यस वर्ष पनि लोडसेडिङ नहुने प्राधिकरणको दाबी

यस वर्ष पनि लोडसेडिङ नहुने प्राधिकरणको दाबी


एक्कासी आइपर्ने प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा बिजुली कटौती नहुने नेपाल विद्युत प्राधिकरणले स्पष्ट पारेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युतभार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने भन्दै आश्वस्त पारेको हो।

हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित-अघोषित रुपमा कुनै प्रकारको विद्युतभार कटौती नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उद्धृत गर्दै राससले बताएको छ। प्राविधिक समस्याका कारण कहीँ कतै केही समयसम्म विद्युत आपूर्तिमा अवरोध आएको भए पनि विद्युतभार कटौती नहुने उनले बताए । ‘समस्या देखिएका स्थानमा प्राविधिक टोली खटाएर समाधान गर्दैआएका छौँ,’ उनले भने ।

बताइएअनुसार विद्युत आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकको मागलाई ध्यान दिई फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइएको र वितरण प्रणालीलाई सदृढ गरिएको छ । हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाब घट्दा विद्युत उत्पादनमा कमी आउने गरेको छ । यही समयमा विद्युत माग बढ्ने हुँदा उपलब्ध सीमित उत्पादनले विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्न पुग्छ ।

विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण प्रतिबद्ध रहेको र ग्राहकलाई बत्ती दिन गत वर्षझैँ यस वर्षको हिउँदमा समेत प्राधिकरण दृढताका साथ लागिपर्ने प्राधिकरणले जनाएको छ । ज्ञात रहोस्, प्राधिकरणले आफ्ना जलविद्युतआयोजनाबाट ३७२ मेगावाट, निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ ।

अपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत माग हुने समयमा मात्र तीन घण्टा विद्युत् कटौती गर्ने गरेको छ । यस वर्षको हिउँदको विद्युत् मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहका उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपुग विद्युत् भारतबाट आयात गर्ने योजना बनाएको छ ।

विद्युत आपूर्तिका लागि नेपाल आत्मनिर्भर नभएको अवस्थामा नेपाल–भारत प्रसारण लाइनबाट सहजरुपमा विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ । विद्युत् चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत् खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर ‘उज्यालो नेपाल’ बनाउने अभियानमा सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।