हात्तीपीडितलाई आर्थिक सहयोग

हात्तीपीडितलाई आर्थिक सहयोग


शुक्लाफाँटा नगरपालिका क्षेत्रका १०९ हात्तीपीडितलाई नगरपालिका कार्यालयले रु दुई लाख १८ हजार राहत रकम प्रदान गरेको छ ।

हात्तीको बथानले घर भत्काई अन्नबाली खाएका तथा खेतमा रहेको अन्नबाली, उखुलगायत खाएर नोक्सानी गरेका परिवारलाई रु दुई हजारका दरले शुक्रबार नगद रकम उपलब्ध गराइएको हो । नगरपालिकाका वडा नं १, ३, ५, ६, ७ का पीडित परिवारलाई खाद्यबालीको बीउ खरिद गर्नका लागि रकम उपलब्ध गराइएको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

‘घरभित्र राखेको सबै अन्न हात्तीको बथानले खाएपछि खेतमा गहुँ, मसुर र मटरलगायतका बालीको बीउ खरिदका लागि पीडित परिवारलाई रकम उपलब्ध गराएका छौँ’, ऐरले भने । राससका अनुसार हात्ती पीडित परिवारलाई बीउ खरिदका लागि जिल्लामै पहिलो पटक नगरपालिकाले रकम उपलब्ध गराएको हो ।