१० करोड लगानीमा पार्क बन्दै, नयाँ वर्षदेखि संचालनमा आउने

१० करोड लगानीमा पार्क बन्दै, नयाँ वर्षदेखि संचालनमा आउने


कैलालीको धनगढीमा १० करोड लगानीमा फन पार्क निर्माण भइरहेको छ । जल विहार लगायत थुप्रै मनोरञ्जन प्रदान गर्ने उदेश्य सहित निर्माण सुरु गरिएको पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुरानो भन्सार रोडमा रहेको साँढे २ विगाहा क्षेत्रफलमा बन्ने यो पार्कबाट त्यस क्षेत्रका बासिन्दा र आन्तरिक पर्यटकले समेत आनन्द लिनेछन् ।

स्थानीयवासी तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण सुरु गरिएको कैलाली फन पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण पक्षका अनुसार पार्क निर्माणका कार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ । जल विहारको आनन्द लिन सकिने विभिन्न प्रकारका साधनहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । आउँदो नयाँ वर्षदेखि फन पार्क सञ्चालनमा ल्याउने तयारी गरिएको पार्कका सञ्चालक श्याम विष्टले जानकारी दिए ।

पार्क बनिसकेपछि स्वीमिङ पुल सहित वेव पुल, किड्स पुल, मल्ट्रील्याण्ड स्लाईड, ट्युवलाईट स्लाईड, पेन्डुलम, म्युजिकल फनटेन, व्रेक डान्स लगायत जल विहारको आनन्द लिन सकिने बताइएको छ । धनगढी आउने पर्यटकलाई रमाउने थलो नभएकाले पार्क बनाउने योजना बनेको बताउँले संचालकहरु पार्कले आन्तरिक पर्यटकलाई सवैभन्दा वढी राहत मिल्ने दावी गर्छन् । त्यति मात्र होइन, कैलाली भारतसँग सिमा जोडिएको जिल्ला भएकाले भारतीय पर्यटक समेत पार्कमा रमाउने कुरामा संचालक विश्वस्त छन् । स्थानीय तहमा ठूलो लगानीमा पार्क बन्न लागेपछि स्थानीयवासी पनि खुशी छन् । पार्क निर्माणले अन्य सम्भावनाहरु पनि देखाएको स्थानीयवासी रामदत्त भट्ट बताउँछन् ।

स्थानीय स्तरमा ठूलो लगानीमा यस्ता पार्कहरु संचालनमा आउनु स्थानीयवासीका लागि खुशीकै कुरा हो । किनकी, पार्क बनेपछि धनगडी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्नेछ । पर्यटकको संख्या बढेसँगै त्यस क्षेत्रको आर्थिक बिकासमा समेत टेवा पुग्ने छ ।