रुपन्देहीको कालिका मावि शिक्षाको सिकाइकेन्द्र ठहर

रुपन्देहीको कालिका मावि शिक्षाको सिकाइकेन्द्र ठहर


शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव हरिप्रसाद लम्सालले केही वर्षअघिसम्म सामुदायिक विद्यालयको कुरा गर्दा मुख लुकाउनुपर्ने अवस्था रहेकोमा अहिले धेरै सामुदायिक विद्यालयहरू अब्बल ठहरिएको बताएका छन् । सामुदायिक विद्यालयतर्फ नेपाल–प्रथम हुन सफल रुपन्देहीस्थित कालिका माध्यमिक विद्यालयको ५७औं वार्षिकोत्सवको अबसरमा मन्तव्य दिँदै उनले गुणस्तरीय शिक्षा दिने सवालमा सामुदायिक विद्यालयहरू प्रतिष्प्रधात्मक ढंगले अघिबढेको उल्लेख गरे ।

कालिका मावि शिक्षाको सिकाइकेन्द्र बनिसकेकोले यसबाट निजि क्षेत्रले प्रत्यक्ष लाभ लिन सक्ने भन्दै उनले निजी क्षेत्रले विद्यालयसंग सहकार्य गरेर आफुलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादलमा सहयोग गरि लाभ लिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड बुटवलका प्रमुख टिकाराम अर्याल, रुपन्देहीका सहायक जिल्ला शिक्षा अधिकारी स्थानेश्वर घिमिरे, पत्रकार अर्जुन ज्ञवाली, छबी नेपाल, बुटवल उमनपा वार्ड नम्बर १० का वार्डअध्यक्ष पदमबहादुर थापा लगायतले सामुदायिक विद्यालयले समाजमा पुर्याएको योगदान र समुदायको अपेक्षाको बारेमा चर्चा गएका थिए ।

वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई फेलरहित र प्रविधिमुखी बनाउने तथा प्राविधिक सीपयुक्त र चरित्रवान विद्यालय बनाउने काममा विद्यालय अनवरत लागिरहने प्रतिबद्धता जनाए ।

कालिका माविको स्वर्णजयन्तिको अवसरमा स्थापित कालिका स्वर्ण महोत्सव शिक्षा पत्रकारिता पुरस्कार तेजेन्द्र केसी र चन्द्र बानियालाई प्रदान गरिएको बिद्यालयले जनाएको छ ।

समारोहमा विद्यालयमा दीर्घ सेवा गरेका शिक्षकहरु युवराज कंडेल, लोकराज घिमिरे र कमला शर्मालाई दीर्घसेवा सम्मान गरिएको थियो भने बोर्ड परीक्षामा उत्कृष्ट नतिजा दिलाउन सहयोग गर्ने शिक्षकहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

– चन्द्रकान्त खनाल