको विकासको बारेमा समाजशास्त्रीहरुले सयौ पुस्तकहरु लेखिसकेका छन् । होमोसेपियन (होमो-मान्छे, सेपियन-बुद्धि) अर्थात् आधुनिक युगका मान्छेको अस्तित्व २ लाख पचारहजारवर्षदेखि पृथ्वीमा रहेको विज्ञहरु बताउँछन् । मानव जगतमा लाखौं वर्षदेखिको विकास हुने क्रमलाई इतिहासकारहरुले युगहरुमा वर्गीकरण गरेकाछन् । पाषन युग (दुई चरणमा-प्यालेओलिथिक र न्युओलिथिक), काँस्य युग, फलामे युग र अहिलेका हाम्रो आधुनिक युगलाई कतिपय समाजशास्त्रीहरुले सिलिकन युगको रुपमा लिने गरेका पनि छन् । मानव सभ्यताको उद्गमदेखि अहिलेसम्मको चरणमा मानव जगतले आदिम युगमा कल्पना नगरेका चमत्कारपूर्ण आविष्कारहरु गरेर दङ्ग पारेका छन् । गुरुङहरुको आस्था र अस्तित्वले पनि ती सबै युगहरु पार गरेर आएका हुन् । यस सन्दर्भमा गुरुङहरुका इतिहासको बारेमा चर्चा गर्दा हामीले इतिहास छिचोल्दै गुरुङहरुको सृष्टि वा उत्पति कहाँबाट शुरु भयो, गुरुङ भाषाको लिखित दस्तावेजहरु थिए वा थिएनन् भन्ने कुराहरु बारे अझ विस्तृत खोजीको विषय रहेको छ । उत्पतिको कुरामा हामी आख्यानहरुलाई आधार मान्छौं, तर, उद्गम स्थलसम्मको प्रमाणित तहसम्म पुग्न प्राचीनकालका अभिलेख दस्तावेजहरु नभएकाले आप्ठ्यारो हुन्छ । गुरुङजातिको इतिहासबारे कतिपए अनुसन्धानहरुमा मतभिन्नता भएकोले पनि खोज अपुरो प्रतीत हुन्छ । विश्व मानव इतिहासमा हामीले कतिपय इतिहासका पाटाहरु ओझेलमा परेका पाउँछौ । विजय भएका मानिसले साम्रज्य स्थापना गरेपछि स्मारक, प्रतिक चिन्हहरु, वैभव र कीर्तिका कुराहरु फिँजाउनलाई स्थापित गर्छन् र उनीहरुको जीतको कथाहरुमात्र लेखिन्छ, तर, हार्नेको केही कालपछि मेटिएर गएको देखिन्छ । यसै प्रसँगमा गुरुङहरुसम्बन्धी चर्चा गर्दा हजारौं वर्षहरुदेखि नेपालको उत्तरी भुभागमा बसेका गुरुङहरुको पनि इतिहासको केही पाटा ओझेलमा पर्न गएको स्तम्भकारलाई लाग्दछ । तर, हिमाली भेगका यी आदिवासी गुरुङहरुले आदिकालमा गण्डक क्षेत्रको पहिलो वासिन्दा भएर राज्य स्थापना गरेको कुरामा चाँहि दुई मत छैन ।

विगत पचासवर्षभित्रको गुरुङसम्बन्धी इतिहासको अनुसन्धानले गुरुङहरुको पहिचान उजागर गर्ने कोशिस भएकोचाँहि मान्नैपर्छ । आधुनिक जगतको इतिहासमा इतिहासकारहरुले केही सानो लिखित दस्तावेज प्रमाणको रुपमा प्राप्त गरे अनुसन्धान गरेर त्यसलाई विस्तृतरुपमा प्रस्तुत गरेर इतिहास लेख्ने गरिन्छ । उदाहरणको लागि ३२३ यीशुपूर्व चन्दगुप्त मौर्यको पालामा म्यागस्थानिज नाम गरेका युनानी राजदूतले लेखेर छाडेको वृतान्तको आधारमा तत्कालीन मौर्यवंश र भारतवर्षको चित्रण लेखिएको पाउँछौं । ठाउँ-ठाउँमा प्राप्त स्तम्भहरु, शिलालेख, मन्दिरहरु, गुम्बाहरुमा अंकित सम्बत् र वृतान्तहरु इतिहास लेख्ने कडीको रुपमा पाउँदछौं । त्यसकारण गुरुङहरुको सन्दर्भमा त्यस्ता हजारौं वर्षपहिलेको उत्कृष्ट अभिलेखहरुको खोजी गर्नु आज आवश्यकता देखिन्छ । हामीलाई प्राप्त ऐतिहासिक भग्नावशेष, क्होला सोंथरले गुरुङहरुको पहिलो बस्ती सन् ५०० ताका बसालेको कुरा शास्त्रलाई उद्धृत गर्दै श्रीमती होमा गुरुङ (थकाली) को पुस्तकको “ऐतिहासिक पृष्ठभूमि” वृतान्त लेखिएको पृष्ठमा उल्लेख गरेकिछिन् । तर, गुरुङहरुको उपस्थिति नेपालको हिमाली क्षेत्रमा त्यसभन्दापहिले महाभारतकालमा नै रहेको बुझिन्छ । किराँत व किन्नरका रुपमा उल्लेख गरेका प्राचीनकालदेखिको हिमाली भेगमा आदिवासीको रुपमा रहँदै आएको हुनुपर्छ भन्ने संकेत स्तम्भकारको छ । होमाजीको सोही पुस्तकको पृष्ठ ३, पहिलो प्याराग्राफको दोश्रो लाइनमा गण्डक प्रदेशमा अढाइ हजार वर्षदेखि बसोबास गर्दै आएको कुरा दर्शाएकी छिन् जसले गर्दा क्होला सोंथरको सन् ५०० ताका बसाएको गुरुङ बस्तीभन्दा हजारौं वर्षपहिले देखि नै गुरुङहरुले गण्डकक्षेत्रमा बस्ती बसाएर बसोबास गरेका थिए भन्ने कुरामा प्रवलता देखिन्छ । प्राचीन इतिहासको अधार महाभारत र पुराणहरुमा उल्लेख गरेका हिमाली भेगका वासिन्दहरुमा निःसन्देह गुरुङहरु पनि पर्दछ । वास्तवमा क्होला सोंथरभन्दा पहिले गुरुङहरुको राज्य हिमाली भेगमा स्थापना भइसकेको हुनुपर्छ । गुरुङ भाषालाई अनुसन्धान गर्ने होभने गुरुङहरुमा हृयूल (मुलुक) र म्रू (राजा) भन्ने शब्द प्राचीनकालदेखि संज्ञा दिंदै आएको शब्द भएकोले क्ले (मालिक), घलेराजाहरुभन्दा माथिल्लो तहमा इतिहासकालमा राजा र राज्य रहेको पुष्टि गर्दछ ।

गुरुङहरुको शारीरिक बनोट, संस्कार र परम्पराले पहिल्याएको इतिहास

गुरुङहरुको जिउको बनोट, भाषा र संस्कारलाई विचारगर्दा गुरुङहरु बसाइँसराइको क्रममा निश्चित रुपमा नेपालको उत्तरबाट नेपालको गण्डक र धवलागिरी क्षेत्रमा प्राचीनकालमा प्रवेश गरेको हुनुपर्छ । मानव प्रजातिलाई विशेषगरी वर्गीकरण गरेका तीन प्रजातिहरु मंगोलोइड, नेग्रोलोइड र काकासोइड मध्येमा गुरुङहरुका केही परम्परागत संस्कारहरु र शारीरिक संरचनाको अधारमा गुरुङहरु मंगोल वर्गमा पर्दछ । मूलतः यी तीन मुख्य प्रजातिहरुबाट विभिन्न मिश्रित उपप्रजातिहरु उत्पन्न भएका तर्क कतिपए समाजशास्त्रीहरुले पेश गरेका छन् र पाँच वर्गसम्म विभाजित गरेर उल्लेख गरेका हामीले पाउँछौ । अब प्रश्न उठ्छ के हामी वास्तवमा चीन र सोभियत रुसको बीचमा अवस्थित मंगोलिया राज्यबाट आएका हौं ? यस प्रश्नको अनुसन्धान गर्नु अझ बाँकी नै छ । मंगोलियन जातिको प्रसँगको चर्चा गर्दा मंगोल सम्राट चैंगेज खाँनको नाम पहिले आउँछ । तेह्रौं शताब्दिको प्रारम्भमा मंगोलियाका सम्राट चैंगेज खाँनद्वारा युरेसिया अर्थात् युरोप र एसियाको अनेकौ राष्ट्रहरु विजय गरेर विशाल राष्ट्र निर्माण गरेका थिए । इतिहासकारहरुका अनुसार मंगोल सम्राट चैगेज खाँनको साम्रज्यजति ठूलो विश्वमा अरु कुनै साम्रज्य स्थापना नभएको बताउँछन् । इतिहासमा मंगोल प्रजातिको बारेमा सबैभन्दापहिले ख्रिस्टोफ मेइनर्सले सन् १८८५ मा मंगोलहरुको बारेमा उल्लेख गरेका थिए । उनका अनुसार मध्यएसियादेखि उत्तरपूर्व एसिया र अमेरिकासम्मका आदिवासीहरुलाई मंगोल प्रजातिका हुन् भनेर सम्बोधन गरेका छन् । हाम्रो पराम्परा र संस्कार (बुद्ध धर्म अवलम्बन गर्नुअघि) साइबेरियाका जीववादीहरु, चीन र तिब्बतका बोनवादीहरुसँग मेलखाने हुनाले हामी मध्यएसियादेखि तिब्बतको उत्तरीक्षेत्रबाट नै उत्पति भएर संसारमा फिँजिएका होलान् भन्ने अनुमान गर्न सक्छौं । हजारौं वर्षको बसाइँसराइ र नयाँ-नयाँ ठाउँको वातावरण र नयाँ मानव समूहसँगको सम्पर्कले भाषा र संस्कारहरुमा पनि परिवर्तन हुनु स्वाभाविक देखिन्छ । इतिहासकारहरुले इंगित गरेबमोजिम कोकोनोर तालको वरिपरिको क्षेत्रलाई आख्यानहरुमा उल्लेख गरेको सन्दर्भलाई बुझ्दा गुरुङहरु हिमालको उत्तरीक्षेत्रबाट प्रवेश गरेको तथ्यहरु सामु आउँछ ।

गण्डकक्षेत्रको शुरुका आदिवासीमा गुरुङहरु भएको यथार्थ

नेपालको आदिवासीहरुको सवाल उठ्दा महाभारतकालीन समय तथा वेदपुराणहरुमा मंगोलवर्णका मानिसहरुको उल्लेख गरेका पाउँछौं । अर्जुनले गाण्डिव धनुष प्राप्त गर्नका लागि गुप्तवासमा रहँदा महादेवका तपस्या गरेका थिए । उनका तपस्यामा प्रशन्न भएर किराँतरुप धारणगरी स्वय्म महादेव प्रकट भएको वृतान्त उल्लेख गरेका पाइन्छ । कतिपए ग्रन्थहरुमा किन्नरहरुको शारीरिक बनोटको बारेमा वर्णन गरेका छन् । महाभारतमा उल्लेख किन्नरहरु हिमाली क्षेत्रमा बसोबास गर्ने मंगोलहरु अथवा गुरुङहरु पनि हुनसक्ने संभावना देखिन्छ । किनभने शुरुमा यसक्षेत्रका आदिवासीहरुमा मंगोलवर्णका मानिसहरु थिए । महाभारतकालमा हिमाली क्षेत्रमा उपस्थिति रहेका किन्नर र किराँतहरुको उल्लेखले यसक्षेत्रका आदिवासीहरुलाई इंगित गर्दछ र गण्डकक्षेत्रका पहिलो आदिवासीहरुमा गुरुङहरु पर्दछ । त्यतिबेला उल्लेख गरेका किराँतहरु अहिलेका राई तथा लिम्बूहरु नै हुन् । महाभारतकाललाई समयको कसिमा उतार्ने हो भने यो लगभग ३५०० वर्षभन्दा पहिलेको समय हुनआउँछ । हामीले ५००० वर्ष पहिलेका सिन्धू नदीको घाँटीहरुमा विकास भएको सिन्धू सभ्यताको बारेमा मोहन्जोदारो र हरप्पाको उत्खनन्बाट प्राप्त भएको छ । सिन्धू नदीको उद्गम स्थल कैलाश पर्वत, तिब्बतस्थित मानसरोवर तालको निजकमा पर्छ । अर्को प्रसँगमा मानसरोवर तालको वरिपरि हुँदै हजारौं वर्ष पहिले बसाइँ-सराइ गर्दै गुरुङहरु नेपालको उत्तरी भुभाग हुँदै गण्डक क्षेत्रमा प्रवेश गरेका पनि हुनसक्छ । इतिहासलाई सान्दर्भिकता ल्याउनका लागि दूरीको हिसाबले हेर्दा कोकोनोर तालदेखि नेपालसम्म तत्कालीन् अवस्थामा चीन र तिब्बतको ठूलो भूभाग छिचोल्दै गण्डकक्षेत्र आउनको लागि २,३ हजारवर्ष अवश्य लाग्न सक्छ र नेपाल खाल्डोमा यदि अढाइ हजारवर्ष देखि गुरुङहरु बस्दै आएका छन् भने हामी पाँचहजार वर्ष अघितिर कोकोनोर तालतिर बसोबास गरेको हुनुपर्छ जुन कुरा पुष्टि गर्नको लागि हामीसित अडकलमात्र छ । अर्को प्रसँगमा सिन्धू नदीको बढी भाग, जुन अहिले पाकिस्तानमा प्रवाहित हुन्छ, यस नदीको किनाराहरुमा फस्टिएका सभ्यता मानव इतिहासमा प्राचीनतम मानिन्छ । उत्खननबाट प्राप्त कुँदिएका मानवअकृतिहरु मंगोल वर्गको मानिसको अनुहारसँग मिल्न जान्छ । सम्भावित प्रसँगतिर इतिहासकारहरुको ध्यान गएको पाइँदैन, हुनसक्छ सिन्धूको मुहान हुँदै भारतको लेह, लद्दाख हुँदै मंगोलियन प्रजातिका मानिसहरु हरप्पातिर लागेर ठूलो सभ्यताको विकास गरेको पनि हुनसक्छ । सिन्धू सभ्यता कुनकारणबाट लुप्त भयो त्यो किटानका साथ भन्न सकिन्न, तर, प्रकृतिक प्रकोपको कारण विनाश भएको हुनसक्छ भन्ने विज्ञहरुको अडकल छ । यस्तै ठूला-ठूला सभ्यताहरु मेटिएर गएका अभिलेखहरु इतिहासमा अंकित छन् । हुनसक्छ बसाइँ-सराइको क्रममा पाँचौं हजारवर्ष पहिले गुरुङहरु हिमाल पारिबाट नेपाल पसेका कुरामा प्रष्ट देखिन्छ भने मानसरोवर ताल, सिन्धू नदी हुँदै लेह, लद्दाख र पश्चिमतिरबाट महाभारतकालमा उल्लेखित किन्नर प्रदेश हुँदै गण्डक प्रदेशसम्म आएका हुनसक्छन् । यो एउटा सम्भावित अडकल मात्र हो । गुरुङहरुले स्थापना गरिएका ऐतिहासिक महत्वका अस्तित्वहरु प्रकृतिक प्रकोपका कारण लोप भएर गएका होलान् भन्ने स्तम्भकारको अड्कल छ । तर, गण्डक र धवलागिरी क्षेत्रमा मानव बस्ती खडा गरेर बस्ने बासिन्दाहरुमा गुरुङहरु पहिलो हुन आउँछ । यसकारण गुरुङहरु नेपालका शुरुका आदिवासीहरुमा पर्दछन् ।

गुरुङहरुको धर्म, संस्कार र वर्तमान अवस्था

धर्म र कर्म मानव जीवनको अभिन्न अंग हो । संसारको बहुसंख्यक मानव जमातले कुनै न कुनै धर्मको बाटो पहिल्याएर जीवन जिउने अभिसार बनाउँदछ । यसमा दुइटा कुराहरु उल्लेख गर्नु म सान्दर्भिक ठान्दछु । यदि कुनै मानिस भगवानमाथि आस्था राख्दैन भने उसलाई हामी नास्तिक भन्छौं र भगवानलाई मानेर कुनै धर्मको बाटोमा लाग्नेलाई आस्तिक भन्छौं । संसारका सबैभन्दा प्राचीन धर्म कुनचाँहि होला भन्दा धेरै विवादहरु आउन सक्छन् । सबै धर्ममा मानिसको उत्पतिको वृतान्तदेखि भगवानको अर्ति उपदेशहरु र निर्देशनहरु मार्ग दर्शनअनुरुप व्याख्य गरेका हुन्छन् । धर्म वास्तवमा एउटा दर्शन हो । तपाईलाई जुन धर्मको दर्शन राम्रो लाग्छ, त्यसलाई चुनेर त्यस धर्मको सिद्धान्तलाई आपनाएर जीवनज्ञापन गर्ने तपाईको मानव अधिकारभित्रको नैसर्गिक अधिकार हो । धर्मलाई हामीले संस्कार र परम्पराको तराजुमा तोल्न हुँदैन । धर्म मान्छेका हितको लागि शान्ति, समृद्धि, अधर्मलाई अथवा पापीहरु जो मानव समुदायको विरोधमा कृयाकलापहरु जस्तै राक्षसीपन् दर्शाउँछन् त्यस्ताहरुलाई सहिबाटोमा ल्याउने सामाजिक विधान हो । गुरुङहरुमा धर्मको विषयलाई लिएर मतभिन्नता रहेको पाइन्छ । कुनै पनि धर्म अपनाउनको लागि एकजना व्यक्तिलाई हामीले जबर्जस्ति गरिन्छ भने त्यो मानव धर्मको विरुद्ध ठहर हुन्छ । मेरा एकजना गाउँका गुरुङ युवकले इस्लाम धर्ममा रुपान्तर भएर इस्लाम धर्म अप्नाएका रहेछन् । अहिले उनी अधबैंश नाँघिसकेका एकजना इस्लाम धर्मका प्रचारकको रुपमा प्रतिष्ठित भइसकेको कुरा केही महिनाअघि मसँग फेसबुकमा सम्पर्क हुँदा जानकारी भएको थियो । यो एउटा उदहारणको लागि मैले यहाँ प्रस्तुत गरेको मात्र हुँ । कारण गुरुङभित्र मुख्यतया दुई धारका धर्मावलम्बीहरुका संख्यात्मक प्रभाव छ । बौद्ध धर्मावलम्बी तथा बोनधर्मालम्बीहरुका सामञ्जस्यतामा धर्मको विषयमा परम्परा र संस्कारहरुले गर्दा ऐक्यमत हुनसकिरहेको छैन । संस्थागत हिसाबमा उहिले हामी एकै सन्तान र समुदायका भए तापनि धर्मको कारणबाट विभाजन फराकिलो हुँदै गइरहेको यथार्थ हाम्रोसामु उभिएको छ ।

समापान

गुरुङहरुको भाषा, संस्कार, रहन सहन, भेष-भुषालाई कहिल्यै विभाजन गर्न सक्दैन, न नै गुरुङको अस्तित्व बोकेको गुरुङलाई तमु होइन भनेर कुनै गुरुङलाई भन्न मिल्दैन । संसारभरि खृष्टियन, मुसल्मान, हिन्दू, बौद्ध र बोनवादी गुरुङहरु छन् ती सबै एकै घरका सन्तान थिए र मेरो विचारमा सधै एक ढिक्का भएर रहनुपर्छ । किनकि आफ्नो नामको अघि गुरुङ भएपछि अनन्तसम्म आफ्नो वंशजको हकमा गुरुङ नै कायम हुन्छ त्यसकारण यो संकीर्णतालाई पन्छाएर सबै गुरुङ आफ्नो भाषा, संस्कार, रितीरिवाजलाई जीवन्त राखेर गुरुङ साहित्यको सिर्जनातर्फ लाग्नु पर्ने अहिले समय आएको छ । अस्ति भर्खरै बेलायतमा देवकोटा जयन्ती धुमधामसँग मनाइएको थियो, तर, साहित्यका र्सजकहरुलाई के लागिरहेको थियोभने बेलायतमा जन्मेका नेपालीका आउँदो पुस्ताले के नेपाली साहित्यलाई निरन्तरता देलान् ? त्यसैले समयमा नै बुद्धि नपुर्‍याए लोप हुन लागिरहेको भाषा र संस्कार विदेशको बसाइँ-सराइले गर्दा लोप नहोला भन्न सकिन्न । भारतमा एकपटक सम्राट अशोकको पालामा भारतवर्षभरि प्रयोग भएको पालीभाषा अहिले इतिहासमा मात्र सीमित भएको छ । विशालभारतभरि बोलिने र प्रयोग हुने पालीभाषा शताब्दीयौं अघि लोप भएर गएको थियो । गुरुङ समुदायभित्र जो जसले जस्तैसुकै धर्म पालन गरे तापनि भाषा र रिवाजलाई (जसबाट गर्व गर्न सक्छौं) निरन्तरता दिएर कूरितीहरुलाई सयससापेक्ष परिमार्जित गर्दै लगेमा गुरुङहरुको आस्थाको पहिचान रहिरहनेछ भन्ने मलाई लाग्दछ ।

¬ Author can be reached at [email protected]