जाडो बढेसँगै न्यानो कपडाको व्यापारमा भारी बृद्धि

जाडो बढेसँगै न्यानो कपडाको व्यापारमा भारी बृद्धि


–छविलाल बगाले
मौषम परिवर्तनसँगै न्यानो कपडाको माग बढेको छ । चिसोका कारण सर्वसाधारणको ध्यान न्याना कम्बल तथा सिरकतर्फ आर्क्षित भएको छ । हिजोआज बजारमा तिनै न्याना सामाग्री खरिदका लागि उपभोक्ताहरु भिड नै लाग्ने गरेको छ ।

राजधानीको महाबौद्धस्थित जय भिमसेन एस ट्रेडर्सका सञ्चालक सुरेशलाल श्रेष्ठलाई यतिबेला चिसो मौषमसँगै न्याना सिरक तथा कम्बलको ब्यापारमा फुर्सद नै छैन् । उनि बजारमा आएका नयाँ नयाँ ब्राण्डका गुणस्तरिय सिरक अनि कम्बलहरु ल्याएर ग्राहकको मन बुझाइरहेका छन् । विगतका बर्षहरु झै यसबर्ष पनि न्याना सिरक कम्वलको ब्यापार राम्रो भएको श्रेष्ठको भनाई छ ।

राजधानी लगायतका प्रमु्ख शहरमा यतिबेला जाडोसँगै न्याना कम्बल अनि सिरक किन्नेहरुको निकै भिड लाग्ने गरेको छ । बजारमा आएका नयाँ नयाँ अनि आकर्षक कम्बल र सिरकले उपभोक्ताका मन समेत तान्ने गरेको छ । सडकमा राखिएका कपडा पसलदेखि ठूलाठूला लत्ताकपडा पसलमा सजाएर राखिएका आकर्षक खालका कम्बलका मूल्यमा अघिल्लो बर्षको तुलानामा केही बृद्धि भएको ब्यापारीहरु बताउँछन् । मूल्यमा बृद्धि भएपनि ब्यापारमा भने गिरावट नआएको उनिहरुको भनाई छ ।

बिशेषगरी चीनबाट आउने सिरक तथा कम्बलको ब्यापार नेपाली बजारमा निकै आक्रामक रुपमा अघि बढेको ब्यापारीको भनाई छ । जाडो समयमा घरमा ब्यक्तिगत प्रयोगदेखि आफन्तलाई कोशेलीका रुपमा दिनका लागि उपभोक्ताहरुले नयाँ ब्राण्डका कम्बल तथ सिरकहरु किन्ने गरेका छन् । फाइबरका सिरक र कम्बल निकै हलुका र न्याना भएकोले सबैको रोजाईमा पर्ने गरेको एक उपभोक्ता बताउँछन् ।

नेपालमा जाडो र गर्मी दुबै मौषममा कम्बल र हलुका सिरकको माग बढेपछि चिनियाँ ब्यापारीहरु आफैं होलसेल पसल खोलेर सामान बिक्रि गर्न थालेका छन् । उनिहरुले आफैं सामान ल्याएर सस्तो मूल्यमा बिक्रि गर्दा नेपाली ब्यापारीहरु विस्थापित हुने अवस्थामा पुगेको ब्यापारीको गुनासो छ ।

नेपालमा आउने सिरक, कम्बल तथा अन्य न्याना कपडाहरु अधिकांश चीनबाट नै आउने गर्दछ । ब्यापारीहरुका अनुसार बार्षिक रुपमा ५० करोड बढिका न्याना कपडाहरु आयात हुँदै आएका छन् । आधुनिक बजारमा कतिपय उपभोक्ताहरुले अनलाइनबाट नै आफुले रोजेको न्यानो कपडा किन्ने चलन शुरु भएकोले परम्परागत ब्यापारीहरु मर्कामा परेका छन् ।