स्व. कुमार कान्छाको परिवारलाई सहयोग गरिने

स्व. कुमार कान्छाको परिवारलाई सहयोग गरिने


स्कटल्याण्ड । लामो समयदेखि अस्वस्थ रही सोमबार स्वर्गारोहण भएका लोकप्रिय गायक कुमार कान्छाको परिवारको सहयोगार्थ स्कटल्याण्डका तीन शहरहरुमा ‘संगीत यात्रा २०११’ हुने भएको छ । स्कटल्याण्डस्थित अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयरको संयोजकत्वमा हुने कार्यक्रममा नेपालका लोकप्रिय कलाकारहरु विवेक श्रेष्ठ (कन्दरा), शर्मिला बर्देवा, नारायण धिताल र स्थानीय कलाकारहरुको सहभागिता रहनेछ । यसअघि स्व. कुमार कान्छाको उपचार सहयोगार्थ कार्यक्रम तय भएकोमा उनको दुखद निधन भएपछि परिवारको आग्रहमा उनको स्मृतिमा कार्यक्रम गरिन लागेको आयोजक समितिका सल्लाहकार नारायण पहारी (जोनी)ले जानकारी दिएका छन् ।

उक्त सांगीतिक कार्यक्रम जनवरी २२ मा एबरडिनमा, जनवरी २३ मा एडिनब्रामा र जनवरी २४ मा ग्ल्यासगोमा तय गरिएको छ । कार्यक्रमको लागि एबरडिनमा नेप्लिज हिमालयन एशोसियसन स्कटल्याण्डका अध्यक्ष टंक थापा, एडिनब्रामा नेपाल स्कटल्याण्ड एशोसियसन एडिनब्राका अध्यक्ष किशोर डंगोल र ग्ल्यासगोमा ग्ल्यासगो नेपाली एशोसियसनका अध्यक्ष मोहन कार्कीको संयोजकत्वमा आयोजक समिति सक्रियरुपमा लागीपरेको छ । कार्यक्रमबाट संकलित रकम आगामी जनवरी २६ मा काठमाडौंमा एक कार्यक्रमबीच एनआरएन युकेका सल्लाहकार डा. पदम सिंखडाले आयोजक समितिको तर्फबाट हस्तान्तरण गर्नेछन् ।
मेस, स्कटल्याण्ड