नेपाल प्रहरीले समाचारको विषयलाई लिएर पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकलाई पत्र काटेकामा प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ । ललितपुर–१ बाट नवनिर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालविरुद्धको मुद्दा छानविन गर्ने नाममा प्रहरीले सञ्चारमाध्यमलाई पत्र काटेपछि चौतारीले आपत्ति जनाएको हो ।
प्रेस चौतारीका महासचिव राजेश राईले काट्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप भएको भन्दै एक विज्ञप्तिमार्फत् असन्तुष्टि जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र लेखिनु र पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप मात्रै नभई यो राज्य आतंकसमेत हो, प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संवैधानिक र कानूनी व्यवस्थाको समेत धज्जी उडाएको छ ।’
महानगरीय प्रहरी परिसर काठमाडौँले काठमाडौँपाटी डटकमका रोशन खड्का, मूलधारन्यूज डटकमका रवि धामी, सुशासन डटकमका मदनबाबु भण्डारी, शुभदिन डटकमका खिलानाथ ढकाल र जनप्रहार साप्ताहिक/अपराध खबर डटकमका रोशन पाण्डेलाई सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै पत्राचार गरेको बताइएको छ । पाँचै पत्रकारको पछिल्लो एक वर्षको ‘कल डिटेल’ लिन निर्देशन दिइएको जनाइएको छ ।
प्रतिक्रिया