‘युवाको मुहार उज्यालो बनाउने’ प्रचण्डको प्रतिबद्धता

‘युवाको मुहार उज्यालो बनाउने’ प्रचण्डको प्रतिबद्धता


पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म देशको विकासका लागि विभिन्न लडाइँ गरेको र अबको जीवन देशका युवाहरूको मुहार उज्याले समर्पित गर्ने बताएका छन् ।

भैरहवामा जेसिजको ४४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्ने क्रममा प्रचण्डले स्वर्गीय छोरा प्रकाश दाहालको स्मरण गर्दै नेपालका सम्पूर्ण युवायुवती आफ्नै छोराछोरीसरह रहेको बताउँदै विदेशमा गएर पसिना बगाएका छोराछोरीलाई अबको दस वर्षभित्र स्वदेशमै रोजगारी दिने वातावरण मिलाउने प्रतिबद्धता जनाए ।

उनले भने– ‘संसारमै दुर्लव खानी नेपालमा रहेको र विकासको लागि प्रचारप्रसार मात्रै गरे पुग्ने भएकोले देशको विकासका लागि संघीयता, समानुपातिक रुपमा देशको विकास हुन्छ । नेपालको संविधान विश्वमै उत्कृष्ट छ, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन पनि सम्पन्न भइसक्यो, अब अग्नीपरीक्षा शुरु भएको छ, विश्वले नेपाललाई हेरिरहेको छ । देशका युवायुवतिलाई उद्यमशील बनाउँदै आर्थिक समृद्धि तर्फ लैजान्छौं ।’

लुम्बिनीलाई केन्द्रित गर्दै प्रचण्डले अशोक सम्राट पनि क्रान्तिका लिडर रहेको र पछि शान्तिको खोजीमा बुद्धका सन्देशहरु छर्दै हिँडेकोले अबको बाँकी जीवन देशमा शान्ति छर्न बिताउने जिकीर गरे ।

सोही अवसरमा स्वास्थ्य मन्त्री दीपक बोहोराले लामो समयदेखि मुलुक राजनैतिक अस्थिरताबाट गुज्रिरहेकोले विकास निर्माणका कामले गति लिन नसकेको बताउँदै अब मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गर्न लागेको बताए । ‘जेसिजको राष्ट्रिय महाधिवेशन विश्वको शान्तिक्षेत्र लुम्बिनी परिसरमा भएकोले जेसिज शिक्षाबाट राजनैतिक दलले पाठ सिक्दै व्यक्तिको होइन विधिको शासन गर्नु पर्छ’, मन्त्री बोहोराले भने ।

कर्यक्रममाच खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले देशमा विधिको शासन हुन नसक्दा समस्याको भूमरीमा फसेको बताउँदै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान विधिको शासन आवश्यक रहेको र १८ वर्ष देखि ४० वर्षसम्मका युवालाई सीपमुलक तालिम दिई स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्ने तर्क गरे ।

नेपाल जेसीजको ४४ औं महाधिवेसन पुस ८, ९ र १० सम्म भैरहवामा चल्ने आयोजक तथा कार्यक्रम निर्देशक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

– पुनहरि बेल्बासे