व्यापार घाटा कम भएन, महँगी उत्तिकै बढ्यो

व्यापार घाटा कम भएन, महँगी उत्तिकै बढ्यो


व्यापार घाटा कम गर्न सरकार आसफल  देखिएको छ । चालु आर्थिक वर्षको चारमहिनामा मात्रै व्यापारघाटा ३ खर्ब ७ अर्ब पुगेको छ ।

आयातको तुलनामा निर्यात निकै कम भएपछि व्यापारघाटा चुलिएको हो । चालु वर्षको कार्तिकसम्म २६ अर्ब ३५ करोडको निर्यात हुँदा आयत भने ३ खर्ब ३४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

पशु आहार, धागो, बनस्पती घ्यु, जुस अलैंची जस्ता वस्तुको निर्यात गर्ने गरेको मुलुकले बदलामा पेट्रोलियम पदार्थ, यातायातका साधन, पाटपुर्जा, विद्युतीय सामान र रसायनीक मलको आयात गरेको छ । विदेशी वस्तुसंग स्वदेशी वस्तुको प्रतिस्पर्धा गर्ने क्षमता नहुँदा पनि व्यापार घाटा उच्च भएको हो ।

राष्ट्र बैंकको पछिल्लो तथ्याङक अनुसार धागो बनस्पती घ्यु, तयारी पोषाक लगायत वस्तुको निर्यात वढेको छ भने अलैंची, जुस, जिआई पाईप जस्ता वस्तुको निर्यात घटेको छ । यो वीचमा भारतबाट आयत १२ दशमलव २ प्रतिशतले वढेको छ भने अन्य मुलुकबाट १७ दशमलव ४ प्रतिशतले आयत वढेको छ ।

चीनसँगको आयत भने ४ दशमलव ८ प्रतिशतले घटेको छ । चालु वर्षको ३ महिनामा व्यापारघाट साढे ३ खर्ब पुगेपछि यो वर्ष समग्र व्यापारघाटा १० खर्ब नाघ्न सक्ने अर्थविद्हरुले बताएका छन् ।

यता, कात्तिकमा वस्तु र सेवा दुवै समूहको मूल्य वृद्धि भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो चौमासको तथ्यांक सार्वजनिक गर्दै कात्तिक महिनामा मूल्य वृद्धि उकालो लागेको जनाएको हो ।

असोजमा तीन दशमलव एक प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा आइपुग्दा तीन दशमलव नौ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि चार दशमलव आठ प्रतिशत थियो ।

२०७२ को कात्तिकमा भूकम्प र नाका बन्दीको कारण मूल्य वृद्धि १०.४ प्रतिशत पुगेको थियो । दुई वर्ष अघिको मूल्यका आधारमा यस वर्ष वस्तु तथा सेवाको मूल्य घटे पनि यस वर्षको पहिलो चार महिनामा भएको मूल्य वृद्धिमध्ये कात्तिक महिनामा सबैभन्दा बढी हो ।