एडिबीको सहयोगमा सञ्चालित आयोजनामा ढिलासुस्ती

एडिबीको सहयोगमा सञ्चालित आयोजनामा ढिलासुस्ती


– प्रणय साह

वीरगञ्ज महानगरपालिकामा एडिबीको सहयोगमा सञ्चालित मझौला शहर एकीकृत वातावरण सुधार आयोजनाको काम तोकिएको समयमा सम्पन्न हुन सकेको छैन । ठेकेदार कम्पनीले अहिलेसम्म काम पूरा गर्न सकेको छैन । भूकम्प, मधेस आन्दोलन, बालुवा–गिटीको समस्यालगायतका कारण देखाई तोकिएको समयमा कार्य सम्पन्न हुन नसक्दा तीनपटक म्याद थप भएको आयोजनाको काम गत नोभेम्बर २६ मा सम्पन्न गरिसक्नुपर्ने थियो, तर आयोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले हालसम्म पचासी प्रतिशत मात्र कार्य सम्पन्न भएको बताए । आयोजनाको म्याद थप नभएको र ठेकेदारले मरम्मत सम्भारको लागि पाउने एक वर्षको अवधिमा बाँकी १५ प्रतिशत काम सम्पन्न गरिसक्ने गरी काम भइरहेको श्रेष्ठले बताएका छन् ।

आयोजनाको काम कात्तिकसम्ममा ८३ प्रतिशत सम्पन्न भएको थियो । तर एक महिना बढी भइसक्दा पनि पचासी प्रतिशतभन्दा बढी काम हुन सकेको छैन आयोजनाको काम अन्तिमपटक तोकिएको नोभेम्बर २६ सम्म ९० प्रतिशत सम्पन्न हुने लक्ष्य राखिएको थियो । खानेपानीको पाइपलाइन समस्याले आयोजनाको काम पछिल्लो समयमा ढिला भइरहेको आयोजनाका व्यवस्थापक श्रेष्ठले बताए । अदालत रोड, रानीघाट, आदर्शनगर र पानीटंकी क्षेत्रमा खानेपानीको घरेलु प्रयोगका पाइपलाइनहरूले समस्या सिर्जना भएको कारण काममा ढिलाइ भएको उनले बताए । सो क्षेत्रमा काम गर्दा खानेपानी संस्थानसँग यसबारेमा छलफल हुँदा संस्थानले क्षतिपूर्तिवापत ३ करोड ७० लाख माग गरेको कारण काममा ढिलाइ भएको श्रेष्ठले बताए ।

साधारण जीर्ण पाइपहरूको र मरम्मतबाहेक अन्य कामका लागि बजेट विनियोजन नभएको संस्थानले क्षतिपूर्तिबापतको रकम पाएपछि मात्र काम गर्न लिखितपत्र दिएकोले यस विषयमा एडिबीसँग परामर्श भइरहेको बताए । आयोजनाको काममा भूमिगत नालाको निर्माण कार्य सम्पन्न भइसकेको छ भने कालोपत्र गर्ने काम ८५ प्रतिशत सम्पन्न भएको छ ।

अझै केही कामहरू छपकैयामा निर्माणाधीन वाटर ट्रिटमेन्ट प्लान्ट, माईराम पोखरीमा निर्माण भइरहेको रिक्रिएसन पार्क र केही स्थानमा सडक कालोपत्र गर्ने काम बाँकी छ । आयोजनाले खानेपानीसँगको सहमतिमा प्रतिमा चोकदेखि पावरहाउस चोकसम्म कालोपत्र गर्ने काम सम्पन्न गरे पनि पावरहाउसदेखि अदालत रोड हुँदै श्रीसिया पुलसम्मको कालोपत्र गर्ने काम भने खानेपानी संस्थानको पाइपको कारण रोकिएको छ । काम गर्दा ग्राहकहरूको पाइपलाइन चुँडिएको र सोबाट पानी जमेको कारण कालोपत्र गर्ने काम प्रभावित भएको आयोजना व्यवस्थापक श्रेष्ठले बताए । पानीको उपस्थितिमा सडक कालोपत्र गर्दा आयु छोटिने हुनाले काम रोकिएको छ ।