निकिताको नियुक्तिमाथि ब्यर्थको रडाको

निकिताको नियुक्तिमाथि ब्यर्थको रडाको


– राजन घिमिरे

उनको जन्म नै आफ्नो जमानाको चर्चित चलचित्रकर्मीको कोखबाट भयो । पारिवारिक माहोल एवम् परिवेशले नै उनलाई त्यो विधा र क्षेत्रबाट अलग गर्न सकेन । पढेरभन्दा पनि परेर जानिन्छ भनिन्छ, उनकी आमा सुमित्रा र बाबु उद्धव पौडेल जानेमानेका चलचित्र निर्माता, घरमै ‘परेर जान्ने’ परिवेश पहिले नै बन्यो उनका लागि । त्यसमाथि उनले आफ्नो उच्च अध्ययनको विषय पनि चलचित्र विधालाई नै बनाइन्, सुनमाथि सुगन्ध भनेझैँ भयो । यसरी, पोख्त ढंगले चलचित्र एवम् नेपाली चलचित्र क्षेत्र बुझेकी निकिता पौडेलसँग नेपाली सिनेक्षेत्रको उठबस र अनुभवको लामो यात्रा छ ।

रजत जयन्ती मनाउन सफल नेपालकै पहिलो चलचित्र कुसुमे रूमालका निर्माता मात्रै होइनन् उद्धव पौडेल, नेपाली सिनेमाको थुप्रै इतिहास जोडिएको छ निकिताका यी पितासँग । यिनै पिताकी छोरी निकिताले पनि नेपाली चलचित्र क्षेत्रलाई नै आफ्नो ज्यान ठानिन् र यही क्षेत्रमा निरन्तर लाग्नका लागि कम्मर कसिन् । पावर पैसा र सम्पर्ककै कुरा गर्ने हो भने पनि निकिता अन्य क्षेत्रमा लागेर जे पनि बन्न सक्थिन्, त्यो हैसियत उनीसँग थियो, तर उनले पारिवारिक पेशा र क्षेत्रलाई नै अङ्गिकार गरिन् ।

नेपालको पहिलो जुम्ल्याहा सिनेमा हलदेखि सिनेमासम्बन्धी सामग्री प्रशारण गर्ने पहिलो टेलिभिजन र एफएममा पनि उनले आफ्नो उपस्थिति जनाउन छाडिनन् । यिनले नेपाली सिनेमाबाहेक अन्य पेशा र क्षेत्रलाई अङ्गिकार गरेको आजसम्म कसैको जानकारीमा छैन ।

तर, नेपाली चलचित्र क्षेत्रप्रति समर्पित यही नामलाई यतिबेला चलचित्र विकास बोर्डको नियुक्तिसँग जोडेर अनेक लान्छना लगाउन थालिएको छ । चलचित्र विकास बोर्डको अध्यक्ष बन्न हरेक कुराबाट निपूण या उपयुक्त पात्र निकिता पौडेललाई अरू कुराबाट गालीगलौज गरेर नपुगेपछि राजनीतिक रङ्ग दिन थालिएको छ । ‘कुनै राजनीतिक दलको सदस्य नभई म विशुद्ध एक चलचित्रकर्मी हुँ, यो कुरा सबैलाई थाहा छ, तर पनि यहाँ बुझपचाइएको छ,’ निकिताको दुःखेसो छ ।

आफू कसैले टिपेर नभई प्रतिस्पर्धामा जितेर आएको उनी बताउँछिन् । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएको दिनदेखि नै आफू माथि आक्रमण हुन थालेको कुरा उनी बताउँछिन् । ‘म किन बोर्ड अध्यक्ष हुन नहुने ? म हरेक कुराबाट फाइट गरेरै आएको हुँ । के म चलचित्रकर्मी होइन ? कि मलाई यो क्षेत्रको बारेमा जानकारी छैन ?’ उनको प्रश्न छ ।

अध्यक्षको पदमा बसेको एक हप्ता पनि नभइ, काम नै नहेरीकन नकारात्मक सन्देश प्रवाह गर्ने परिपाटीबाट पनि यतिबेला चलचित्रकर्मीहरू निराश हुन थालेका छन् । चलचित्र विकास बोर्डलाई राजनीतिक भर्तीकेन्द्र बनाउन चाहनेहरूल विशुद्ध चलचित्रकर्मी निकिता अध्यक्ष बनेर बोर्डको नेतृत्व गर्न लाग्दा उतर्सिएर मननपराएको तर्क पनि यतिबेला एकथरी चलचित्रकर्मीले गरेका छन् । ‘अहिलेसम्म बोर्डमा पहिलो अध्यक्ष यादव खरेलपछि कुनै पनि राजनीतिक दाग नलागेको दोस्रो चलचित्रकर्मी हुन् निकिता पौडेल’, चलचित्रकर्मीहरूको निश्पक्ष भनाई छ ।

सरकारकै नियम र नीतिमा बाँधिएर कानुनसम्मत रूपमा फाइट गरी निकिता पौडेल चलचित्र विकास बोर्डको अध्यक्ष भएको सञ्चारमन्त्रालयले जनाएको छ, तर कलाकारिताको आडमा राजनीति गर्ने कतिपयको निकिताकै नियुक्तिले निद्रा बिग्रिएको कुराले पनि चलचित्र बजार गरम भैरहेको छ यतिबेला ।

यस परिवेशमा पनि चलचित्रकर्मीहरूको साथ–सहयोग मिलेमा नेपाली चलचित्र क्षेत्रका लागि धेरै काम गर्न सकिने निकिता बताउँछिन् । थोरै दुःख मान्दै उनले भनिन्– ‘तर यहाँ वातावरण नै छैन, तथापि, म निराश भने भएको छैन । चाँडै नै नेपाली सिनेमाको लागि केही सुखद खबर ल्याउने छु ।’ पौडेलको अठोट छ– ‘काम गर्दा विरोध र बाधा आउँछन्, यसो भन्दैमा भागेर हिँड्ने कुरा पनि आउँदैन । समस्यासँग जुधेर नै केही गर्छु भनेर आएको छु ।’