पञ्चासेको विकासको बहुआयमिक सम्भावना

पञ्चासेको विकासको बहुआयमिक सम्भावना


पञ्चासे २८५० मिटरको उचाइमा रहेको नेपालको एक सुन्दर र चीरपरिचित स्थल हो । पर्वत, कास्की र स्याङ्जाको संगमस्थलको रुपमा रहेको यस क्षेत्र कुनै एक पक्षको उपयोगिताको दृष्टिले मात्र होइन, बहुआयमिक रुपमा चर्चित र जीवनोपयोगी छ । घना जंगलको बीचमा रहेको यस क्षेत्र बन्यजन्तु, जडिवुटी, पशुपालन, पर्यटन, कृषि, संस्कृति हरेक दृष्टिले महत्वपूर्ण र नवीनतम भविष्य बोकेको क्षेत्र हो । ठूला-ठूला खर्कहरुले भरिपूर्ण यस क्षेत्रमा कृषिको विविधीकरणको राम्रो सम्भावना पनि रहेको छ । समग्रमा पञ्चासेका विविध पक्षहरुको विकासमार्फत यसको दीर्घकालीन विकास गर्न सम्भव छ ।

जलाधार:
पञ्चासे क्षेत्र जलाधारको दृष्टिले अत्यन्तै महत्वपूर्ण क्षेत्र हो । सोप्रे, जलजला लगायतका स्थानहरुमा जलाधारका ठूला श्रोतहरु विद्यमान छन । यी जलाधार क्षेत्र मौसमी क्षेत्र मात्र नभएर सदाबहार क्षेत्र पनि हुन । तर हालसम्म यी क्षेत्रको उचित सदुपयोग हुन सकेको छैन । खानेपानी र छिटफुट रुपमा सिंचाइमा प्रयोजनबाहेक यहाँको विशाल जलाधारलाई विकासका क्षेत्रमा सदुपयोग गरिएको छैन । कास्की र स्याङ्जाको भूभागमा पर्ने पञ्चासे क्षेत्रमा पनि जलाधारका ठूलाठूला आधार छन् । यद्यपि तिनको पनि सदुपयोग हुन सकेको छैन ।

पञ्चासेको जलाधारमा अर्को महत्वपूर्ण पक्ष त्यहा रहेका तालहरु हुन् । सरकारी प्रतिवेदनमा चारवटा तालहरुलाई मुख्य रुपमा उल्लेख गरे पनि यहाँ यस्ता अनगिन्ती श्रोतहरु रहेका छन । तर मुख्य रुपमा मानिएका दुई ठूला ताल पनि अहिले आएर संरक्षणविहीन बनेका छन । एउटा ताल त अब इतिहासको किंवदन्ति मात्र त बन्ने होइन ? भन्ने प्रश्न पनि उब्जिएको छ । तालहरुको उचित संरक्षण नहुने हो केही केही बर्षभित्रै यी तालहरु पुरिने खतरा त्यहाँ विद्यमान छ । एकातिर संरक्षणको अभाव र अर्कोतर्फ तालहरुको ठूलो जलाधार क्षेत्र नभएका कारण पनि समस्या उत्पन्न हुने गरेको छ । तालको पानीको स्थायी श्रोत नभएका कारण अन्य प्राकृतिक श्रोतभन्दा यो बढी संरक्षणको प्राथमिकतामा आउनुपर्ने क्षेत्र देखिन्छ । तालको संरक्षण र पञ्चासेको विकासका लागि सिद्धबराह युवा क्लव लगायतका सामाजिक संस्थाहरु क्रियाशील भए पनि अहिलेको आवश्यकताको तुलनामा त्यो अत्यन्तै न्यून छ ।

माथि उल्लेखित जलाधारहरुलाई विकासका क्षेत्रहरुमा प्रयोग गर्ने हो विकासले नया फड्को मार्न सक्छ । पानीको श्रोत खासै ठूलो नभए पनि भिरालो जमीनबाट बग्ने यी खोलानालाहरुबाट तीव्र गतिको प्रवाहका कारण प्रशस्त विद्युत उत्पादन गर्न सकिने सम्भावना छ । विद्युत उत्पादनसँगै सिंचाइका लागि पनि यो क्षेत्र असाध्यै उपयोगी छ । पञ्चासेलाई उद्गमथलो बनाएर बग्ने खोलाहरु रती, जहरे र लिदी जस्ता खोलाहरुलाई स्थानीय लद्यु जलविद्युतको क्षेत्रमा उपयोग गर्न सकिन्छ । तर संक्रमणकालीन राज्यप्रणालीका कारण विकासका योजनाहरु अस्तव्यस्त हुने गरेका छन् । निजी र सामुदायिक क्षेत्रबाट हुने लगानीको सुरक्षाको जटिलताका कारण लगानीकर्ताहरु उत्साहित हुन सकेका छैनन् । यस्तो अवस्थामा स्थानीय स्तरमा लगानीकर्ताको लगानीलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गरिनु अत्यावश्यक छ ।

जडिबुटी:
जडिबुटीका दृष्टिले पनि पञ्चासे क्षेत्र धनी क्षेत्र नै हो । सत्तुवा लगायतका अत्यन्तै महत्वपूर्ण जडिवुटीहरु यहाँ रहेका छन् । प्राचिन कालदेखि नै हाम्रा अग्रजहरुले थुप्रै जडिबुटीलाई उपयोगितामा ल्याएपनि कैयौ जडिबुटीहरुको अन्वेषणसमेत हुन सकेको छैन । प्राविधिक अध्ययन र अनुसन्धानको प्रक्रिया आरम्भ गर्ने हो भने कैयौ बहुमूल्य जडिबुटीहरु यहाँ रहेको सहजै अनुमान गर्न सकिन्छ । तिनको अन्वेषण र प्रशोधन गरी औषधिको रुपमा प्रयोग र निर्यात गर्न सकिने प्रवल सम्भावना छ । यसले सिंगो राम्जाको मुहार फेर्न सक्ने आधारको संकेत गर्दछ । जडिबुटी अन्वेषण र प्रशोधन केन्द्रको स्थापना गर्न सक्ने हो भने त्यो बहुउपयोगी हुन सक्दछ । त्यसका लागि शिक्षाको पाठ्यक्रमलाई पनि सोहीमुताविक व्यवस्थित गर्न सकियो भने स्थानीय लगानी, स्थानीय जनशक्ति र स्थानीय जनशक्तिको अन्वेषणमा सहयोग र स्थानीय उत्पादन सबै सम्भव छ । यसका लागि व्यक्तिगत लगानी मात्र सम्भव नभए सामूहिक र सामुदायिक लगानीमार्फत यो कार्य पूरा गर्न सकिन्छ ।

पर्यटन:
पञ्चासे क्षेत्रको मनोरम दृश्य, सुगम हावापानी लगायतका कारण पर्यटनको विकासमा यसले छिट्टै विकास गर्न सक्दछ । पर्यटन व्यवसाय आफैमा कम लगानीद्वारा बढीभन्दा बढी प्रतिफल लिनसक्ने व्यवसाय हो । पर्यटन व्यवसायका लागि ९० प्रतिशतभन्दा बढी लगानी प्रकृति आफैले गरिसकेको छ । अब पर्यटकहरुको सुरक्षा, उचित बसोवासको व्यवस्था, आधुनिक प्रविधिद्वारा यसको उचित प्रचारप्रसार, स्थानीय जनताको सहभागिता र मानवोचित व्यवहारले मात्र पनि पर्यटनको क्षेत्र हृवात्तै विकास हुन सक्छ । आजको युगमा पर्यटनको प्राथमिक सर्त पर्यावरणीय संरक्षण पनि हुन पुगेको छ । बनविनास, बाढी पहिरो र यसको रोकथाम र संरक्षणको अभाव, वातावरणीय प्रदुषणजस्ता विविध कारणले यसको रणनीतिक भविष्यमा प्रश्न उठ्न सक्दछ । त्यसैले पर्यावरणीय संरक्षणसहित पर्यटकहरुको सुगमतालाई केन्द्रमा राखेर यसको विकासलाई प्रभावकारी बनाउन सकिन्छ ।

पर्यटनको विकासको कुरा गर्दा यहाँको अर्को सम्भावना कृषि पर्यटन पनि हो । कृषिको आधुनिकीकरण र विविधीकरणको माध्यमद्धारा पर्यटनमा विकास गर्न सकिन्छ । पर्यटकहरु केवल प्राकृतिक दृश्यावलोकनका लागि मात्र त्यो क्षेत्रमा आउँदैनन् । प्राकृतिक, सांस्कृतिक लगायतका विविध पक्षहरुको अध्ययन गर्न पनि पर्यटकहरु आउने गर्दछन्, तसर्थ कृषि पर्यटनको विकास गर्न सकियो भने बाहृय पर्यटक मात्र होइन, ज्ञान र शीपको अनुभव संकलनका लागि आन्तरिक पर्यटनको संख्यामा पनि बृद्धि भएर जानेछ ।

कृषि:
परम्परागत कृषि उत्पादनको दृष्टिले हेर्दा यो क्षेत्र त्यति उपयोगी नदेखिएला, तर कृषिमा आधुनिकीकरण र विविधीकरण गर्न सक्ने हो भने यो क्षेत्र निकै अनुकुल छ । पञ्चासे क्षेत्रमा हाम्रा अग्रज पुर्खाहरुले लगाउने गरेको आलुको मात्र उत्पादन हेर्ने हो भने पनि कृषिका लागि यो अनुकुल छ । त्यसैगरी मकै, जहु लगायतका खाद्यान्न बालीका साथै थुप्रै नगदेवालीको पनि विकास हुन सक्दछ । हिमालतर्फ फर्केको भूभाग र उच्च भूभाग भएका कारण स्याउखेतीका लागि पनि यो क्षेत्र उपयोगी नै हुनुपर्छ, यसका लागि थप अध्ययन, अनुसन्धानको जरुरी छ । पञ्चासेका तल्ला क्षेत्रहरुमा कफी खेती उपयोगीसिद्ध हुन सक्छ । किनकि कफी खेतीको दृष्टिले पकुवाको माथिल्लो भूभागदेखि तिलाहारको अधिकांश भूभाग पनि अनुकुल भएको विभिन्न अध्ययनले देखाएको छ । तर कृषिमा विविधीकरणसँगै आधुनिकीकरण पनि उत्तिकै जरुरी छ । परम्परागत खेती प्रणालीभन्दा माथि उठ्न सक्ने अवसर प्राप्त भयो भने यसको विकासमा कृषि क्षेत्रको निकै योगदान रहन सक्छ ।

शिक्षा:
मानव जीवनको विकासको महत्वपूर्ण आधार शिक्षा हो । शिक्षामा युगअनुकुल विकास गर्न नसक्दा उपलब्ध प्राकृतिक साधन श्रोतहरु पनि दुरुपयोग हुने खतरा रहन्छ । पञ्चासेको विकासको एक महत्वपूर्ण समस्या यो पनि हो । एक, वर्तमान युगअनुकुलको शिक्षाको विकास हुन नसक्नु र दोश्रो, दक्ष जनशक्तिले पनि उचित अवसरको अभावमा बाध्यतावश बाहिरिनुपर्ने बाध्यता हाम्रो सामु छ । ग्रामिण क्षेत्रको विकासमा स्थानिय प्रोत्साहन, ऐक्यवद्धताको अभावमा दक्ष शक्ति गाउँमा रहनु बेरोजगार वा अर्धबेरोजगार भएर बस्नुसरह भएकोले आफ्नो भविष्य र राष्ट्रको विकासका लागि पनि सम्भावनाको खोजीमा लाग्ने हुन्छ । यो एक स्वभाविक प्रक्रिया पनि हो ।

हाम्रा विद्यालय र उच्च शिक्षामा पनि ग्रामिण जीवन र यसको विकासका दृष्टिले उपयोगी शिक्षाको व्यवस्था नभएका कारण शैक्षिक स्तर हासिल गरेका व्यक्तिहरु पनि निरीह हुनुपर्ने बाध्यता छ । यसका लागि ग्रामिण शिक्षालाई आधुनिक कृषि र प्रविधिको प्रश्नसँग जोड्न अपरिहार्य छ । कृषिको आधुनिकीकरण, विविधीकरण, स्वास्थ्य क्षेत्रको विकास, जडिबुटी प्रशोधन, विज्ञान, प्रविधि लगायतका क्षेत्रहरु सम्बोधन हुन सक्ने गरी शिक्षाको व्यवस्था गर्ने हो भने पनि यसले सबै क्षेत्रको नेतृत्व लिन सक्दछ । त्यसैले शिक्षालाई मानविय जीवनको आवश्यकतामुताविक परिमार्जन गर्न सकेमा यसले विकासमा सकारात्मक प्रभाव पार्नेछ ।

पशुपालन:
पञ्चासे क्षेत्रको अर्को प्रचुर सम्भावना भएको क्षेत्र पशुपालन पनि हो । यद्यपी हाम्रा अग्रजहरुले पशुपालनको क्षेत्रमा विगतदेखि नै लगानी गर्दै आएका छन् । तर यो पशुपालन खाली जीवननिर्वाहको स्तरभन्दा माथि उठ्न सकेको छैन । पञ्चासे क्षेत्रमा ठूलाठूला खर्कहरु रहेका र डाले र रुख घाँसको कमी नभएका कारण पशुपालन असाध्यै फस्टाउने पेशा हुन सक्दछ भन्ने कुरा बुझ्न कुनै कठिन छैन । लेकमै बसेर भैसी पालन गर्ने हाम्रा पुर्खाहरुको मिहेनत पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्नु भने दुखद पक्ष हो । तर अबको पशुपालन केवल जीवन निर्वाहको दृष्टिले मात्र सोचिनु गलत हुन जान्छ । त्यसैले व्यवसायिक पशुपालनको दिशातिर यो उन्मुख हुनैपर्दछ । यसो हुन सकेमा यो अर्को विकासको आधार हुन सक्दछ । यसका साथै सेतवरुवाजस्ता घरेलु उद्योगका लागि उपयोगी बनस्पति यहाँ भएका कारण घरेलु उद्योगको विकास पनि यहाँ सम्भव छ ।

पहल र नेतृत्व कसले गर्ने ?
पञ्चासेको विकासको बारेमा सैद्धान्तिक चर्चा गर्न जति सजिलो छ, यसको व्यवहारिक प्रयोग गर्न त्यति नै कठिन छ । कुरा जति गरे पनि मुख्य कुरा विरालोको घाँटीमा घण्टी कसले झुण्डाउने भन्ने प्रश्न नै हो । त्यसका लागि बौद्धिक, आर्थिक, भौतिक लगायतका सबै दृष्टिले सबै एकाकार हुन जरुरी छ । त्यति मात्र नभएर राजनीतिले समग्र क्षेत्रको नेतृत्व र प्रभाव राख्ने कारण स्थानीय राजनीतिकर्मीहरुबीच एकता कायम हुन जरुरी छ । आफ्ना सैद्धान्तिक प्रश्नमा रहेका आस्था र विभेदलाई थाती राख्दै सामाजिक विकासको क्षेत्रमा एकाकार भएर लाग्न सकियो भने जनता र लगानीकर्तामा पनि नयाँ उत्साह र विश्वासको वातावरण निर्माण हुन सक्दछ ।

तर हाम्रो समस्या लगानीकर्तालाई निरुत्साहित पार्ने समस्या पनि हो । प्रायः सबै दलका स्थानीय नेता, कार्यकर्ताको सामाजिक विकासप्रति समर्पित भएर लाग्ने ईच्छाशक्ति नदेखिनु बिडम्वनापूर्ण स्थिति हो । स्थानीय बौद्धिक व्यक्तित्वहरुले गरेको लगानीको हामी विगतमा जस्तै दुरुपयोग नगरी सामाजिक हितका लागि सदुपयोग गर्छौ भन्ने स्थानीय नेताहरुले प्रतिवद्धता जाहेर गर्न सक्ने हो भने लगानीको वातावरण बढ्नेछ । सामाजिक विकासका लागि एकल लगानी नै चाहिन्छ भन्ने केही छैन । स-सानो पैमानामा लगानी जुटाउने हो भने एउटै व्यक्तिलाई ठूलो आर्थिक भार पनि नपर्ने र सामाजिक अपनत्व पनि कायम हुन सक्दछ । लगानीकर्ताले कम्तिमा हाम्रो लगानी त्यत्तिकै खेर जाँदैन भन्ने ढुक्क हुन सक्ने वातावरण निर्माण गर्नु राजनीतिक दलहरुको जिम्मेवारी हो । आर्थिक दृष्टिले विपन्न तर सामाजिक क्षेत्रमा क्रियाशील हुन चाहने र सक्ने व्यक्तिहरुलाई पनि यसको नियमन र व्यवस्थापनका लागि परिचालन गर्न सकिन्छ । यसो हुन सकेमा समाजका कुनै पनि मानिसलाई हीनताबोध गर्नुपर्ने स्थिति पनि कायम रहने छैन ।
समग्र राष्ट्र र समाजको विकासका लागि राजनीतिक स्थीरता र जनमुखी शासनप्रणाली अत्यावश्यक सर्त हो, यस्तो राजनीतिक प्रणालीको जग बसाउन पनि हामी क्रियाशील रहन र दवाव सिर्जना गर्न सक्छौं । तर राज्यले त्यो स्वरुप ग्रहण गरी नसकेको यो अवस्थामा विकासका लागि सबै आफ्ना सबै आग्रह पूर्वाग्रहलाई छोडेर एकाकार हुन सक्छौं कि सक्दैनौं भन्ने प्रश्न महत्वपूर्ण हुन आउँछ । हामी राजनीतिक रुपमा फरक-फरक विचारमा आस्था राखौंला, पारिवारिक रुपमा हाम्रा आपसी मतभेद होलान्, तर सामाजिक कार्य र विकासका लागि के हामीले यी सबै संकीर्ण पक्षहरुलाई बिनाशर्त परित्याग गर्न सक्छौं ? वा सक्दैनौं ? यसमा नै समाज, राजनीति र विकासको भविष्य निर्भर छ ।

लेखक : मनहरी तिमिल्सिना, राम्जा देउराली, पर्बत (लेखकको स्वीकृतिमा प्रकाशित )