प्रचण्डले गरे जेसिसका युवाको प्रशंसा

प्रचण्डले गरे जेसिसका युवाको प्रशंसा


गौतमबुद्धको जन्मस्थल लुम्बिनी रुपन्देहीमा हुनु नै यहाँको विकासको सूत्र भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । लुम्बिनी र रुपन्देहीको विकासलाई सँगसँगै अगाडि बढाउन सके मात्रै आर्थिक समृद्धिको सपना पूरा हुने उनले बताए ।

शनिबार रुपन्देहीको भैरहवामा नेपाल जेसीजको ४४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजनीतिक घटना क्रममा कोही सानो र कोही ठूलो दल भए पनि लोकतन्त्रको सुदृढीकरण, विकास र समृद्धिका निम्ति सबै मिल्नुको विकल्प नभएको बताए ।

सबै राजनीतिक दल मिलेर मुलुकको विकास गर्नुको विकल्प नभएको उल्लेख गर्दै मुलुकमा स्थायित्व प्राप्त गर्न लामो संघर्ष र बलिदानी गर्नुपरेको बताउँदै त्यसबाट नै नेपाल र नेपालीलाई उज्योलो दिनुपर्छ भन्नेमा आफ्नो ध्यान केन्द्रित रहेको धारणा ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचन्डले निर्वाचनकै मुखमा आफूले छोरा प्रकाशलाई गुमाउँदा पार्टी र आफ्नो परिवारमा ठूलो क्षति भएको बताउँदै मुलुकमा रहेका सबै युवायुवतीलाई आफूले प्रकाशका रुपमा हेरेको बताए ।

अध्यक्ष प्रचण्डले जेसीजमा लागेका युवाहरू अनुशासित, लगनशील, जुझारु र क्षमतावान हुने बताउँदै प्रचण्डले देश विकास र आर्थिक समृद्धिमा लाग्न जेसीज युवाहरुलाई आह्वान गरे । स्वदेशमा रोजगारीको अवसर नपाउँदा सयौं युवाहरु विदेश पलायन हुने समस्या जगजाहेर रहेको औल्याउँदै अब स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने उल्लेख गरे ।

– चन्द्रकान्त खनाल