एनआरएन यूकेको वैठक सम्पन्न

एनआरएन यूकेको वैठक सम्पन्न


लण्डन । एन.आर.एन. यूकेबाट प्राप्त प्रेस विज्ञप्तिअनुसार, एन.आर.एन. यूकेको बैठक यही २३ जनवरीमा प्लमस्टिडस्थित लण्डन कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टको सभाकक्षमा सम्पन्न भएको छ । बैठकमा निम्नलिखित निर्णयहरु भएको कुरा सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

बैठकमा, गत महिना सडक दुर्घटनामा परी अचेत अवस्थामा उपचार गराइएका कृष्णबहादुर गुरुङको बाबाआमा मंगल गुरुङ र माया गुरुङलाई सहयोग रकम उपलब्ध गराइएको छ । उनीहरुलाई एन.आर.एन. यूकेको आपतकालीन कोषबाट तीनसय पचास पाउण्ड र सगरमाथा नेपाली कम्युनिटी हेस्टिङको तर्फबाट संकलन गरिएको सातसय छत्तीस पाउण्ड गरी एक मुष्ट एकहजार छयासी पाउण्ड रकम एन.आर.एन. यूकेका कार्यसमितिका सदस्य टुका क्षेत्री र एन.आर.एन.यूकेका अध्यक्ष सूर्य गुरुङले हस्तान्तरण गरे । पढाइको सिलसिलासँगै यूके आएका डुम्रे, तनहुँ निवासी कृष्णबहादुर गुरुङ प्लमस्टिडमा साइकल चलाइरहेको समयमा गाडीले ठक्कर दिएपछि हालसम्म अचेत अवस्थामै छन् । उनको स्वास्थ्य उपचार प्लमस्टिडस्थित एलिजावेथ अस्पतालमा भइरहेको छ । उनको नाजुक स्वास्थ्यस्थितिका कारण नेपालमा रहेका आमाबुबालाई यूके झिकाईएको थियो । यसै सिलसिलामा उनी र उनको अभिभावकलाई आवश्यक पर्ने अन्य सम्पूर्ण सरसहयोगको संयोजन गर्न एन.आर.एन.यूकेको तर्फबाट टुका क्षेत्रीलाई विशेष जिम्मेवारी दिइएको छ ।

बैठकले विश्व शान्तिको बिकुल फुक्दै विश्व साइकल यात्रामा निस्केका झापाका ढाकेश्वर क्षेत्रीलाई उनको साइकल यात्राको पूर्ण सफलताको कामनासहित २०० पाउण्ड सहयोग गरेकोछ ।

बैठकमा क्यान्सर रोगबाट पीडित भई सफल स्वास्थ्य उपचारपछि जीवनदान पाएका नेपाली विद्यार्थी नवीन परियारले आफ्नो हालको अवस्थाको बारेमा जानकारी दिएका थिए । उनले आफ्नो जीवन बचाउन सहयोग पुर्‍याएवापत एन.आर.एन यूकेप्रति आभार प्रकट गरे र सहयोग पुर्‍याउने सम्पूर्ण संघसंस्था तथा महानुभावहरुलाई धन्यवाद दिए । बैठकले नवीन परियारको स्वास्थ्यप्रति खुशी ब्यक्त गर्दै उनको जीवनको सफलताको कामनासहित उनलाई बधाइ दिइएको छ । बैठकले एन.आर.एन.यूकेको तर्फबाट नवीन बचाऊ अभियानको संयोजक भई आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेकोमा कार्यसमितिका सदस्य टुका क्षेत्रीलाई उनको अथक मेहनतको उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद दिएको छ । साथसाथै, बैठकले नवीन परियारको भीसालगायत अन्य सम्पूर्ण कानूनी प्रक्रियाहरुमा निःशुल्क रुपले सहयोग पुर्‍याएका सोलिसिटर राजु थापालाई हार्दिक धन्यवाद दिएको छ ।

बैठकमा एन.आर.एन.को भर्खरै दुबाइमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनको बारेमा अध्यक्ष सूर्य गुरुङले प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनअनुसार बेलायतबाट दशजना प्रतिनिधि मण्डलले भाग लिएको, नेपालबाट उच्च राजनीतिक व्यक्तित्वहरु, सरकारी उच्च पदस्थ पदाधिकारीहरु, पत्रकारहरु, उद्योगीव्यवसायहीरु तथा एन.आर.एन. का पदाधिकारीहरुसहित १०६ जनाको सहभागिता रहेको, विश्वको २२ देशहरुबाट ४०४ जना अन्तर्राष्ट्रिय प्रतिनिधिहरुले भाग लिएको, सामूहिक लगानी र सुरक्षित आप्रवासनको वारेमा घनिभूत छलफल भएको, गैरआवासीय नेपालीहरुको दोहोरो नागरिकताको व्यवस्थाको बारेमा अन्तिम टुंगोमा पुर्‍याउन योजना तय गरिएको छ । यस अन्तर्राष्ट्रिय सम्मेलनलाई विश्वकै सुन्दरतम व्यापारिक केन्द्रको रुपमा विकसित संयुक्त अरव इमिरेट्सको रमणीय शहर दुबाईमा भव्य रुपले सम्पन्न गर्ने सम्मेलन आयोजक समितिका मित्रहरुलाई विशेष धन्यवाद दिने निर्णय गरेको छ ।

बैठकले आगामी जुलाई ९ तारिखमा लण्डनस्थित ट्राफल्गर स्क्वायरमा आयोजना गरिने भिजिट नेपाल २०११ सम्बन्धि नेपाल प्रवर्द्धन कार्यक्रमको तयारीको बारेमा छलफल गरेको छ । हालै उक्त स्थलमा कार्यक्रम गर्न अनुमति लिने प्रक्रियामा रहेकोले कार्यक्रमसम्बन्धी अन्य कामको संयोजन गर्न अध्यक्ष सूर्य गुरुङलाई विशेष जिम्मेवारी दिइएको छ । निकट भविष्यमा कार्यक्रम स्थलको अनुमति प्राप्त हुनासाथ कार्यक्रमको अन्य तयारीहरु युद्ध स्तरमा अगाडि बढाउने निर्णय गरिएको छ ।
-मेस, लण्डन