महामानव बीपी र मेलमिलाप-शोभाकर पराजुली

महामानव बीपी र मेलमिलाप-शोभाकर पराजुली


देशमा २००७ सालभन्दा पहिला जहानियाँ शासन थियो । त्यो राणाशासनविरुद्धको सङ्घर्षको नेतृत्व नेपाली काङ्ग्रेसले गरेको हो र सफलता पाएर नेपाली जनतालाई दासताबाट मुक्त गर्न सकेको हो । २०१७ सालदेखि २०४६ सालसम्मको लोकतन्त्रको पुनर्स्थापनाको सङ्घर्ष र नेतृत्व यही दलले गरेको होे । त्यस दौरानमा हजारौँ लोकतन्त्रवादी काङ्ग्रेसहरूले ज्यान गुमाउनुपरेको हो । लाखौँ पीडित हुनुपरेको हो । ती सबैको आस्थालाई निभ्न नदिन र मानवको रूपमा बाँच्ने आशालाई मर्ूतरूप दिन काङ्ग्रेसले नै महत्त्वपूर्ण भूमिका खेलेको हो । यसको एउटा मात्र लक्ष्य भनेको शोषणरहित समाजको सिर्जना गर्नु र यसको माध्यमबाट राष्ट्रियतालाई बलियो बनाउँदै देशलाई विकासको पथमा अगाडि बढाउनु हो ।
०१५ सालको चुनावपछि नेपाली काङ्ग्रेसले अत्यधिक जनसमर्थनको कारणले सरकार गठन गर्ने अवसर प्राप्त गर्‍यो तर राजा महेन्द्रलाई त्यो मन परेको थिएन । तैपनि महामानव बीप्ाीको सरकार बन्यो । यो सरकारका नीति विकास र शोषणरहित समाजको निर्माणमा नै केन्द्रित रहेको थियो । समाजवादका व्याख्याता एवम् त्यसलाई व्यवहारमा उतार्न कटिबद्ध बीपी र उहाँका सहयोगीहरू सुवर्णशमशेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, रामनारायण मिश्र, शेष इद्रिससमेत धेरै नेताको अथक प्रयासबाट देशमा विकास र समानतालाई साथै लग्ने कार्य भएको थियो । समाजवादी विचारका मुख्य शिल्पी महामानव बीपीले त्यतिबेला विकासका धेरै कार्यलाई अगाडि बढाउनुमात्र भएन बरु गरिबको हित नगर्ने विकास विकास नै होइन भन्ने आदर्शका साथ कार्य गर्नुभयो । समाजवाद भनेको जाली फटाहाहरूको उन्मूलन, ग्रामीण क्षेत्रमा रोजगारीको अभिवृद्धि, जग्गा जोत्नेको हुनुपर्ने, उद्योगधन्दामा मजदुरहरूको हितको संरक्षण हुनुपर्ने, योजना बनाउँदा गरिब किसानको हितलाई ध्यान दिएर बनाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, नेपालको उन्नति नेपालकै जगमा अडिएको हुनुपर्ने विषय हो भन्ने धारणा राख्दै व्यवहारमा पनि लागू गर्दै आउनुभएको थियो । राजनीतिमा पूर्ण लोकतान्त्रिक प्रणाली, अर्थनीतिमा शोषणरहित समाज र सामाजिक नीतिमा विभेदरहित समानता उहाँका लक्ष्य थिए र यिनलाई उहाँले काङ्ग्रेसको नीति नै बनाउनुभएको होे । तर, यो विचार तानाशाह महेन्द्रलाई पाच्य भएन । उनले २०१७ साल पुस १ गते लोकतन्त्रलाई नै समाप्त गरेर आफ्नो तानाशाही व्यवस्था लादे ।
महामानवको कालजयी धारणा यस्तो छ- जब म नेपालको कल्पना गर्दछु- त्यसबेला तिनै गरिब दाजुभाइ तथा दिदीबहिनीको तस्बिर मेरोअगाडि आउँछ । मैलो लुगा लगाएका, खान नपाएका र रोगी अनुहारको तस्बिर । अनि मलाई लाग्दछ- यी रोगी, खान नपाएको अनुहार पो त हाम्रो देश हो । त्यसो हुनाले त्यही खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो जाओस्, केटाकेटीले पढ्न पाऊन्, रोगीलाई औषधिमूलोको व्यवस्था होस् भनेर हामी राजनीतिमा लागेका हौँ ।
उहाँ जहिले पनि देश, जनता, विकासको बारेमा मात्र लाग्नुभयो । योभन्दा बाहिर व्यक्तिगत सोचको प्रधानता उहाँमा रहेन । जनताको हित र उन्नतिका लागि ज्यानको बाजी लगाएर नै उहाँले काम गर्नुभयो । समानता, विकास, जातीय भेदभावको प्रतिकार, महिलाको अधिकारको रक्षा, विवेकको प्रधानता, नयाँ विचारहरूप्रतिको आस्थाजस्ता विषयहरूलाई उहाँले जहिले पनि महत्त्व दिनुभयो । यिनै कारणले उहाँ विश्वस्तरीय नेताको रूपमा स्थापित हुनुभयो । दार्शनिक, साहित्यकार एवम् राजनीतिक व्यक्तित्व बीपी राजनीति, साहित्य र दर्शन सबै क्षेत्रमा समानता र विकासको पक्षमा उभिनुभयो । मानवीय हित, मानवीय संस्कृति उहाँका आस्थाका धरोहर थिए र हामीहरूको पनि हुनुपर्छ नै । लोकतान्त्रिक किसिमले साम्यवादी आर्थिक नीति लागू गरिन्छ भने त्यो समाजवादी हुन्छ भन्दै राजनीतिमा दमन र अर्थनीतिमा शोषणको अन्त्य र निमुखालाई इन्साफ दिँदै विकास गर्नु राजनीतिको लक्ष्य हो भन्ने तथ्यलाई उहाँले सधंै उजागर गरिरहनुभयो । लोकतन्त्र राजनीतिज्ञले जनताको हित गरे कि गरेनन् भन्ने जाँच्ने कसी हो भनेर लोकतन्त्र जनताको तन्त्र हो भन्ने प्रस्ट पार्नु बीपीको जनताको पक्षधर विचार थियो ।
महामानवले भन्नुभएको एउटा तथ्यलाई धेरै साथील्ो मनन र आत्मसात् गर्न आवश्यक छ । कार्लमाक्र्सले मानिस रोटीबाट सञ्चालित हुन्छ भन्नुभएको थियो । तर उहाँले मानिस विवेकशील प्राणी हो त्यसैलेे मानिस ब्रेडले मात्र होइन ब्रेनले सञ्चालित हुन्छ, नत्रभने माक्र्सले भाषण गर्नु र पर्चा र्छर्नुको औचित्य के – भन्ने प्रश्न गर्नुभयो । यही परिप्रेक्ष्यमा उहाँको राष्ट्रिय मेलमिलापको आसयको चुरो भनेको लोकतन्त्रको विपक्षमा सम्झौता हुन सक्दैन, राष्ट्रियताको संरक्षण लोकतन्त्रले गर्छ भन्ने हो ।
महामानवका केही कालजयी विचारहरू यस्ता छन्- ‘म गाउँको बेरोजगारीलाई हटाउन चाहन्छु ।……मलाई नेपाली मानिसमाथि विश्वास छ । म राजनीतिमा लाग्ने थिइनँ यदि जनतामाथि विश्वास नभएको भए । यो देशको तक्दिरमाथि मलाई यत्रो विश्वास नभएको भए, म दस वर्ष जेलमा बस्दा र फाँसीको फन्दाको नगिच पुग्दासम्म बाँचिरहने थिइनँ । … म युनिभर्सल कल्चर -विश्व्ा संस्कृति)मा विश्वास गर्दछु ।…. हामीहरूको जस्तो अवस्थामा -अव्यवस्थित) विदेशी सहायताले विकासको प्रक्रियालाई मद्दत गर्नुको सट्टा एउटा वर्ग मात्र सिर्जना गर्दछ, जसको सम्पन्नताको देशको आर्थिक अवस्थासित कुनै सम्बन्ध छैन, त्यो सम्पन्नता केवल विदेशी सहायतालाई आफ्नो खल्तीमा हाल्ने, भ्रष्टाचार गरर््र्नेे …. जस्ता कुरामा आधारित छ । ….नाङ्गा पैताला र झुत्रो लुगा लगाएकालाई सोध्नुहोस् । नेपाली नागरिकलाई सोध्नुहोस्, जे जवाफ पाउनुहुन्छ त्यही गर्नुहोस् । त्यही तपाईंको कर्तव्य हो । … जनअधिकारको अपहरणले राजनीतिमा दमन र अर्थतन्त्रमा शोषणको रूप लिन्छ । म यी दुवै कुराको विरोधमा छु । … समाजवादको एउटा मुख्य लक्ष्य छ, जसले यस महान् आन्दोलनलाई प्रेरणा दिन्छ । त्यो हो समानता । समानता भनेको राजनीतिक तथा आर्थिक समानता ।… लोकतन्त्र त बडो सन्तुलित, विरोधीहरूको पनि कुरा सुन्ने, सहनशील, तर सुन्ने मात्र होइन, विरोधीहरूले भनेको ठीक छ भने हो पनि भन्ने किसिमको पद्धति हो । …म गाउँमा नहर, पानी, स्वास्थ्य, शिक्षा, आवास र सांस्कृतिक समस्याहरूलाई सर्वाधिक महत्त्व दिन्छु ।’ उहाँका यी विचारहरूलाई अहिले पनि हामीले आत्मसात् गर्न सक्नुपर्छ । यी लक्ष्य पूरा गर्न अहिले पनि हामीबीच मेलमिलापको उत्तिकै महत्त्व छ ।
उहाँले २००७ सालभन्दा पहिलादेखि नै नेपालमा लोकतन्त्रका लागि गरेको योगदान र नेतृत्वको कारण हामीले राणाशासनको अन्त्यबाट अगाडि बढ्न सकेका हौँ । उहाँले भारतको स्वतन्त्रता आन्दोलनमा समेत अहम् भूमिका खेल्नुभएको थियो । लोकतन्त्र र विकास, समानता र विभेदको अन्त्य जहिले पनि आवश्यक छ । कसैलाई पनि निषेध गरेर राजनीति गर्नुहुँदैन र जनताको हितका लागि राष्ट्रका शक्तिहरूबीच मेलमिलाप हुन आवश्यक छ भन्ने मान्यता उहाँको हो । विकास, समानता, लोकतन्त्रका लागि मेलमिलापलाई प्रयोग गरिनुपर्छ भन्ने लक्ष्यका साथ ज्यानको बाजी लगाएर ०३३ सालमा उहाँ स्वदेश आउनुभएको थियो । लोकतन्त्रको पक्षमा राजा नरहे राजसंस्थाको औचित्य समाप्त हुनेछ भन्ने धारणा उहाँले बारम्बार राख्नुभएको थियो । एकदलीय र बहुलवादविरोधी सोच त्यागेर मेलमिलापलाई आत्मसात् गर्दै अगाडि बढ्न आवश्यक छ भन्ने सन्देश अहिलेका लागि अझ सान्दरि्भक छ ।