कुमार कान्छाको सहयोगार्थ संगीत यात्रा

कुमार कान्छाको सहयोगार्थ संगीत यात्रा


लण्डन । निकै अस्वस्थ अवस्थामा रहेका नेपालका चर्चित गायक कुमार कान्छाको उपचार सहयोगार्थ स्कटल्याण्डस्थित अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयर (ONCW)को संयोजकत्वमा स्कटल्याण्डको तीन शहरहरुमा सांगीतिक कार्यक्रम ‘संगीत यात्रा २०११’ हुने भएको समाचार उक्त संस्थाले जनाएको छ । ती कार्यक्रमहरुमा नेपालका लोकप्रिय कलाकारहरु विवेक श्रेष्ठ (कन्दरा), शर्मिला बर्देवा, नारायण धिताल र स्थानीय कलाकारहरुको सहभागिता रहने बताइएको छ । उक्त सांगीतिक कार्यक्रम जनवरी २२ मा एबरडिनमा, जनवरी २३ मा एडिनब्रामा र जनवरी २४ मा ग्ल्यासगोमा तय गरिएको छ । कार्यक्रमको लागि ती शहरहरुमा रहेका नेपाली संगठनहरुको सक्रिय सहभागिता रहेको छ ।
गायक कुमार कान्छाको स्वास्थ्य उपचार सहयोगार्थ एबरडिनमा नेप्लिज हिमालयन एशोसियसन स्कटल्याण्डका अध्यक्ष टक थापा, एडिनब्रामा नेपाल स्कटल्याण्ड एशोसियसन एडिनब्राका अध्यक्ष किशोर डंगोल र ग्ल्यासगोमा ग्ल्यासगो नेपाली एशोसियसनका अध्यक्ष मोहन कार्कीको संयोजकत्वमा आयोजक समिति सक्रिय रुपमा लागीपरेको छ ।
कार्यक्रमबाट संकलित रकम आगामी जनवरी २६ मा काठमाडौंमा एक कार्यक्रमबीच एनआरएन यूकेका सल्लाहकार डा. पदम सिंखडाले आयोजक समितिको तर्फबाट हस्तान्तरण गर्नेछन् ।-मेरो सम्वाददाता