बेलायतमा पारम्परिक व्रतबन्ध

बेलायतमा पारम्परिक व्रतबन्ध


लण्डन । आधुनिक युग, खस्कँदो धार्मिक आस्था, बेलायती जीवनशैली, नेपालको गाउँबेसी, नदी-नाला, संस्कृति केही थाहा नपाएको, विदेशमा नै पढे बढेको नेपाली ठिटो, यो विदेशमा व्रतबन्ध या चूँडाक्रम कसरी सम्भव होला, त्यो पनि नेपालमै जस्तै गरी गर्ने र नेपाली परम्परा र संस्कृतिलाई वेलायतमा पनि स्थापित गर्नुपर्छ भन्ने मान्यता बोकेका उसका बावुआमाको चाहाना कसरी पूरा होला ? व्रतवन्धमा शिरमुण्डन वा पूरा कपाल खौरनु पर्नेमा अलिकति वाहना मात्रै गरे हुन्छ, पूरा खौरनु पर्दैन भनेर कतिपय युवाले कपाल खौरन नमानेर नाम मात्रको थोरै काट्ने जमाना, पहेँलो वस्त्र धोती, कानमा गोवरको गुइंठा, र शरीरमा राम-सीताको समयको धनुषवाण लिएर ४००, ५०० इष्टमित्र र पाहुनाहरुको माझमा ‘भीक्षादेयी माँ’ भन्दै हिँडेका यी युवाले आफ्नो धर्म परम्परा र मातापिताको इच्छालाई पूरा गरी वेलायतका नेपाली समाज र युवा माझमा एउटा नमुना प्रस्तुत गरिदिए ।
बेलायतमा हिन्दूधर्माबलम्वी नेपालीहरुको बसोबास वाक्लिँदै गएको छ । नेपालीहरुको आफ्नो भाषा, भुषा, धर्म र संस्कृति जोगाऊँ भन्ने नारावाट उनीहरु पनि अछुतो छैनन् तर हिन्दू परम्पराअनुसार गर्नु पर्ने कतिपय कार्य वेलायतमा गर्न असजिलो मात्र नभई गाह्रो नै छ, जस्तै न्वारण, विवाह र व्रतवन्ध, भन्नुको मतलव बेलायतमा नेपालीको वैदिक विधि अनुसार विवाह र व्रतवन्ध भएको नै छैन वा थिएन भन्न खोजिएको होइन, भएका छन् तर पूर्ण परम्परागत हुन सकेका छैनन् । जस्तो कि पञ्चै वाजा वजाएर विवाह, हिन्दू रिति अनुसारको गर्नै पर्ने कार्य मध्य व्रतवन्ध आदि । धेरैजसो बेलायतवासीले छोराको व्रतवन्ध वा चूँडाक्रम गर्नु परेमा नेपालमै गएर पूर्ण परम्पतागत र धुनधामले गर्ने गर्दछन् र फोटोहरु खिचेर वा भीडीयो बनाई यहाँ आफन्तजनलाई देखाउने गरिन्छ, केहीले भने वेलायतका मन्दिरमा गई सक्दो थोरै र नजिकका नातागोतालाई मात्र निम्ताएर र केहीले घरमा रित मात्र पुर्‍याएर गरेको पनि देखिन्छ । यस्तोमा सबैको उत्तर किन पूर्ण परम्परागत नगर्ने त भन्दा, रिति पूरा गर्न बेलायतको व्यस्त समय, आवश्यक सामाग्री र स्थानाभावले असम्भव भएर भन्ने पाइन्छ । खुशीको कुरा, जतिसुकै आधुनिक, पश्चिमा वा नास्तिक हुँ भने तापनि यी कार्यलाई त्याग्न भने कसैले सकेका छैनन् ।
यस्तैमा यस पटक अल्डरशटमा देखिएको व्रतबन्धमा भने हिन्दू प्रथा तथा नेपालमै भएको जस्तो र वैदिक विधिअनुसार चाहिने सबै कुरा जुटाइएको पाइयो । कतिपय सामान जुन बेलायतमा नपाइने हुँदा नेपालबाट इष्टमित्र र साथीभाइहरुले ल्याई जुटाइएका थिए, जस्तै वेलपत्र, वर पिपलका पात, पयुंको लट्ठी(यी सबै कुरा बेलायतमा उपलव्ध छैनन्) । अल्डरशटस्थित वाईवीसीको प्राङ्गगढमा गरिएको यो शुभ कार्यका दिन अक्षतृतीया तिथि परेको थियो, जुन व्रतवन्धका लागि अति शुभ दिन मानिन्छ । यज्ञ स्थलमा हवन कुण्ड बनाई जग्गेलाई शुध्द गर्न गाईको आला गोवरबाट पोतिएको र सजावटका लागि अति आवश्यक केराका बोट, परम्परागत चदुवा, तोरण, जलधारी, पंचपात्रो, दीया कलश, देखि यावत कुरा उपलव्ध गराइएको थियो । ब्रतवन्धको प्रमुख कार्य मध्यको भीक्षादान गर्न धेरै पाहुना इष्टमित्रहरु बिहानैदेखि भोकै वा निराहार बसेका थिए । बिहान ८ वजे शुरु भएको कार्यक्रममा सर्वप्रथम मामावाट शिर मुण्डन र दिदी बहिनीबाट कपाललाई जमीनमा खस्न नदिएर गरिएको थियो । पण्डित दधिराम काफ्ले र आचार्य श्रीनारायण पौडेलले एक जना सहयोगी लिई नान्नमुखी श्राध्द, ग्रहकाट्ने, रुद्री, व्रतवन्ध र सत्यनारायणको कथा सुनाउने समेत गराएका थिए । शाकाहारी भोजको व्यवस्था गरिएको यस कार्यक्रममा परम्परागत प्रसाद कसार र सेलरोटी पनि समावेश भएको देख्दा आगन्तुक सबै आश्चर्यमा परेका थिए, कसैले त कसार नेपालबाट मगाएको हो भनी प्रश्न गरेका थिए । अल्डरशट, मोर्डन, शटन र रेडिङ्गदेखि जम्मा भएका दिदी बहिनीहरुले पूर्ण रुपमा धार्मिक र परम्परागत तरिकाबाट बटारिएको यो कसार सकेसम्म सबै पाहुनाहरुलाई पुर्‍याउने कोशिस गरिएको थियो । कार्यलाई सफल बनाउन सबै इष्टमित्रहरु र छिमेकी स्वःस्फूर्त रुपमा लागेका थिए, कसैलाई केही भन्नै नपर्ने उत्साह देखिन्थ्यो । निम्तालुहरु पनि निकै चाख राख्दै गरे त वेलायतमा पनि हुनेरहेछ भन्दै थिए । यसरी एउटा रमाइलो र नेपाललाई सम्झना गराउने अविस्मरणीय बन्यो बेलायतमा ब्रतबन्ध ।-भीम, मेस