प्रत्येकदिन चारलाख पाउण्ड बराबरको चोरी

प्रत्येकदिन चारलाख पाउण्ड बराबरको चोरी


लण्डन । नयाँ अनुसन्धानले बेलायतमा प्रत्येकदिन चारलाख पाउण्ड रकम बराबरको समानहरु पसलबाट चोरहरुले (शप लिफ्टरहरु)चोरेर लैजाने गर्छन् भन्ने कुरा प्रष्ट्याएको छ । ब्रिटिश, रिटैल ब्यापारी संगठनले प्रत्येकदिन बेलायतभरि औसत तीन लाख पचहत्तरहजार तीनसय बयालिस पाउण्ड रकम बराबरको टीभी, कम्प्युटर, पर्फ्युम र लत्ताकपडाहरु विभिन्न पसल तथा सुपर मार्केटहरुबाट चोरी हुने कुरा बताएको छ । बेलायतका हाइस्ट्रिटका बजारहरुबाट वाषिर्क चोरीको दर ९९ मिलियन बाट हृवात्तै १३७ मिलियन बढेकाले रिटैल व्यापारीहरुले कुनै संगठित अपराधिक समूहको हात हुन सक्ने आशंका गरेका छन् । अनुसन्धानकर्ताहरुले एकपल्टको चोरीमा चोरिने समानको मुल्यको पनि औसत रकम ४५ पाउण्डबाट ७० पाउण्डको बृद्धि भएको जानकारी दिएका छन् । तर, समानको सुरक्षा र कर्मचारीहरुको राम्रो देखरेख हुनथालेपछि चोरीको घट्ना १० दशमलव ६ प्रतिशतको हिसाबमा गिरावट आएको देखिएको छ अर्थात २१० मिलियन पाउण्ड रकम बराबरको समानहरु सुरक्षित राख्न सफल भएको बताएका छन् । स्टेफेन रोबर्टसन्, बीआरसीका प्रवक्ताका अनुसार …. यो सूचना प्रेरणादायी तथा सकारात्मक भएतापनि चोरी गर्ने अपराध भने बढ्दै गइरहेका छन्… भनेर उद्धृत गरेका छन् । रिटैल ब्यापारीहरुले चोरीको अपराधलाई रोक्नका लागि र समान सुरक्षित गर्नलाई थप पैसा लगानी गर्न थालेपछि अवसरको ताकमा रहेर प्रत्येक चोरीमा बहुमूल्य वस्तुहरु चोरी गर्ने संगठित समूहलाई निरुत्साहित गरेका छन् । बेलायतको ५४ वटा रिटैल बिक्रेताहरु जसले सम्पूर्ण बेलायतको आधाभन्दा बढी बजार ओगट्दछ र १३ लाख कर्मचारीहरुलाई काम दिएका छन्, त्यहाँ काम गर्ने १८ हजार कर्मचारीहरु सन् २००९ – २०१० सालमा चोरी गर्नेहरुबाट आक्रमण अथवा गालीगलौचबाट पिडित भएको सर्वेक्षणले जनाएको छ । रोबर्टसन्ले सरकार, प्रहरी तथा अदालतलाई चोरी गर्ने अपराधीहरुलाई कडाभन्दा कडा कारवाही गर्ने कदम चाल्नको लागि अनुरोध गरेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।