पुस १३ देखि जुत्ता चप्पल मेला

पुस १३ देखि जुत्ता चप्पल मेला


फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन नेपालले पुस १३ देखि जुत्ता चप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी तथा बिक्री गर्ने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष रवीनकुमार श्रेष्ठले नेपालमा जुत्ता चप्पलको खपत निक्कै बढेको बताउँदै विदेशी जुत्ता चप्पलको निर्वाध प्रवेशले नेपाली जुत्ता उद्योगमा प्रभाव परेको उल्लेख गरे ।

प्रदर्शनी व्यवस्थापन मूल समितिका संयोजक नानिराज घिमिरेले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका २२९, घरेलु तथा साना उद्योग विभाग र समितिअन्तर्गत दर्ता भएका ९३२ तथा अन्य साना उद्योग गरी कूल १५०१ जुत्ता उद्योग नेपालमा सञ्चालित भएको बताए ।

उनले यी उद्योगमा ५० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको, जसमा १६ हजार महिला संलग्न भएको बताए । घिमिरेले नेपाली जुत्ता उद्योगको क्षमता ११ करोड १९ लाख ७१ हजार जोर जुत्ता उत्पादन गर्ने भएपनि हाल वार्षिक चार करोड ३९ लाख ५८ हजार जोर जुत्ता उत्पादन हुने गरिएको जानकारी दिए ।

आव ०७२-२०७३ मा नेपाली बजारमा सात करोड ६२ लाख ४४ हजार जोर जुत्ता खपत भएको तथा नेपालमै उत्पादित जुत्ता चप्पल भने तीन करोड ६२ लाख जोर खपत भएको तथ्यांक प्रस्तुत गरियो ।

राससका अनुसार पुस १८ गतेसम्म सञ्चालन हुने मेलामा नेपालमा उत्पादित जुत्ता चप्पलको १३५ वटा कक्ष राखिने बताइएको छ ।