रोधीघरका बहिनीको निम्तामा…-मुक्तिनाथ खनाल

रोधीघरका बहिनीको निम्तामा…-मुक्तिनाथ खनाल


‘जाउँला सरर मोटरमा, तनहुँको रोधीघरैमा’ यसपटक तनहुँको रोधीघरमा धीत मर्नेगरी कम्मर मर्काउँदै नाच्ने हो र रोधीघरका दिदीबहिनीहरूले पे्रमसाथ दिएको शुद्ध पेयपदार्थ र शुद्ध खाना -जसमा कुनै किसिमको मिसावट हुँदैन) खाँदै रिमझिम भएर मस्ती गर्ने हो कि – यही रहर बोकेर यो पङ्क्तिकारको पनि पर्सि २४ गतेदेखि हुने तनहुँ महोत्सवमा जान खुट्टा उचालिन थालेको छ । तर कताकता एक किसिमको लाज पनि लागेको छ, कसैले देख्यो भने बूढो भएर नि पात्तिँदै रोधीघरमा नाच्दै छ भन्छन् कि । आ † जेसुकै भनुन् यसपटक पक्कै नाच्ने हो । बरु नाच्दै भनौँला ‘बैनीको दया छ भने रोधीघर दाइ नाच्यो नभने’ । धेरै अघि कुनै समयको कुरा हो माहौं देउराली डाँडाको प्रसिद्ध रोधीघरमा तनहुँका विशिष्ट व्यक्तित्व सरदर प्रो. यदुनाथ खनाल, नेता श्रीभद्र शर्मा खनालको उपस्थितिमा डा. भेषबहादुर थापा, सचिव कर्णध्वज अधिकारी, त्यसपछि क्षेत्रप्रताप अधिकारीले नाचेको सम्झना आउँछ । त्यसैले म पनि यसपटक रोधीघरमा रिमझिम हुँदै मस्तीसँग नाचौँ कि जस्तो लागेको छ ।
अस्ति पुस १६ गते तनहुँ महोत्सवको प्रचारप्रसारलाई आयोजक समितिले काठमाडौंको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेको थियो । त्यहाँ पनि रोधीघरका केही भाइबहिनीले तनहुँको मौलिक कौरानाचको एक झलक देखाउँदै काठमाडौंवासी सबै दाजुभाइलाई रोधीघरमा आउन सामूहिक निमन्त्रणा दिनुभएको छ । यद्यपि व्यक्तिगत निम्ता दिन आफूसँग ठेगाना नभएको गुनासो पोख्दै पत्रकार मित्रहरूलाई आफ्नो निम्ता सबै दाजुभाइलाई पुर्‍याइदिन आग्रह गरेका थिए । सोही अवसरमा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनकुमार विकले यसपटक पहिलो दोस्रोभन्दा भिन्न आकर्षक तनहुँ जिल्लाको मौलिकता झल्कने रोधीघर, विभिन्न वस्तु, सांस्कृतिक नृत्य प्रतियोगिता, धार्मिक एवम् ऐतिहासिक स्थल भानुभक्तको जन्मघर, घासीकुवा, गुफा, हिमाल देखिने रमणीय तनहुँसुर, माहौंकोट डाँडाको दृश्यावलोकन, जलविहार र्‍याफि्टङ विभिन्न जाति-जनजातिको भेषभूषा, झाँकी, कृषि पर््रदर्शन आदि राख्ने व्यवस्था हुँदा अलोकन गरिदिनहुन काठमाडौंवासीलाई पत्रकार सम्मेलनको मञ्चबाटै निमन्त्राणा गर्नुभएको छ ।
पत्रकार महासङ्घ तनहुँ शाखाका सभापति प्रदीप काफ्लेको स्वागत भाषणबाट प्रारम्भ भएको पत्रकार सम्मेलनमा महोत्सवका प्रवक्ता शंकरनारायण श्रेष्ठले महोत्सवको उद्देश्य बनाउँदै, यो तेस्रो महोत्सवमा ४३/४५ लाखको आर्थिक कारोबार हुने र स्वदेशी, विदेशी र जिल्लाभित्रका गरी ४ लाख व्यक्तिको आगमन रहने आशा गर्नुभएको छ । यसपटकको महोत्सवलाई सङ्गीतमय बनाउन नवोदित साहित्यिकार -सबैले अर्जुन भनी चिनिने) सागर उदासले धेरै मिहिनेत र सहयोग गर्नुभएको छ भनी स्थानीय बासिन्दा बताउँछन् ।
हुनत अहिले जताततै रोधीघरको बोर्ड झुन्ड्याएर आफ्नो व्यापारलाई अगाडि बढाएको पाइन्छ, तर रोधीघरको बनोट कस्तो हुन्छ । त्यहाँ के-कस्तो नियम हुन्छ । रोधीघरका दिदीबहिनीले कसरी-सम्मान गर्छन्, खानपिन कस्तो हन्छ । नाचगान कसरी गरिन्छ भन्ने ती मित्रहरूलाई थाहा छैन । बरु हेर्न तनहुँ जिल्ला जानुभए साँचो रोधीघर देखिन्छ । यथार्थमा रोधीघरको उत्पादन गण्डकी अञ्चलबाटै भएको हो । जहाँ गुरुङ, मगरको बाहुल्य छ, त्यहाँ रोधीघर देखिन्छ । तनहुँ जिल्लामा पनि मगरको बाहुल्य हुँदा हरेक डाँडा, देउरालीका गाउँबस्तीमा रोधीघर बनाइएको हुन्छ । रोधीघरमा तनहुँको कुरा भन्नुपर्दा खासगरी कौरा, चुट्का, झयाउरे नाच तनहुँको मौलिक नाच हो भनिन्छ ।
रोधीघरको विषयमा जान्नैपर्ने कुरा रोधीघर प्रायः गाउँका ठूला, वडा, गन्यमान्य जिम्मुवाल, मुखियाको घर आँगनमा अस्थायी घर बनाइन्छ । त्यहाँ युवायुवतीको हस्तकलाबाट निर्मित वस्तु धानको बालाको पुतली, बुट्टेदार रुमाल, टेबुलपोस, बाँसबाट निर्मित केटाले लगाउने टोपी, छत्री, रिवन, टोपी, त्यस्तै सङ्गीतका हार्मोनियम, बाँसुरी, मोहली, मादल, खैंजडी, मजुरा, डम्फु आदिले सजाइन्छ । खानेकुरामा सिजनअनुसारका फलफूल केरा, स्याउ, सुन्तला, दूधदही, चिउरा-मासु शुद्ध कोदाको रक्सी, जाँड दिदीबहिनीहरू आफ्नै पेवाको पैसाले राख्दछन् । रोधीघरमा आउने मानिस कस्ता हुन्, के खान्छन् यहीअनुसार स्वागत गर्ने काम हुन्छ अनि रमाइलो गर्दै नाचगान सुरु हुन्छ ।
अँ- एउटा रमाइलो कुरा भन्नै बिर्सेंछु- रोधी घरको एउटा नियम छ । कसैले मादक पदार्थ बढी खाएर हल्ला गर्न, अशोभनीय तरिकाले हातपात गर्न वा कुनै उछृङ्खल गतिविधि देखाउन पाउँदैनन् । गाउँका गन्यमान्य व्यक्तिको घरमा रोधीघर बनाउनुको अर्थ पनि त्यही होला । रोधीघरमा पे्रमसाथ आ-आफनो भावना, दुःखसुख, पे्रमलाप गर्दै रिवन डोरी, रुमाल, टोपी मायाको चिह्न भनी माया साटासाट गरिन्छ । आपसमा कुरा मिल्दै गयो भने विवाहको प्रस्ताव राख्छन् । विवाह भयो भने रोधीघरका मालिक र गाउँले पनि खिकती दिन्छ, त्यसलाई गाउँलेको मान्यता प्राप्त होस् भनेर नै गाउँको ठूलो मानिसको घरमा रोधीघर राखिएको हुनुपर्छ भन्ने अनुमान छ । यो प्रचलन अहिले पनि छ । यही किसिमको रोधीघरमा दिदीबहिनीको हातबाट मीठोमीठो खाएर नाचगान गर्दै माया साटासाट गर्न हामी पनि तनहुँ महोत्सवमा जाने हो कि ?