बढुवा र स्थायीको माग गर्दै आन्दोलनको चेतावनी

बढुवा र स्थायीको माग गर्दै आन्दोलनको चेतावनी


– श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले बढुवा र स्थायीको माग गर्दै आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । कर्मचारी संघको हालै बसेको केन्द्रीय समितिको बैैठकपश्चात राष्ट्रिय खेलकुद परिषदलाई ज्ञापनपत्रसहित संघले अन्तिम अल्टिमेटम बुझाएको छ । जसमा तीन दिनभित्र माग पुरा नभए परिषदमा कार्यरत स्थायी तथा अस्थायी र करारका कर्मचारीलाई आन्दोलनमा उतार्ने संघले धम्कीपूर्ण चेतावनी दिएको छ ।

खेलकुद परिषदमा कार्यरत कर्मचारीहरुको लामो समयदेखि बढुवा र स्थायी पदपूर्ति भएको छैन । एउटा कर्मचारी २२ बर्षसम्म एकै पदमा कार्यरत रहेको अवस्था छ । नियमबमोजिम नियमित बढुवा र स्थायी पदपूर्तिको लागि युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई जानकारी गराए पनि सम्बन्धित निकायले बेवास्ता गरेको कर्मचारी संघले परिषदमा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

संघले आफ्नो जायज माग पूरा गर्न निकै अनुनय–विनय गरेपनि त्यो उपलब्धिमुलक हुन नसकेको जनाएको छ । यतिबेला कर्मचारीमाथि निकै दबाव बढेको र मानसिक रुपमा समेत नकारात्मक प्रभाव परेका कारण संघले राखेपलाई अन्तिम अल्टिमेटम दिएको संघका अध्यक्ष रञ्जन थापाले हस्ताक्षर गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित निकायको गैरजिम्मेवारीले गर्दा कर्मचारी बृद्धि विकास नभएको, कर्मचारीको मनोबलमा ह्रास आएको र खेलकुद परिषद नै धराशयी बन्दै गएको कर्मचारी संघले जनाएको छ । यतिबेला मुलुक संघिय व्यवस्थामा गैरसकेको अवस्थामा कर्मचारीहरु समेत स्थानीय निकायमा जानुपर्ने बाध्यता उत्पन्न भैसक्दा पनि आफ्ना जायज मागहरूको सम्बोधन नहुँदा कर्मचारीको भविष्य समेत अनिश्चित र अन्योलमा परेको संघले उल्लेख गरेको छ ।

कर्मचारी संघले आफ्नो जायज माग पुरा नभए खेलकुदमा चरणबद्ध आन्दोलन गर्दै खेलकुदका हरेक गतिविधिलाई ठप्प पार्ने राखेपका सदस्य सचिव केशवकुमार विष्टलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरेको छ । उक्त ज्ञापनपत्र अन्तिम भएको वताउँदै त्यसमा पनि आलटाल गरे अधिराज्यभरिका खेलकुद कर्मचारी एकजुट भै जिल्ला, क्षेत्र र केन्द्रमा समेत खेलकुद प्रभावित हुने जनाएको छ । यसको लागि संघले देशभरका कर्मचारीलाई आन्दोलनमा उतार्ने तयारी गरेको समेत बुझिन आएको छ ।

कर्मचारी संघले परिषदलाई बुझाएको ज्ञापनपत्र सहितको अन्तिम अल्टिमेट भोलि पुष ८ गते शनिवार सम्मको समय–सीमा छ । यदि परिषदले कर्मचारी मागलाई सम्वोधन नगरे पुष ९ गते आइतबारदेखि खेलकुदमा कर्मचारीले आन्दोलन गर्ने पक्का भएको छ । कर्मचारी संघ गर्ने आन्दोलनको ‘किसिम’ कस्तो हुन्छ त्यसैमा कर्मचारीको माग टिकेको छ भन्दा फरक नपर्ला । धम्क्याउन र घुर्की लगाउन संघले यस्तो चेतावनी दिएको होकि साँच्चिकै कर्मचारीको हकहित र अधिकारका लागि लडेको हो, त्यो संघले आगामी दिनमा गर्ने आन्दोलनले प्रमाणित गर्नेछ ।

राष्ट्रिय खेलकुद परिषदमा १ हजार जना कर्मचारीको दरबन्दी रहेको छ । जसमा अहिले ७ सयको हाराहारीमा स्थायी र करिव ३ सय अस्थायी र ज्यालादारी कर्मचारी रहेका छन् । तिमध्य केहि समय पहिले राजनीतिक नियुक्ति पाएका अन्य १ सयभन्दा बढी करार र ज्यालादारी कर्मचारी छन् । यसरी परिषदमा अहिले ११ सयको हाराहारीमा कर्मचारी रहेपनि ति मध्य विगत १० बर्षदेखि २२ वर्षसम्म बढुवा नभएका स्थायी र अस्थायी कर्मचारीहरु छन । जस्को बढुवा र स्थायीको लागि कर्मचारी संघले विभिन्न समयमा माग गरेपनि अहिलेसम्म सुनुवाई भएको छैन ।

आगामी पुष ९ गते राष्ट्रिय खेलकुद परिषदले ‘राष्ट्रिय च्याम्पियनसिप’ प्रतियोगिताको राष्ट्रपति विद्या भण्डारीबाट उदघाटन गर्ने कार्यक्रम तय गरिसकेको छ । यस्तो अवस्थामा कर्मचारी संघले अन्तिम अल्टिमेटम दिँदै पुष ८ गतेदेखि आन्दोलनमा उत्रिने घोषणा गर्नु आफैमा रहस्यमय बनेको छ । कतै राष्ट्रिय च्याम्पियनलाई विथोल्न र चुनौति दिन कर्मचारी संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको त होइन ? प्रश्न तेर्सिएको छ ।