हङकङमा लिम्बुवानी आमसभा सम्पन्न

हङकङमा लिम्बुवानी आमसभा सम्पन्न


हङकङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिले यही जनवरी २ तारिखका दिन ‘संघीयता गणतन्त्र धर्मनिरपेक्षता र निर्णायक अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनको लागि लिम्बुवान आमसभा’ भन्ने व्यानर र नाराका साथ हङकङमा भव्य लिम्बुवानी आमसभा सम्पन्न गरेको छ ।

हेनरी जी ल्योङ कम्युनिटी सेन्टर याउ मा तेई, हङकङमा आयोजिक उक्त आमसभामा प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले आभसभालाई सम्बोधन गर्दै अहिलेको सन्दर्भमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक-धर्म निरपेक्ष राज्यको संविधान बन्ने सवाल महत्वपूर्ण विषय रहेको बताए । संविधानसभाद्वारा बन्ने संविधानमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको सङ्खुवा-अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चितता गर्न-गराउनका लागि आफूहरुले लिम्बुवान आन्दोलन अघि बढाइरहेको कुरा जानकारी गराए । सम्बोधनकै क्रममा प्रमुख अतिथि लिङ्देनले संसारको जुनसुकै ठाउँमा पुगे-रहे पनि लिम्बुवान आन्दोलनसँग जोडिऔं भनी सम्पूर्ण लिम्बुवानवासीहरुमा अनुरोध गरे । यसरी नै नेपालमा लिम्बुवान स्वायत्त राज्य स्थापना भएर यसले प्रगति र उन्नतिको शिखर चढ्नसके सबै लिम्बुवानवासीहरुको माङ्गेन्ना ९गरिमा० उठ्ने निश्चित भएको विचार पनि व्यक्त गरे । साथै, प्रमुख अतिथि लिङ्देनले हङकङमा रहेका सम्पूर्ण लिम्बुवानवासी दाजुभाइ तथा दिदीबहिनीहरुले अरुणपूर्व नौ जिल्ला लिम्बुवान प्राप्त गर्ने आन्दोलनमा सबै प्रकारले सक्रियता देखाउँदै साथसहयोग गर्नेछन् भन्ने आशा पनि व्यक्त गरे ।

उक्त आमासभामा लिम्बुवानका विदेश सचिव विशेन्द्र चेम्जोङ, सनराइज साप्ताहिकका सम्पादक भुपेन्द्र चेम्जोङ, एनेकपा माओवादीका हङकङ सचिव पूर्ण लक्सम, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका जेबी ओख्राबो, बुद्धिजिवीहरु टेक चोङ्बाङ, उत्तरमान तिगेला, टंक सम्बाहाङ्फे, दिनेश सुब्बा, किसन राई, किरात धर्म तथा साहित्य उत्थान सँघ हङकङका सचिव इन्द्र लक्सम र लिम्बुवानी वरिष्ट गायक तथा बुद्धिजिवी लाजेसा याक्थुङ्बा ‘फेदापहाङ’ले पनि सम्बोधन गरेका थिए। बुद्धिजिवी तथा गायक लाजेसा याक्थुङ्बा ‘फेदापहाङ’ले उक्त आमसभालाई सम्बोधन गर्नेक्रममा सो कार्यक्रममा उपस्थितिको हिसाबले हङकङमा अहिलेसम्मकै व्यापक र भव्य रहेको बताए । साथै, उनले लिम्बुवानमा अहिले जतिसुकै लिम्बुवान नामधारी सङ्गठनहरु रहेपनि आखिरमा यही मञ्च सम्बद्ध लिम्बुवानको नेतृत्वमा एक हुँदै लिम्बुवानको बिँडो थाम्ने र लिम्बुवान प्राप्त गरेरै छोड्ने विश्वास पनि व्यक्त गरे ।

संघीय मञ्च सम्ब्द्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङका अध्यक्ष तथा लिम्बुवानका केन्द्रीय सदस्य नवराज काम्बाङको अध्यक्षतामा सम्पन्न उक्त लिम्बुवानी आमसभामा सल्लाहकार प्रदीप कन्दङ्वाले स्वागत मन्तव्य गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव श्याम इङ्नामद्वारा गरिएको थियो ।

– नवराज काम्बाङ, हङकङर डीबी आङ्बुङ लिम्बुवान, नेपाल