भौतिक पूर्वाधारविना अन्तर्राष्ट्रिय सफलता असम्भव : राष्ट्रपति भण्डारी

भौतिक पूर्वाधारविना अन्तर्राष्ट्रिय सफलता असम्भव : राष्ट्रपति भण्डारी


राष्ट्रिय खेलकुद परिषद्ले पहिलो पटक आफ्नै नाममा आयोजना गरेको राखेप च्याम्पियनसिप–२०७४ को राष्ट्रपति विद्यादेवी भण्डारीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विविधवत् उद्घाटन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसीलाई ओलम्पिक टर्च र दुई बाल खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गर्नुभएको हो । टर्च हस्तान्तरण लगत्तै केसीले उद्घाटन स्थलमै रहेको ओलम्पिक दीपलाई सोही टर्चबाट प्रज्ज्वलन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सीमित श्रोत र सधानका बावजुद नेपाली खेलाडीले अन्तर्राट्रिय प्रतिस्पर्धामा देशको गौरव अभिवृद्धि गर्दै आइरहेको बताउँदै दक्ष खेलाडी उत्पादन गर्न विद्यालय तहदेखि नै खेलकुदको विकासमा ध्यान दिन आवश्यक रहेको बताउनुभएको थियो ।

खेलकुदको विकासमा गठन भएका संस्थाहरु सक्रियतापूर्वक लाग्ने हो भने नेपाली खेलकुद क्षेत्रले पनि आशातित प्रगति हासिल गर्न सक्ने बताउँदै खेलकुद शारीरिक, मानसिक र समग्र व्यक्तित्वको विकासका लागि महत्वपूर्ण भएको धारणा व्यक्त गर्नुभएको थियो । दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गरी गुणस्तरीय भौतिक पूर्वाधार विकासमा यथोचित ध्यान दिन जरुरी भएको बताउँदै भूकम्पले क्षति पु¥याएका पूर्वाधारको पनि पुनःसंरचना गर्न आवश्यक भएको बताउनुभयो ।

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलकुदमा गरेको लगानीले देशकै प्रतिष्ठा अभिवृद्धि हुने बताउँदै कम उमेरका खेलाडीदेखि लगानी गर्न सके भविष्यमा दक्ष खेलाडी उत्पादन गर्न सहज हुने धारणा व्यक्त गरेका थिए । राखेपका सदस्यसचिव केशवकुमार विष्टले आगामी एसियाली तथा दक्षिण एसियाली खेलकुदलाई समेत मध्यनजर गरी आयोजना गरिएको च्याम्पियनसिपले बृहत राष्ट्रिय खेलकुद नभएको वर्ष निरन्तरता पाउने बताउँदै खेलकुदमा भएका प्रगति र भावी योजना बारे प्रकाश पारेका थिए ।

उदघाटनका अवसरमा च्याम्पियनसिपमा समावेश विभिन्न २९ खेलका राष्ट्रिय संघलाई खेल सामाग्री पनि वितरण गरिएको थियो । सुरुमा हालै राष्ट्रिय खेलको मान्यता पाएको भलिबलका अध्यक्ष मनोरञ्जनरमण शर्मालाई राष्ट्रपति भण्डारीले नै बल हस्तान्तरण गर्नु भएको थियो ।

‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद’ नारा दिइएको च्याम्पियनसिपमा २२४९ पुरुष र १७९१ महिला गरी जम्मा ४ हजार ८२ खेलाडी सहभागी रहेका छन् । ६१५ स्वर्ण, उत्तिनै रजत र ८९७ कांस्य गरी जम्मा २१२७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिप माघ ९ गतेसम्म चल्नेछ ।