सात प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी को–को ?

सात प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी को–को ?


प्रदेश र प्रतिनिधि सभा चुनाव सकिलगत्तै मुख्यमन्त्रीको चर्चा शुरु भएको छ । सातै प्रदेशमा मुख्यमन्त्री बन्नका निम्ति नेताहरुले दौडधुपलाई बढाएर लगेका छन् ।

सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको बेला मुख्यमन्त्री बन्नका निम्ति केही नेताहरुको दौडधुप शुरु भएको हो ।

यस्ता छन्, आकांक्षी…

प्रदेश १ : एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य शेरधन राई र केन्द्रीय सचिव भिम आचार्य मुख्यमन्त्रीका प्रबल दाबेदारका रुपमा रहेका छन् । राई भोजपुरको प्रदेश सभा(ख) बाट निर्वाचित संसद हुन भने आचार्य सुनसरी क्षेत्र नम्बर १(ख) बाट चुनाव जितेका छन् । ९३ सिट रहेको प्रदेश १ मा ५२ सिट जित्दै एमालेले बहुमत ल्याएको छ ।

प्रदेश २ : मधेसवादी दलको झिनो बहुमत रहेको छ । प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरमका नेता लालबाबु राउत मुख्यमन्त्रीका दाबेदार छन् । त्यसैगरी राजपाका महासचिव मनिष सुमन र नेता जितेन्द्र सोनलको नाम समेत मुख्यमन्त्रीको लागि चर्चामा छ ।

प्रदेश ३ : प्रदेश नम्बर ३ मा महिलाको बलियो दाबेदारी छ । काठमाडौं क्षेत्र नम्बर ८(ख) बाट विजयी अष्टलक्ष्मी शाक्य प्रदेश ३ को मुख्यमन्त्रीको प्रमुख दाबेदारका रुपमा देखिएकी छन् । मुख्यमन्त्री हुने चाहनामा नेकपा एमालेकी उपाध्यक्ष रहेकी शाक्य प्रदेश सभाबाट चुनाव लडेकी हुन् । शाक्यका साथै प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले नेता राजेन्द्र पाण्डे, पशुपति चौलागाईँ, सानुकुमार श्रेष्ठ र केशव स्थापित पनि चर्चा छन् ।

प्रदेश ४ : प्रदेश ४ मा मुख्यमन्त्रीका लागि एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ र अर्का नेता किरण गुरुङ दाबेदार छन् । उनीहरुको दुवैको सम्भावना उत्तिकै भएपनि कसको भाग्य खुल्ने हो हेर्न बाँकी छ ।

प्रदेश ५ : यो प्रदेशमा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्रीमा प्रबल दाबेदार रहेका छन् । उनी दाङ क्षेत्र २(क) बाट विजयी भएका हुन् । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’ले मुख्यमन्त्रीको लागि दाबेदारी प्रस्तुत गरेका छन् । कसको भाग्य चम्किने हेर्न बाँकी छ । कुल ८७ सिट रहेको प्रदेश ५ मा एमालेले ४४ सिट जित्दा माओवादीले २२ सिट जितेको छ । प्रदेश ५ समेत वाम गठबन्धनको स्पष्ट बहुमत छ ।

प्रदेश ६ : योप्रदेशमा मुख्यमन्त्रीमा लागि माआवोदी केन्द्रका नेता महेन्द्रबहादुर शाही र नरेश भण्डारी प्रमुख दाबेदार छन् । एमाले नेता प्रकाश ज्वाला र यामलाल कंडेलको नाम समेत मुख्यमन्त्रीको लागि चर्चामा छ । यो प्रदेशमा वाम गठबन्धनको स्पष्ट बहुमत छ ।

प्रदेश ७ : यस प्रदेशमा वीरमान चौधरी मुख्यमन्त्रीको लाइनमा रहेको बुझिन्छ । चौधरी कैलाली क्षेत्र नम्बर ३(क) बाट निर्वाचित संसद हुन । एमालेका नेताहरु कर्णबहादुर थापा, दीर्घ सोडारी र प्रकाश शाह लगायतको नाम समेत मुख्यमन्त्रीको चर्चामा छ । यसरी नेताहरुको नाम मुख्यमन्त्रीका रुपमा चर्चामा आएको हो ।