घर नभएकाहरु फोहोर मैलाको बिस्तरामा

घर नभएकाहरु फोहोर मैलाको बिस्तरामा


लण्डन । पछिल्लो २ महिनादेखि तीनजनाको बुवा पिर्थी सन्धु साउथहलको हेभलोक एस्टेटमा रातिको दश बजेदेखि कष्टमय रात बिताउँदै सुत्दै आएका छन् । उनी पर्खालको एउटा दुलोबाट चढेर तल “कृपया तपाईको मैला यस दुलोबाट फाल्नुहोस्” भन्ने अक्षरहरु लेखिएको मैला फाल्ने दुलोको बाटो हुँदै विशाल फोहोरमैलाले भरिएको ढ्वाङमा चिप्लिँदै खस्न पुग्छन् अनि आफूलाई फोहोरमैलाबाट पन्छाउँदै ढ्वाङबाट उक्लन्छन् । त्यसपछि आफूले एउटा कुनामा लुकाएर राखेको स्लिपिङ ब्याग निकालेर कंक्रिटको भुँइमा फोहोरमैलाहरु भएको ढ्वाङहरुको बीचमा विस्तरा लगाउँछन् र अत्यन्तै गन्हाउने दुर्गन्धको बीचमा केही घण्टा सुत्ने समय निकाल्छन् । ३९ वर्षीय सन्धुलाई पछ्याउँदै फेरि अर्को एकजना साथी, २३ वर्षीय गुरप्रित सिंहले एकछिन पछि पहिल्याउँदै त्यहाँ सुत्न आइपुग्छन् । उनी पनि केही समय अघिदेखि काम नभएर बेकार बस्दै आएका छन् । सन्धुको जस्तै उनको पनि घर छैन, त्यसकारण उनी सन्धुछेउमा राति खसरखुसुर गर्दै आफ्नो स्लिपिङ ब्याग निकालेर सुत्छन् । मध्यरातसम्म थप दशजना घरवारविहीन युवाहरु, सात जना शिख समुदायका, २ जना मुसलमानहरु र एकजना गोरा आएर सँगै सुत्छन् ।
सन्धुले इभिनिङ स्ट्याण्डर्डका समाचारदातालाई …हामी राति सुतिरहेको बेलामा कैयौ मुसाहरु हामीमाथि दगुर्छन् र कहिलेकाहिँ फ्याउराहरु पनि मैला फाल्ने ढ्वाङभित्र उफ्रेर पस्छन् अनि हामीले रातभरि ती फ्याउराहरुलाई खेद्नुपर्छ …भनेका थिए । साधारण लेबर काम गर्ने सन्धु १६ वर्षपहिले लण्डनमा कामको सिलसिलामा आएका थिए । “कठ्याङ्ग्रिने बेलायतको जाडोमा शीत र भिज्नबाट बच्नको लागि छाना चाहिएकोले राति सुत्नकालागि यो दुर्गन्धित ठाउँमा वास बस्न बाध्य भएको तर बिहान ६ बजे नै केयर टेकर आएर हामीलाई यहाँबाट पनि धपाउँछन्” भनेर सन्धुले समाचारदातालाई दुखेसो पोखेका थिए ।
स्थानीय वासिन्दाहरुले उनीहरुलाई “The Bin Men of Southhall” अर्थात् साउथहलका मैला फाल्ने ढ्वाङवाला मान्छेहरु भनेर चिन्दछन् । २१ हेक्टर क्षेत्र भएको हेभलोक एस्टेटमा यस्ता पचासजना जति विनम्यानहरु आधा दर्जनजति फोहोरमैला फाल्ने ढ्वाङहरुको बीचमा विस्तरा बनाएर सुत्ने कुरा जानकारीमा आएको छ । दिनमा छेऊको गुरुद्वाराबाट यिनीहरुले दिनको तीनपटक निःशुल्क खाना पाउँछन् । यस्तै घरवारविहीन मान्छेहरु एम४को हेस्टन ब्रिजमुनि, साउथहल र हान्स्लोको बीचमा पनि सयौंको संख्यामा कष्टमयी रातहरु बिताउन बाध्य भएका कुरा प्रकाशमा आएको छ । सन् २०११ को समयमा आएर यूकेजस्तो विकशित राष्ट्रमा मान्छेहरु यसरी घरवारविहीन भएर कष्टमयी रातहरु बिताउनु पर्ने अवस्था देख्दा ताज्जुब लाग्दछ । घर नभएका व्यक्तिहरु, यसरी रात बिताउनेहरुको सर्वेक्षण इभिनिङ स्ट्यार्ण्र्डड खबर पत्रिकाले गर्दा संख्यात्मक बृद्धि भइरहेको तथ्या प्राप्त गरेको छ । सन् २००७/०८मा घरवार नभएका मानिसहरुको संख्या ३०१७ थिए भने यो संख्या सन् २००९/१० बढेर ३६७३ पुगेको जानकारी प्राप्त भएको छ । साउथहललाई मिनी इण्डियाको नामले चिनिन्छ । ७० हजार मानिसहरु बसोबास गर्ने साउथहलमा दुई तिहाइ मान्छेहरु एसियन मूलका छन् । यहाँ शिखसमुदायको ठुलो संख्या छ । सन् १९८१ देखि अहिलेसम्मको सर्वाधिक जाडो भएको गत डिसेम्बर महिनामा जाडोको कारणबाट तीनजना मरिसकेका छन् । इभिनिङ स्ट्याण्डर्डले आफ्नो डिस्पोजेस्ड फण्डबाट केही महिना अघि शिख वेल्फेयर अवारनेस टीमलाई २००० पाउण्डको रकम च्यारिटीअनुरुप प्रदान गरेको थियो जसबाट यस्ता विस्थापित भएका मानिसहरुलाई स्लिपिङ ब्याग र न्यानो ज्याकेटहरु किनेर दिएको थियो । त्यस संस्थाले सयजना जतिलाई ती समानहरु वितरण गरेको थियो । यस्ता कष्टमयी जीवन बिताइरहेका मानिसहरुतर्फ स्थानीय राजनीतिज्ञहरुको ध्यान आकर्षित नभएको जनगुनासोहरु प्राप्त भएको छ । श्रोत – इभिनिङ स्ट्याण्डर्ड, सुमल, मेस ।