(कविता)मेरा अभागी सपनाहरु

(कविता)मेरा अभागी सपनाहरु


– बज्र कुमार राई,
एउटा घर थियो
आमाबाउ थिए
साखासन्तान थिए
माया,ममता,प्रेम्,स्नेह थियो
आदर, सत्कार थियो
जन्म र जातको संस्कार थियो
आस्था,बिश्वास र साथ थियो
त्यसैभित्र ‘म’ थिएँ-
एउटा भाग्यशाली मान्छे।

एउटा आफ्नै समाज थियो
एकढिक्का बल थियो
दुःखसुखमा शाहस थियो
सहानुभूति थियो
त्यसैभित्र ‘म’ थिएँ-
एउटा उत्साही मान्छे।

एउटा भावना थियो
बेदाग संबन्ध थियो
लाईमान-जमान थियो
त्यसैभित्र ‘म’ थिएँ-
एउटा नैतिक मान्छे।

एउटी प्रेमिका थिई
कल्पना-परिकल्पना थियो
जिउनुको स्वर्णिम संसार थियो
जीवनभरि साथ दिने आश्वशन थियो
उनीसँग सिउँदो थियो
मसँग सिंन्दुर थियो
त्यसैभित्र ‘म’ थिएँ-
एउटा सच्चा प्रेमी।

हे दैव !
आखिर किन !
मेरै भाग्यमा
क्रुर भएर
अन्यायी बज्र प्रहार ग-यौं नि !
दैव !
किन पाइनँ मैले
मेरो अधिकार !
मेरो पहिचान !
मेरो सपना !
र तिमीले लुटेको जम्मै
बाँच्नुको आधार।

आजकल
हरेक स्पन्दनमा
मेरो जीन्दगी
यिनै प्रश्न-प्रतिप्रश्नहरु बीचबाट
भूमरी उठ्छ हराउँछ
भूमरी उठ्छ हराउँछ
म के गरुँ ?
म कहाँ भेटूँ?
यी मेरा अभागी सपनाहरु
अभागी सपनाहरु।।।।