सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले आयोजना गर्दै आएको अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम ‘खप्तड गोल्ड कप’ फुटबल प्रतियोगितालाई चौधरी ग्रुपको नेपाल आइसले मुख्य प्रायोजन गर्ने भएको छ ।
आयोजक क्लबका अध्यक्ष सुरेश हमाल र चौधरी ग्रुपका सिनियर मार्के्टिङ म्यानेजर प्रदीप पुडासैनीले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रतियोगिता पुस २१ देखि माघ १ गतेसम्म धनगढीस्थित क्षेत्रीय रंगशालामा हुनेछ । प्रायोजनसंगै प्रतियोगिता ‘अन्तर्राट्रिय आमन्त्रण नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप’ को नाममा सञ्चालन हुनेछ । प्रतियोगिताको यो दोश्रो संस्करण हो ।
नकआउटको आधारमा संचालन हुने प्रतियोगितामा दुई विदेशीसहित १२ टिमको सहभागिता रहेनछ । जस्मा थ्रीस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, संकटा क्लब, च्यासल युथ क्लब, रमपम झापा–११, जगदम्वा लुम्वीनी र आयोजक सुदुरपश्चि–११ रहेका छन् । त्यस्तै भुटानको डुक स्टार र भारतको दिल्ली युनाइटेडले विदेशी टोलीको रुपमा सहभागिता दिनेछन् ।
प्रतियोगिताको पुरस्कार राशी पनि दोब्बर भन्दा बढीले बृद्धि गरिएको छ । यसपटक विजेताले ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ पाउनेछ । गत संस्करणको विजेता मनाङ मस्र्याङदीले ५ लाख रुपैयाँ पाएको थियो । उपविजेतालाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट खेलाडी मोटरसाइकलको हक्दार हुनेछ भने विधागत उत्कृष्टतर्फ गोलकिपर, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, उदीयमान खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले १० हजार रुपैयाँ पाउने छन् ।
प्रतिक्रिया