बेलायती नेपाली एक बर्गीकरण

बेलायती नेपाली एक बर्गीकरण


– भीम वानिया
लण्डन । बेलायतमा बसोबास गर्दै आएका नेपालीको बर्गीकरण गर्दा म मुख्य गरी तिन किसिमका नेपाली पाउँदछु । जसमा पहिलो १० वर्षभन्दाअगाडि उच्च शिक्षा हासिल गर्न आएका र उच्च शिक्षा प्राप्त गरेपछि अब केही कमाउँछु अनि बल्ल नेपाल फर्कन्छु भन्ने सोंच राख्दा पलायन भएका । दोश्रो नेपालमा अल्प शिक्षा लिई बेलायतमा जान मात्र पाएमा के के न गर्न सकिन्छ भनी पसेका र शरणार्थी प्रमाणित गराउँदा गराउँदै आठ दश वर्ष बितेर बल्ल खुल्ला भई पलायन भएका । तेश्रोमा भूतपूर्व गोर्खा सैनिक र यिनबाट जन्मेका वा सम्वन्ध कायम गरी हङकङ वा नेपालबाट आई छोरा छोरीका लागि मात्र आएको र यिनको व्यवस्था भएपछि फर्कन्छु भन्दाभन्दै पलायन हुन लागेका । यो बर्गीकरणसँगै यिनको समाजिक वा समाजमा यिनको उपस्थिति र बसोबासको र काम व्यवसायमा पनि उस्तै भिन्नता पाउन सकिन्छ ।

पहिलो वर्ग उच्च शिक्षा प्राप्त गरिसकी लामो समय बेलायतमा बसोबास र स्थाइ जागीर भएकोले गर्दा धेरै जसो लण्डन भित्रै बसोबास गर्दछन् । उनीहरु नया आगन्तुक र शरणार्थी प्रमाणित भई सकेकाहरुसँग त्यति नजिकन खोज्दैनन्, सायद शुरु-शुरुमा आएका समूहलाई सहयोग गरेर थाकेका होलान् । यस समूहका केही व्यक्ति जो पहिले निकै नाम कमाएको नेपाली सस्था यतीमा काम गरेका वा संगठित भएकाबाहेक अझै पनि यति ठूलो नेपाली समाजबाट अनभिज्ञ नै छन् र बदलिँदो नेपाली समाजमा उपस्थिति जनाउँदा सहयोगका नाममा दिनु मात्रै पर्ने फाइदा केही नदेख्नाले पर पर नै बस्न रुचाउँछन् । पहिला संघ सस्थामा लागेकामध्य केही मात्र नेपाली संघप्रति र केही जातीय संस्थातिर आशातीत भएका भेटिन्छ । यस समूहमा केही सानातिना व्यवसायमा सफल भएकाहरु र बेलायती हिसाबमा गतिलै आय हुनेहरु पाउन सकिन्छ ।

दोश्रो समूहमा जाने हो भने लामो समय सम्म शरणार्थी प्रमाणिकरण नहुँदा, आज फर्कन पर्ने हो कि भोलि भन्दा भन्दै समाजलाई भन्दा कामलाई बढी प्राथमिकता दिएका, आफ्नो नेपालमा आर्जन गरेको शिक्षा, जागीर, पद वा शीपलाई नै विसर्जन गरेका र जन्मने बित्तिकै छोडेर आएका छोराछोरी हुर्केर अरुले परिचय दिनु पर्ने अवस्था भई दशौ बर्ष बितेको पत्तो नै नपाएका र आज आएर शरणार्थी प्रमाणित भई बेलायती नागरिकता साथै समस्याको पोको समेत पाएका । बेलायती नागकिता पाउने नपाउने निधो नहुँदा पहिलाको कमाइ आज थाप्यो भोलि नेपाल पुगी खर्च भयो । अब परिवार ल्याउनु पर्ने, आवासको व्यवस्था, छोरा छोरीको शिक्षा, नेपालको घरव्यवहार, त्यो दुःख गरी कमाएर पठाएर जोडेको सम्पत्ति सबै लाखापाखा, अब परिवारै बेलायत जाने भए भन्ने थाहापाए पछि त्यहाँको समाजको गिध्दे दृष्टि, भर्खरै आएका परिवारले काम नपाउँदा र पाएर पनि गर्न नसक्दा आफूले नै सम्पूर्ण अभिभारा थाम्नु पर्ने स्थितिमा समाजको के कुरा । यो समूहका अधिकांश व्यक्तिहरु न्यूनतम् तलबभन्दा केही माथिको आय आर्जन हुने काममा व्यस्त छन् र बढीभन्दा बढी समय काममा खर्च गर्दछन् । जसले गर्दा नवागन्तुक परिवारलाई दिने समय नै हुँदैन र कुनै सरसल्लाह वा कतै बाहिर काम परेमा फोनमा निर्भर हुनु पर्दछ ।

तेश्रो समूह अलि ठूलो छ र यसलाई पनि तीन समूहमा बाँड्न सकिन्छ, पहिलो सन २००० तिर बेलायती सेनाबाट निवृत भई कुनै मेसो मिलाएर यतैतिर बसी नागरिकता पाएका, दोश्रो हङ्गकङ्गबाट सोंझै बेलायती नागरिकता हासिल गरी २००६ जुन-जुलाइ देखि आएका र तेश्रो नेपालबाट आवासीय भीसा प्राप्त गरी आएका ।

यसको पहिलो समूह अली टाठावाठा र सबै भूपू गोर्खा भएकाले कुनै न कुनै संगठनमा आवद्ध छन् र यसको नेतृत्व गर्दै सर्वसाधारण नेपालीभन्दा अलिकति वढी तलव आउने जागीरमा छन् । दोश्रो समूह हङ्गकङ्गबाट आएका अलि वढी रमझमको चाहाना राख्ने तर हातमा कुनै प्राविधिक प्रमाणपत्र नभएकाले बेलायतमा अलि असजिलो महशुस गरिरहेका छन् । यो समूह हङ्गकङ्गबाट अलि कमाइ गरी आएको हुँदा छिट्टै सवारी साधन र घर खरिद गरेको देख्दा अलि व्यवस्थित भएको पनि पाइन्छ । यो तिनवटा समूह मध्यको तेश्रो समूह नेपालको बर्गीकरण अनुसार धेरैजसो जनजातिमा पर्दछन् । भर्खरै नेपालबाट आएका, छिटो छरितो कागज पत्र नबन्ने, भाषाको कमी र सवारी साधन छिटो खरिद गर्न नसक्नाले यो समूहलाई अलि समस्या परेको महशुस हुन्छ । सामाजिक जमघट तथा संघसंस्था खोल्न र नेतृत्व तहमा यो समूह अगाडि आउँदछ ।

यसो हेर्दा नेपालको नागरिकता, सम्पति -(बेचेर कतिले त्यागेर), बाबु आमा, नातागोता सम्बन्ध सबै त्यागेर आएता पनि नेपालको राजनीति भने कुनै पनि नेपाली मुलका बेलायती नागरिकले त्याग्न भने सकेका छैनन्, यो अचम्म छ । बेलायती नागरिक भएको दशौं बर्ष भएर पनि अपवादका रुपमा काउन्सिलर श्री धन गुरुङ्ग र अरु एक दुइजनाबाहेक अरु कसैलाई यहाँको राजनीति, समाज, आफ्ना हक अधिकार र आफू बेलायती नागरिक भएपछिको कर्तव्य केही वास्ता छैन । केही बृध्दहरुले बृध्द भत्ता तथा बस पास आवासको सुविधावाहेक अरु केही उपलव्धि भएको छैन । आफ्ना बालबालिकालाई वेलायतको अति प्रतिस्पर्धात्मक शिक्षा, जागीर, खेलकुद, व्यापारप्रति कसरी ज्ञान हासिल गर्ने र स्थापित हुने भन्ने विषयमा भन्दा पनि नेपालमा गिरिजा, माधव नेपाल, प्रचण्ड, र अन्य जातजातिका नेताहरुको बुध्दी नपुगेर आज देशमा शान्ति भएन भन्नुतिर ध्यान केन्द्रित भएको पाइन्छ ।

केहीले आफूलाई समाजसेवीका रुपमा चिनाउन नेपालको कुनै क्षेत्रको विकासमा योगदान पुर्‍याएको पनि पाइन्छ । उदाहरणका लागी नेपालका गाउँ गाउँमा कम्प्युटर खरीद, बाटो बनाउने र पुस्तकालय खुलाउने लिन सकिन्छ । आफ्नो जन्मभूमिको सेवा गर्नु सबैको कर्तव्य हो । तर यहाँ आफ्नो छोरा छोरी कुन समाजतिर छन् र भोलि यिनका लागि के कस्ता पूर्वाधार श्रृजना गर्नु पर्ने हो आफूले नेपालमा आवश्यकता देखेको कम्प्युटर, पुस्तकालय, बाटोघाटो, खेल मैदान, भाषाको विकास, यहाँका हाम्रा दोश्रो पिढिँका सन्तानलाई दिन हामीले केही गरेका छौँ कि छैनौँ भन्ने सोंच्ने कोही छैन ।

राजनीतितर्फ हेरौँ भने अघि उल्लेख भएका अपवाद काउन्सिलरबाहेक सबै नेपालको राजनीतिमा मात्र चासो देखाउने र आफू यहाँ सुरक्षाकर्मी र अध्यक्ष हुन नपाएमा आफ्नो जातीय संस्थामा काम केही हुन नसकेको तर्क दिँदै ठीक्क छ ।

अन्तमा यसरी बेलायती समाजको वर्गीकरण गर्नुको मतलब हामी सबै नेपाली मात्र भन्न किन सकिरहेका छैनौं त भन्न खोजेको मात्र हो । हामी आफैमा मामाहरु र भान्जाहरु भनेर, ५/६ वटा समूहमा गोर्खा भनेर, पश्चिमेली र पूर्वेली, आफ्नै जातभित्र पनि सानो ठूलो, जिल्लाभित्र जातजाति भनेर किन टाढा हुँदै छौं भनेर बुझाउन मात्र हो । के हामी एक जुट भएर एक गोर्खा वा एक नेपाली भएमा के बेलायती राज्यले स्वीकार्दै न र ? आखिरमा त्यो भान्जा कुनै मामाको छोरा र त्यो मामा कुनै भान्जाको वावा होइन र ? सबै गोर्खाहरु नेपाली र नम्वरी होइनन् ? भान्जा भान्जी भनेका भूपू गोर्खाका सन्तान होइनन् र ?
यसरी मेरो छोटो बुध्दीले यो नेपाली समाज बेलायतलाई बुझेको कुरा मेरो युके डटकममार्फत प्रस्तुत गरे कसैलाई पीडा भया प्रतिक्रिया दिनु होला ।