सिटीसफारीमा रोक लागेपछि इ-रिक्सावाल आन्दोलित

सिटीसफारीमा रोक लागेपछि इ-रिक्सावाल आन्दोलित


झापा । सरकारले मुख्य राजमार्गमा सिटीसफारी चलाउन रोक लगाएपछि इ–रिक्सावाल अर्थात् सिटी चालकहरू आन्दोलित भएका छन् ।

सिटीसफारीका कारण दुर्घटनाको जोखिम बढेको भन्दै सरकारले मुख्य राजमार्गमा सिटी सञ्चालन गर्न नदिने निर्णय गरेसँगै सिटी चालकहरु आन्दोलित भएका हुन् ।

सिटी चालकहरुले आइतबार विर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेचीको कार्यालय घेराउ समेत गरेका छन् । विर्तामोडस्थित अंधुवा खोला पश्चिममा सामुहिक रुपमा भेला भएका सिटी चालकहरु यातायात कार्यालय पुगेर घेराउ गरेका हुन् ।

सरकारले गरेको निर्णयले आफूहरुको रोजीरोटी गुम्ने भन्दै चालकहरु आन्दोलनमा उत्रिएको बताइएको छ । सिटी सञ्चालनका लागि भित्रिबाटो खुल्ला भएपनि उनीहरुले मुख्य राजमार्ग मै कुदाउन पाउनुपर्ने जबरजस्ती माग गर्दै आएका छन् ।

यसअघि जिल्ला ट्राफिक कार्यालय झापाले विर्तामोडको मुक्तिचोकलाई केन्द्रविन्दु मानेर त्यस वरिपरि लगभग एकसय मिटरको दुरीमा सिटी सञ्चालनमा रोक लगाउने निर्णय गरी कार्यान्वयनमा ल्याउने प्रयास गरेको थियो । झण्डै एकवर्ष अगाडि पूर्वमा कृषिथोक बजार जानेबाट उत्तर दक्षिण, पश्चिममा अंधुवा खोला पारी, दक्षिणमा अन्नपूर्ण हल जानेबाटो, तथा शनिश्चरेरोडतर्फ ट्याक्सी स्टेनसम्म सिटी सञ्चालन रोक लगाउने प्रयास गरिएको थियो ।

तर, त्यसविरुद्ध सिटी चालकले आन्दोलन गरेका कारण कार्यान्वयनमा आउन सकेको थिएन । सिटी सवारीका कारण राजमार्गमा दुर्घटना बढेको भन्दै यसअघि सुनसरी र मोरङमा पनि मुख्य राजमार्गमा सिटी सञ्चालनमा रोक लगाइएको छ। राजमार्गमा कुदाउन रोक लगाएपछि बिर्तामोडका चालकले रोजीरोटी गुम्ने भन्दै गुनासो गरेका छन् ।

– रेजिना गौतम