महेन्द्र र विश्वेश्वरको झगडा

महेन्द्र र विश्वेश्वरको झगडा


पारस र रुवेलसम्म-वीरेन्द्रमणि पौडेल
चितवनको टाइगरटप्समा मङ्सिर २५ गते राति पूर्वयुवराज पारसले रिस थाम्न नसकेर आकाशमा गोली चलाए । मानिस जमिनमा बस्ने प्राणी भएकाले कसैलाई पारसको गोलीले छोएन । अगाडि, पछाडि, दायाँ, बायाँ सबै कोणबाट हेर्दा र बुझ्दा थाहा भयो- शक्ति, धन र चलखेलका हिसाबले झन्डै-झन्डै ‘श्री ५ बडामहारानी’ भन्न सुहाउने सुजाता कोइरालाका एकमात्र ‘विशेष ज्वाइँ’ रुवेल चौधरीको तीखो वचन र भद्दा व्यवहार पचाउन नसकेर पारसले गोली पड्काएका रहेछन् । घटनाका बखत वरिपरि रहेका सुरक्षाकर्मी र होटलका कर्मचारीहरूको भनाइअनुसार पारसले कुनै पनि व्यक्तिलाई लक्षित गरी गोली चलाएका थिएनन् । ‘बडामहारानी’ सुजाताका ज्वाइँ रुवेल -जसको हैसियत वर्तमान नेपालमा सुजाताका कारण कम्तीमा ‘श्री ४’ जत्तिको देखियो) ले पारसलाई तथानाम मुख चलाए । राजतन्त्र फ्याँकिएर श्री ५ बाट करिब-करिब श्री २ को हैसियतमा झरिसकेका पारसले रक्सीको सुरमा आफूलाई पुरानै श्री ५ युवराज ठाने र रिस थाम्न नसक्दा हवाईफायर गरे । हल्लीखल्ली मच्चियो । सकेसम्म गोलीकाण्डलाई सामसुम पार्ने प्रयास गरियो । गोलीकाण्डलाई सामसुम पार्ने प्रयास एकहदसम्म सफल भइसकेको थियो तर नेपाली राजनीतिमा लामो समय पसिना बगाएका स्वर्गीय गिरिजाप्रसादको ब्याज खाने अधिकारप्राप्त सुजातालाई उनकी छोरी मेलानी जोष्टले पारसले आफ्ना श्रीमान् रुवेललाई लक्षित गरी गोली पड्काएको खबर दिइन् । परराष्ट्रमन्त्रीसमेत रहेकी सुजाता रिसले आगो भइन् । विदेशबाटै प्रधानमन्त्री माधव नेपाल, नेपाली काङ्ग्रेसका सभापति एवम् काकाश्री सुशील कोइराला, नेता रामचन्द्र पौडेल, गृहमन्त्री भीम रावल र प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई पारसलाई कारबाही गर्न अह्राइन् । सुजाताले पारसलाई कारबाही गर्न देशका बडेबडे हस्तीहरूलाई अह्राएपछि बल्ल सामसुम पार्न लागिएको काण्ड बाहिर आयो । आफूमाथि रुवेलको नामबाट सुजाता हावी हुन लागेको थाहा पाएर आफ्नो बचाउमा पारसले तुरुन्तै आफू र आफ्नो देशप्रति सहनै नसक्ने खालको शब्द प्रयोग गरेको हुँदा आफूले रिस थाम्न नसकेर एकपटक हवाईफायर गरेको भनी विज्ञप्ती जारी गरे । पारसको अनुमान ठीक सावित भयो । महारानी सुजाता पारसमाथि हावी भइन् । पारसलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएर जेलको हावा खुवाउन चाहने महारानी सुजाता पक्ष र पारसलाई जेल जानबाट रोक्न चाहनेबीच एकप्रकारको अदृश्य सङ्घर्ष भयो । सङ्घर्षमा पारस पक्ष हावी भयो र तुरुन्तै ज्यान मार्ने उद्योग भनिएको मुद्दालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइयो । चितवनका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले ‘सरकारी नुनको सोझो’ गर्दै तीनदिने म्याद थप गरी दस हजार धरौटी लिएर पारसलाई अर्कोपटक हाजिर हुने र्सतमा रिहा गरिदिए ।
पारससँगै गोलीकाण्डमा जोडिएर नयाँ युवराज देखापरे- रुवेल चौधरी र सञ्चारक्षेत्रको खोजीको विषय बने । पत्ता लाग्यो- रुवेल चौधरी तिनै व्यक्ति हुन् जो सुडानका लागि शान्ति मिसनअन्तर्गतका नेपाल प्रहरीका लागि आवश्यक सामान खरिदमा पर्दा पछाडि बसेर भ्रष्टाचार गरेका छन् र अरू खालको गैरकानुनी काममा पनि संलग्न भएका छन् । कुनै बेलाका नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलाको आशीर्वादका कारण कानुनको पञ्जाबाट बाहिर उम्कन सफल भएका थिए र यतिबेला ‘सासू महारानी’ सुजाताको शक्तिको आडमा कानुनी कारबाहीबाट बचिरहेका छन् । विदेशी नागरिक रुवेल चौधरी नेपालमा लगातार चार वर्षदेखि किन बसिरहेका छन् – उनी के काम गर्छन् – नेपाल बसाइका लागि उनीसँग अनुमति छ वा छैन – अब प्रश्नै-प्रश्न र शङ्कै-शङ्काको घेराभित्र रुवेल छन् भने उनलाई जुनसुकै खालको बाध्यताका कारण किन नहोस् संरक्षण गरिरहेकाहरूसमेतले नेपाली जनतालाई जानकारी र स्पष्टीकरण दिनैपर्छ । लहरो तान्दा पहरो थर्किन्छ भनेझैं रुवेल र पारस गोलीकाण्डले जिन्दगीभरि निष्ठाको राजनीति अँगालेका सुशील कोइरालालाई नातिनीज्वाइँ रुवेलको धन्धाबारे जानकारी पाउँदा कति मन रोयो होला – बीपीपुत्र शशांक, अर्का नातेदार शेखर कोइराला मात्रै होइन सुजाताकै कारण निष्ठाको राजनीति अँगाल्ने अरू काङ्ग्रेसीजनलाई पनि तीतो अनुभव पक्कै भएको हुनुपर्छ ।
पारस-रुवेल गोलीकाण्ड यतिबेला सेलाउँदै गएको छ तर मुलुकमा कानुनी शासनको आवश्यकता महसुस गर्नेहरूले उपयुक्त कानुनी कारबाही नभएकोमा लगातार प्रश्न तेर्स्याइरहेका छन् । रुवेल चौधरीविरुद्ध नेपाल प्रहरीले नेपाल प्रहरीका लागि खरिद गरिएको सामानमा भ्रष्टाचार गरेको अभियोगमा कानुनी कारबाही गर्न प्रक्रिया अगाडि बढाउन तत्परता देखाउँदा जबर्जस्ती प्रहरीलाई कारबाही प्रक्रिया रोक्न किन अह्राइयो – कसले अह्रायो – के ठूला र शक्तिशाली सुजाताहरूद्वारा संरक्षितहरूलाई अब नेपालमा कुनै कानुनी कारबाही हुँदैन – अपराधीहरूलाई कुनै पनि खालको कारबाही नगरेर वर्तमान सरकारले हुतिहारापन पर््रदर्शन गरेर कानुनभन्दा अपराधी बलिया रहेको फेरि एकपटक प्रमाणित गरिदियो । गोलीकाण्ड एउटा र उचित कानुनी कारबाही नभएको अवस्था अर्को पाटो भयो तर जुन विषयको खोजी हुनुपथ्र्यो त्योचाहिँ भएन । खोजीको विषय हुनुपथ्र्यो- भनाभनपछि पारसले रुवेलमाथि नै बढी रिस किन पोखे र हवाईफायर गरे – जवाफ खोज्न २०१७ सालभन्दा अगाडि जान आवश्यक देखिन्छ ।
त्यतिबेला नेपालका राजा थिए- श्री ५ महेन्द्र । नेपाली काङ्ग्रेस पार्टीले महामानव देख्ने गरेको विश्वेश्वरप्रसाद कोइराला थिए जनताका नेता । राजा महेन्द्र र नेता बीपी कोइरालाबीच बाहिरबाहिर अति नै राम्रो दोस्ती थियो । महेन्द्रकी श्रीमती रत्नले पकाएको अचार र तरकारी ज्रि्रो फड्कारी-फड्कारी विश्वेश्वर खान्थे र अचार-तरकारीको भन्दा बढी रत्नको प्रशंसा गर्थे । राजा महेन्द्रको खाना खाने निम्तो विश्वेश्वर बारम्बार स्वीकार गर्थे । झट्ट हेर्दा एकै परिवारका जस्ता देखिन्थे महेन्द्र र विश्वेश्वरका परिवार, तर भित्री द्वन्द्व चर्कै थियो । बीपी कोइरालामा आफू जनताको तागतमा उभिएको नेता भन्नेमा दम्भ थियो भने महेन्द्रमा आफू सिङ्गो राष्ट्रको राजा भएकोमा चाहिनेभन्दा बढी घमण्ड थियो । बीपी र राजा महेन्द्रबीच कुराकानीका क्रममा घोेचपेच हुन्थ्यो भने एकले अर्कोलाई तल पार्न हरदम प्रयास गरिरहन्थे । यस्तै सिलसिलामा कहिलेकाहीँ बीपीले राजा महेन्द्रको अगाडि बस्दा उपरखुट्टी लगाएर राजातर्फ जुत्ता हल्लाएर देखाइदिन्थे । महेन्द्र भित्रभित्रै मर्ुमुरिन्थे र शायद मनमनै ‘पख्लास्’ भनी दागा धर्थे । एक दिन आयो- २०१७ साल पौस १ गते । त्यसै दिन राजा महेन्द्रले निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकारलाई अपदस्त गरी संसद् भङ्ग गरिदिए । २०१५ सालमा निर्मित संविधानको धारा ५५ को प्रयोग गरी वैधानिक तवरले राजा महेन्द्रले सरकार र संसद् भङ्ग गरेका थिए । महेन्द्रले बीपीलगायत थुप्रै नेतालाई सुन्दरी जल जेलमा लगेर थन्क्याए । सामान्य घोचपेच र अपमान गर्ने प्रक्रियाबाट सुरु भएको द्वन्द्व सरकार र संसद् भङ्गदेखि जेलमा लगेर थन्क्याउनेसम्म पुग्यो । बीपीको परिवार र राजा महेन्द्रको परिवारबीच त्यसैबेलादेखि दुश्मनी सुरु भयो र झ्याँगिँदै गयो । बीपी भारत निर्वासनमा गए । महेन्द्र २०२८ सालमा स्वर्ग प्रस्थान गरे । बीपी २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नारा लिएर नेपाल आए । ०३९ सालमा बीपीको निधन भयो । झगडिया बीपी र महेन्द्र दुवै मरे । महेन्द्रका जेठा छोरा वीरेन्द्रले अरूसँग झुक्नुभन्दा जनतासँगै झुक्न ठीक ठानेर २०४६ साल चैत २६ गते राति दलमाथिको प्रतिबन्ध फुकुवा गरिदिएपछि आएको एकप्रकारको प्रजातान्त्रिक व्यवस्थामा बीपीका कान्छा भाइ गिरिजाप्रसाद प्रधानमन्त्री भए । आफ्नो जे-जस्तो खुवी र क्षमता थियो सोहीअनुसार मुलुक हाँके । राजा वीरेन्द्रले गिरिजालाई हस्तक्षेप गरेनन् । तर, जब वीरेन्द्र राजाको वंशनाश भयो, श्रीपेच लाउने अवसर ज्ञानेन्द्रलाई प्राप्त भयो । एउटा स्थिति थियो- श्रीपेच लाएका राजा ज्ञानेन्द्र थिए, जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद थिए । जस्तो टक्कर राजा महेन्द्र र बीपी कोइरालाबीच थियो करिबकरिब त्यस्तैखाले टक्कर ज्ञानेन्द्र र गिरिजाबीच हुन गयो । राजा ज्ञानेन्द्रले गिरिजालाई अलोकप्रिय प्रधानमन्त्रीको संज्ञा दिएको र त्यसको जवाफमा गिरिजाले ज्ञानेन्द्रलाई ‘महाराजलाई पनि जनताले दाइ वीरेन्द्रको वंशनाश गर्ने व्यक्ति भनिरहेका छन्’ भनिदिएका खबर जनताको माझमा आयो । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा सत्ता हातमा लिएपछि गिरिजा र ज्ञानेन्द्रको दूरी अझै बढ्यो । सात दलले सडक आन्दोलन गर्दा गिरिजाप्रसाद कोइरालाको टाउकोमा चोट लागेर उनी बेहोसै भए । यस घटनापछि गिरिजा अझै बढी रिसाए । हामी त जता गए पनि जाउँला राजसंस्था रहेन भने तिमी कहाँ जान्छौ – भन्ने प्रश्नसहित ज्ञानेन्द्रलाई गिरिजाले भाषणमार्फत चेतावनी दिए । तैपनि ज्ञानेन्द्रले टेरेनन््् । रिसको झोकमा गिरिजाले गणतन्त्रमा जान मञ्जुर गरे । पार्टीको ‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र’ भन्ने नीतिबाट संवैधानिक राजतन्त्र हटाए । सात दल मिले । माओवादीलाई डाके र सामेल गरे । दक्षिणतिरको छिमेकीलाई ज्ञानेन्द्रले बिच्काएको स्थिति हुँदा छिमेकी पनि दृश्य-अदृश्य रूपमा सामेल भयो । आन्दोलन सुरु भयो । दोस्रो जनआन्दोलन ०६२/६३ नाम दिइएको आन्दोलनले सफलता हासिल गर्‍यो । ज्ञानेन्द्रले घुँडा टेके । गिरिजा पुनः प्रधानमन्त्री भए । ‘बेबी किङ’को ललीपप देखाउँदै ज्ञानेन्द्रलाई थुमथुम्याउँदै अन्त्यमा झुक्याएर संसद्बाटै गणतन्त्र घोषणा गरिदिए । ज्ञानेन्द्र हेरेको हेर्‍यै भए । गिरिजाले गणतन्त्र घोषणा गरेर ज्ञानेन्द्रको गज्जबले सेखी झारे । यता गिरिजाको हरेक राजनीतिक र रणनीतिक कुटिलताले भरिएको चालबाजीलाई अत्यन्तै नजिकबाट मूल्याङ्ककन गरिरहेको चतुर माओवादीले जसरी गिरिजाले ज्ञानेन्द्रलाई बेबी किङको ललीपप देखाएर पछारेका थिए त्यसरी नै ‘प्रथम राष्ट्रपति’को ललिपप देखाएर गिरिजाप्रसादलाई पछारे । यसरी ज्ञानेन्द्रलाई गिरिजाले पछारे । गिरिजालाई माओवादीले पछारे । माओवादीलाई अनेक तिकडम गरेेर छिमेकीले सत्ताबाट पछारे । एउटा शक्तिले अर्कोलाई पछार्ने खेलअन्तर्गत राजसंस्थाको अन्त्य भयो । गणतन्त्र संस्थागत हुन सकिरहेको छैन । जुनसुकै कोणबाट फर्केर हेर्दा पनि नेपालको राजनीतिक इतिहासमा २४० वर्षो लामो इतिहास बोकेको राजतन्त्र गिरिजाप्रसाद कोइरालाकै कारण समाप्त भएको पारस शाहलाई राम्रैसँग थाहा छ । स्वर्ग लुटिएको रिस कसलाई हुँदैन र पारस शाहलाई नहोस् – विश्वेश्वर र महेन्द्र, ज्ञानेन्द्र र गिरिजा हुँदै टक्कर यतिबेला सुजाता, मेलानी, रुबेल र पारस हिमानीसम्म आइपुगेको छ । शाह र कोइरालाबीचको लामो टक्कर सत्ताप्राप्तिसँगै जोडिएको हो । कहिले शाहले सत्ता प्राप्त गरे कोइराला बाहिरिए । कहिले कोइराला सत्तामा रहे शाह चुप लागेर बसेे । यतिबेला सम्भवतः शाह सदाका लागि सत्ताबाट धपाइए । सुजाताको नाममा सत्तामा अलिअलि कोइरालाको अंश बाँकी रहेको छ । केही समय बस्लिन् । सुजातापछि छोरी मेलानी वा बङ्गलादेशी ज्वाइँ सत्तामा आउने कुनै सम्भावना छैन । त्यो दिन टाढा छैन बीपी कोइरालाका सहोदर खलक पनि सत्तामा हुने छैनन् । त्यतिबेला न शाहले कोइरालालाई पछार्न पर्नेछ न कोइरालाले शाहलाई ।
यसपटक सत्ताको नजिक रहेका रुवेल चौधरीमाथि छानबिन भएन । भलै एक वकिलले उनको पर्दाफास गर्न र सजाय दिलाउन सर्वोच्चमा रिट दायर गरेका छन् । पारस दादालाई पनि खासै कानुनी कारबाही भएको होइन । तर पारस बाबु † समय नढल्किँदै सुध्रिए, सप्रिए कल्याणै होला । २४० वर्षो राजसंस्थाको चिनोको रूपमा अझै पनि थुप्रै नेपालीले माया नैै गरेका छन् । बानी, व्यवहार सुधार्न सकिए राजसंस्था नफर्किए पनि कम्तीमा केही हजारजना समर्थकलाई आत्मसन्तुष्टि त मिल्ला † रुवेल चौधरीले पनि बुझ्दा हुन्छ- बूढा ससुरा गिरिजाप्रसाद यो संसारमा हुनुहुन्न । कृष्णप्रसाद सिटौला यतिबेला काङ्ग्रेस पार्टीभित्रै कमजोर देखिएका छन् । सासू सुजाता सधैंभरि मन्त्रीको कुर्सीमा बस्ने सम्भावना हुँदैन । नराम्रो कामको समर्थन गगन थापा, नरहरि आचार्य, प्रदीप गिरीहरूले गर्ने छैनन् । खराब दिन अझै खराब हुनुअगाडि नै आफूले आफूलाई सधैंका लागि असल मानवमा परिवर्तन गरिहाल्नु । हरेक रोगको औषधि ठीक समयमा गर्नुपर्छ ।