प्रत्येक पाँचजना युवाहरुमा एकजना बेरोजगार

प्रत्येक पाँचजना युवाहरुमा एकजना बेरोजगार


लण्डन । बेलायतको अधिकारिक आँकडाले अहिले रोजगार नभएका व्यक्तिहरु २५ लाख नाँघेको कुरा उद्धृत गरेको छ । प्रत्येक पाँचजना युवाहरुमध्ये एकजना बेरोजगार रहेको पुष्टि गरेको छ । सरकारबाट कटौती तथा कामबाट रिडन्डेन्सीमार्फत निष्काशन गर्ने क्रम बढ्दै गएको कारणबाट गत तीन महिनाभित्र नोभेम्बरसम्म ४९ हजार मानिसहरु बेरोजगार हुन पुगेकाले रोजगार नभएका मानिसहरुको संख्यात्मक बृद्धि भएको कुरा प्रकाशमा आएको छ ।
अहिलेको प्रतिवेदनले ९३ लाख मानिसहरु आर्थिकरुपमा सक्रिय नरहेको तथ्य प्रकाशमा आएको छ । राष्ट्रिय तथ्यांक कार्यालयअनुसार ३२ हजारबाट ९ लाख ५१ हजार व्यक्तिहरु बेरोजगारीको हिसाबमा बृद्धि भएको आँक्डा देखापरेपछि १६वर्षदेखि २४वर्ष उमेरभित्रका युवाहरुमा पाँच जना मध्ये एकजना बेरोजगार रहेको तथ्यांक निकालेको छ । सन् १९९२देखि शुरु गरेको रेकर्डमा यो अहिलेको रेकर्ड सबैभन्दा बढी रहेको प्रतिवेदनले दर्शाएको छ । यसमध्ये २७० हजार युवाहरु अध्ययनरत् तथा नोकरीको लागि पर्खिरहेका जानकारी रोजगार तथा पेन्शन विभागले दिएको छ । लेबर पार्टीका नेता एड मिलिब्याण्डले डेभिड क्यामरोनलाई बेरोजगार बृद्धि भएको कारण अत्यधिक कटौतीले गर्दा भएको हो भनेर आरोप लगाएका छन् । यसको जवाफमा क्यामरोनले बेरोजगार बृद्धिको पछाडि केही न केही कारण रहेको हुन्छ र हामीले अहिलेसम्म देशले सम्पन्न नगरेको बेरोजगार समस्यालाई अब बेरोजगार भएकाहरुलाई काममा फर्काउने बृहत कार्यक्रम ल्याइरहेका छौं भनेका थिए । सरकारी क्षेत्रमा रोजगार जुनदेखि सेप्टेम्बर महिनाको भित्रमा ३३ हजार जतिको सेवानिवृत्त अथवा कटौतीमा परेकाले ६० लाखमा झरेको छ । तर, निजी क्षेत्रको कामदारहरुमा २ करोड ३० लाखको संख्यामा कुनै परिवर्तन भएको देखिएको छैन । राष्ट्रिय आँक्डामा ७ दशमलव ९ प्रत्तिशत देशमा अहिले बेरोजगार छ । तर, १६वर्षदेखि २४वर्षका समूहमा २० दशमलव ३ प्रत्तिशत बेरोजगार रहेको आँक्डाले देखाएको छ यसले गर्दा प्रत्येक पाँच जनामा एकजना युवा बेरोजगार रहेको कुरा पुष्टि भएको छ । श्रोत – मेट्रो, सुमल, मेस ।