समाजले छोड्न नसक्ने अर्को कलंक लागू पदार्थ

समाजले छोड्न नसक्ने अर्को कलंक लागू पदार्थ


-सुमल कुमार गुरुङ,
लागू पदार्थ अर्थात् ड्रग्सलाई परिभाषित गर्दा त्यो पदार्थ जसलाई सेवन गरेपछि शरीरमा केही परिवर्तनको अनुभूति साथै अरुको आँखाले भाँप्न सक्ने लक्षणहरु देखा पर्दछ तथा यसको सेवनबाट शरीरको साधारण प्रक्रियालाई फरक पार्दै अर्कै खाले प्रभाव पार्दछ भन्ने बुझिन्छ । लागूपदार्थ अर्थात् ड्रग्सको कुनै निर्दिष्ट परिभाषा हुँदैन, यसको लत् लागेर बढी सेवन गर्न थालेपछि केवल अनुभूति र व्यवहारले शारीरिक तथा मानसिक स्थितिलाई फरक पार्ने कुरा हुन्छ । तर, विभिन्न लागू पदार्थहरुको नाममा फरक हुनुको साथै रसायनिक समिश्रणहरुको प्रभाव पनि फरक फरक हुन्छन् । कुनै पनि दवाइ अथवा ड्रग्स सेवन गरेपछि त्यसको साइड एफेक्ट (नकारात्मक असर) शरीरमा हुने गर्दछ । उदाहरणको लागि टाउको दुःखेको औषधि बढी सेवन गरेको अवस्थामा टाउको दुखाइ निकोहोला तर परोक्षरुपमा मान्छेलाई कमजोर पनि बनाएको हुन्छ । वास्तवमा सधै खाइरहने खानपिन पनि बढी खाए यसले नकारात्मक असर पार्दछ । लागू पदार्थ सेवन गरेपछि यसको मात्रपनि बढ्दै जान्छ मान्छेले यसलाई अन्तिम अवस्थामा आइपुग्दा नियन्त्रण गर्न गाह्रो हुन्छ त्यसपछि केही समयको पाहुना सरह पृथ्वीमा जीवित रहन्छ र उमेर नपुग्दै जिब्रो टोक्छन् अर्थात् मरेर जान्छन् ।
म सानो छँदा पारसमणि प्रधान रचित एउटा कविता अम्मलको बारेमा पढेको थिएँ । अम्मल अथवा लत् लागेपछि मान्छेको दिनचर्या त्यो अम्मल सेवन नगरी रहन सक्दैनन् यसबाट छुटकारा पाउन गाह्रो हुन्छ भन्ने सन्देश दिँदै उहिले यदुवंश अम्मलको कारणले गर्दा सर्वनाश भएको कुराको उदहारण दिँदै अम्मल नगर्ने संदेश र उपदेश त्यस कवितामार्फत दिएका थिए । महाभारतकालमा कृष्ण भगवानका छोरा, नातिहरुलाई मदिरा (सोमरस्) सेवन गर्ने लत् बसेका हुन्छन् । एकदिन बनमा सोमरस् पिएर नशाको प्रभावमा उपद्रव गर्ने विचारले नजिकैको आरण्यमा दुर्वाशा ऋषी तपस्य गर्दै ध्यानमग्न भएको बेलामा एकजना साम्ब नाम गरेको कृष्णको नातिलाई प्रधुम्नले स्त्रिको पहिरन पहिर्याउँदै भुँडीमा कपडा राखेर पेट ठूलो देखाएर गर्भिणी भएको नाटक गर्छन् । ऋषीलाई छक्याउँन तपस्या गरेको ठाउँमा जान्छन् र ऋषीलाई, “यसको गर्भमा के छ -” भनेर सोध्छन् । उनलाई छक्याउन आएको कुरा ऋषीलाई थाहा लाग्छ अनि क्रोधित भएर “यसको पेटमा एउटा फलामको मुशल छ त्यसबाट सबै यादव वंशको सर्वनाश हुनेछ” भनेर श्राप दिन्छन् । मदिराको नशामा ऋषीलाई दुर्व्यवहार गरेकोले श्राप पाउँछन् । अलिपर गएर भुँडीको लुगा फुकाल्दा साँच्चै नै फलामको मुशल भेट्टाउँछन् । यो मुशलले हामीलाई सर्वनास गर्नेछ भनेर सबैजना मिलेर मुशल रेटेर धूलो, चुर्ण बनाएर नदीमा फालिदिन्छन्, अन्तमा सानो रेट्नै नमिल्ने तिखो टुकडा रहन्छ त्यो जाबोले केही हुँदैन भनेर नदीमा फ्याँकिदिन्छन् । नदीमा बगाएको धूलो चुर्णहरु परिवर्तन भएर तलतिर नदी किनारामा काँसका तरवार, खड्गाहरु बन्दै तेर्सिदै निस्कन्छन् । सानो फलामको टुकडा एकजना व्यधाले माछा किनेर ल्याउँदा पेटमा फेला पार्छन् अनि त्यसलाई आफ्नो शिकार खेल्ने तीरको टुप्पोमा जडान गर्छन् । सधै नशामा मातिईंदै बनमा हिँड्दा नदी किनारामा आइपुग्दा यादवहरुको झगडा हुन्छ अनि मुड्का-मुड्की हुँदै ती तलवार र खड्गहरु उठाएर एकआपसमा प्रहार गर्दै लड्छन् र एकआपासमा काट्दै सबै मर्छन् । बलराम यादवहरुको त्यो लीला देखेर नदीमा हमफालेर शरीर त्यागी परमधाम जान्छन् । कृष्ण सबै नाति छोराहरु मरिसकेकाले विरक्त भएर पिपलको रुखमुनि जंगलमा उपरखुट्टी गरेर सुतेको बेलामा खुट्टाको अँगुठालाई हरिणको कान सम्झेर व्यधाले तीर चलाउँदा कृष्ण भगवानले मानव चोला त्यागेर बैकुण्ठधाम जानुहुन्छ । धार्मिक दृष्टिकोणबाट हेर्दा यो सबै भगवानको लीला हो भनेर वर्णन गरेका छन्, तर, मदिराको कारणबाट वंश नष्ट हुनसक्छ भन्ने दृष्टान्त अवश्य नै लागू पदार्थ राम्रो होइन भनेर उदाहरण दिएकाले यसको सेवन निश्चित रुपमा फाइदा जनक होइन भन्ने पुष्टि हुन्छ ।
लागू पदार्थको सेवनले वंशमात्र नभई देश पनि गुम्न पुग्छ । हामीले चीनको इतिहासलाई हेर्ने होभने उन्नाईसौ शताब्दीको पूर्वार्धमा जब युरोपेलीहरुले उपनिवेश विस्तार गर्ने होड्मा थिए, त्यतिबेला व्यापारको वहाना बनाउँदै युरोपलीहरुले त्यहाँका भूभाग नै कब्जा गर्दै आएका थिए । बेलायतले अफ्रिकादेखि भारत, मलेसिया, सिंगापुर हुँदै चीनसम्म आफ्नो प्रभाव फैलाएर बेलायती प्रभुत्वको शासन स्थापना गर्न सफल भएको थियो । भारतलाई नियन्त्रणमा लिएपछि बेलायतले भारतमा अफिम् उत्पादन गरेर चीनका ग्वाङजोउ र हङकङमा लागू पदार्थ अफिमको व्यापार गर्न सफल भएको थियो । चिनियाँ सम्राटले यस व्यापारलाई रोक्ने ठूलो प्रयास गरेका थिए, तर, अफिमको कारणले चीन र बेलायतको बीचमा सन् १८३९ देखि प्रथम युद्ध शुरु हुँदै तीनपटकसम्म अफिमयुद्ध भएको थियो । यी ती नै युद्धमा चीनले शर्मनाक पराजय भोग्नु पर्यो । चीनले बाध्य भएर सन्धि गर्‍यो जसबाट चीनले आफ्नो भूभाग हङकङ र चीनको केही भित्री भाग गुमाएर ठूलो घाटा हुने सन्धिमा सम्राटले हस्ताक्षर गरेका थिए । चिनियाँहरु अफिमको लत् लाग्नुको कारणले युद्धमा हारेर झण्डै डेढ शताब्दी आफ्नै भूभागमा अर्काको गुलाम बनेर बस्नु परेका थिए ।
बाब रैली, अमेरिकाको अलाबामा राज्यको गभर्नर तथा अमेरिकी प्रतिनिधि सभा सदस्यका भनाइअनुसार, “लागू पदार्थ आशा र लक्ष्यको शत्रु हो । हामी लागूलपदार्थको विरुद्ध लड्नु भनेको भविष्य निर्माणको लागि लड्नु हो” भनेका छन् । विश्वभरि नै लागू पदार्थबारे यसको सेवनलाई निरुत्साहित गरेर उन्मुलन गर्ने अभियानहरु धेरै अघिबाट विभिन्न राष्ट्रहरुमा शुरु भई सकेका छन्, तर, जति-जति यसलाई निर्मुल गर्ने प्रयास भइरहेको छ उति नै यो फैलिँदै गइरहेको छ । बब रैलीले भनेजस्तै लागू पदार्थको लत् लागेपछि लत् लाग्ने मान्छेको पतन् हुनथाल्छ जसबाट कुनै आशा र लक्ष्यको अपेक्षा गर्न सकिँदैन । जीवन कालमा मैले पनि यस्ता धेरै लागू पदार्थ सेवन गरेर धन, स्वास्थ्य तथा पारिवारिक शान्ति लुटेका व्यक्तिहरु देखेको थिएँ ।
एकजना मेरा आफ्नै नाता पर्ने व्यक्तिको एक्लो किशोरावस्थाको बच्चा लागू पदार्थको सेवनबाट अल्पायुमा नै बितेको थियो, ती आधाबैंस काटिसकेका बुवाआमा जसले केवल एकजना बच्चा पैदा गरेर उनको भविष्यको सुनौलो सपना देखेर बाँच्ने अधार बनाएका थिए, उनीहरुलाई कति ठूलो बज्रपात भएको होला हामी सहजै अनुमान गर्न सक्छौं । केही वर्षअघि एकजना आफन्त पर्ने अर्को व्यक्तिको २५,२६ वर्ष पुगेका पढेलेखेको जवान छोराको पनि लागू पदार्थको सेवनबाट ब्रैन ड्यामेज भएर मृत्यु भएको थियो । कसैको पनि जवान छोराको मृत्यु हुँदा बुवाआमालाई पुग्ने चोटले आजीवन पिरोलिइरहेको हुन्छ । अन्त्येष्टिपछि मृतकका बुवाले सबैलाई, अन्त्येष्टिमा आएर सहयोग गरेका सबै इष्टमित्रहरुलाई गहभरि आँशु लिँदै धन्यवाद ज्ञापन गर्दा, “ मैले धेरै माया गरेको छोरा हङकङले मलाई दिएको थियो, अहिले हङकङले नै लग्यो” भनेको सुन्दा मैले पनि आफ्नो आँशु थाम्न सकेको थिएन । त्यो जवान छोरा बुवा सेनामा हुँदा हङकङमा नै जन्मेको रहेछ पछि हङकङ आईडी प्राप्त गरेर हङकङमा गएपछि लागू पदार्थ सेवनको कारणबाट मृत्यु भएका थिए । यसरी अनाहकमा र अन्जानमा लागू पदार्थको लत् लागेर जीवन गुमाउनेहरु कैयौलाई मैले देखेको छु । यो आधुनिक समाजको कलंक हो ।
लागू पदार्थ पिउनेदेखि खाने, सुघ्ने, इन्जेक्शन लगाउनेदेखि विभिन्न प्रक्रियाबाट सेवन गरिन्छ । यसमा सल्काएर प्रयोग गरिने धूवा, तरल, पाउडर र साह्रो सबैखाले लागू पदार्थहरु हुन्छन् । कैयौले घरैमा पनि उत्पादन गरेर सेवन गर्छन् । प्रयोग गरिने तरिकाहरु खाने, पिउने, नाकको प्वालबाट तान्ने अथवा शरीरमा इन्जेक्शन लगाउने सबैखाले हुन्छन् । रक्सी, गाँजा, सिगरेट, चरेस, फ्याक्टरीबाट उत्पादित, एमफेटामिन, मेटाम्फेटामिन्, एक्जेट्सी, रिटालिन, हर्बल एक्जेट्सी डिजाइनर म्रग्स्, कोक्याइन, क्रयाक्, हेरोइन, पीसीपी, एलएसडी, मशरुम (लागू पदार्थवाला च्याउ), इन्हालान्टस्, मारिजुआना र एस्टेरिओड्स इत्यादि हालसम्म प्रयोग हुने लागू पदार्थहरु हुन् । संसारमा कुनै न कुनै प्रक्रियामा मान्छेले लागू पदार्थ सेवन गरेको हुन्छ चाहे त्यो प्रसादको रुपमा नै किन नहोस् । वास्तवमा लागू पदार्थ सेवन नै नगरेको मानिस भेट्टाउन यो संसारमा दुर्लभ देखिन्छ । तपाईलाई बिमारी हुँदा डाक्टरले अथवा वैद्यले दवाइ दिँदा कतिपए दवाइहरुमा लागू पदार्थ मिस्सिएको पाइन्छ । उदाहरणको लागि खाँसीको दवाइ फ्यान्सीडेल लागू पदार्थ सेवन गर्नेहरुले खोजी-खोजी किनेर खाने गरेका हुन्छन् । यसको सेवनबाट क्षणिक आनन्द आउँछ, तर, बढी प्रयोग गरेपछि नकारात्मक असर पुग्छ ।
मैले जीवनमा चरेस एकदुईपटक तानेको छु र हिप्पीहरुको बिग्बिगी सन् सत्तरीतिर थियो त्यतिबेला साथीहरुको लहलहैमा गाँजा पनि तानेको थिएँ । मलाई लत् भने लागेको थिएन, तर, १७, १८ वर्षको हुँदा साथीहरुले खैनी खाना सिकाएका थिए अनि खैनी खानेबानी बस्यो । मैले खैनी धेरै वर्ष खाएँ । विवाह भएपछि पनि खैनी खाने थिएँ, तर, श्रीमतीले खैनीखाएको कति रुचाईनन् त्यसकारण श्रीमतिको सल्लाहबाट नै सिगरेट पिउन थालेँ । केही वर्ष सिगरेट पिएँ मैले । मेरा २ बच्चाहरु जन्मे । सिगरेट पिउनथालेपछि मैले धेरै पिउन थाले । बेलुकि क्लर्कमेसमा गएर रक्सी पिउँदा कति सिगरेट फुकेछु भन्ने हेक्का हुन्थेन । मैले बढी सिगरेट पिउन थालेपछि श्रीमतीले चिन्ता गर्न थालिन् र सधै सिगरेट कम पिउने र छोड्ने कुरामा जिद् गर्न थालिन् । कतिपय साथीहरुले मर्दले एउटा अम्मल त गर्नुपर्छ भनेर आफू पनि पिउने अरुलाई पनि उक्साउने काम गर्थे । एकदिन मैले एउटा म्यागजिनमा सिगरेट र लागु पदार्थबारे अनुसन्धान गरेर लेखेको अति सान्दर्भिक लेख पढेँ । यसमा धेरै पिएपछि विभिन्न रोगहरु र सिगरेट पिउने मानिसहरुको स्वास्थ्य र आयुको समेत विवरण बडो सटिक ढंगमा डरलाग्दो तरिकाले लेख प्रस्तुत गरेका थिए । अर्को कुरा सिगरेट पिउने मान्छेले आफूले आफ्नै लागि रोग निम्तो गरेको हुन्छभने वरिपरिका मानिसहरुलाई आफूले पिएको सिगरेटको धूँवाले (एसएचसी, सेकण्डहृयाण्ड सिगरेट) अरुलाई नराम्रो हानी पुर्‍याउँछ भन्ने उल्लेख गरिएको थियो । मैले आफ्नो २ जना अबोध बच्चाहरुलाई सम्झेँ, छोरा भर्खरै एक वर्षको भएको थियो र छोरी चारवर्षकी थिईन् । मैले यी निर्दोष बच्चाहरुको भविष्य किन बिगार्ने -मैले पिएको सिगरेटको धूवाले मेरी पत्नी र बच्चाहरुलाई किन हानी पुर्‍याउने ? यिनीहरुले के बिगारेका छन् ? भन्दै मैले सोचे र जाबो धूँवा पिएर लाखौं पैसा खर्च गरिसकेकोमा आफूलाई धिक्कार्दै, काठमाडौ जाँदा पशुपतिनाथको मन्दिरअघि एक डब्बा फिल्टरवाला चुरोट फालेर सिगरेट छोडेको थिएँ । अहिले सिगरेट छोडेको २३ वर्ष भयो, त्यस्तै मैले रक्सी पनि धेरै पहिले छोडिसकेको छु ।
अहिलेको वैज्ञानिक युगमा हामीलाई थाहा छ कुन चिज सेवन गर्नाले कस्तो असर हुन्छ । यस्ता चिजहरुको सेवन नगरौ जसले सिंगो समाज र देश हाँक्ने हाम्रा सन्ततीहरुलाई बर्बाद गर्दछन् । पोखरामा एकपल्ट आमा टोलीको पहलबाटा लागू पदार्थ सञ्चालन गर्ने सिन्डकेटलाई धराशायी गर्ने प्रयास भएको थियो । यस्तै विचार राखेर सबै पक्षबाट यदि यी समाजका राक्षसहरु जसले आफ्नो स्वार्थको लागि पैसा आर्जन गर्नलाई लागू पदार्थजस्तो विषको व्यापारमा कलिला बच्चाहरुलाई फसाएर लागू पदार्थको लत् लगाएर मार्दछन्, यिनीहरुलाई पकडेर फासी दिनुपर्छ ताकि यस्तो समाज बर्बाद गर्ने व्यापार कसैले गर्न नसकोस् । लागू पदार्थ रोकथामकालागि विभिन्न देशहरुमा तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार-प्रसार गरिहेको यथार्थ छ । नार्कोनन् इन्टरनेशनल संस्थाले ड्रगसम्बन्धी सूचना, शिक्षा र लत्बाट मुक्त दिलाउने मानवीय कामहरु संसारका कैयौ राष्ट्रहरुमा खोलेर काम गरिरहेको छ । नेपालमा यो संस्थाको पहल रिटायर प्रहरी अधिकारी बसन्तराज कुँवरको संयोजनमा परिचालित हुँदै आएको छ तथा हजारौलाई लागू पदार्थ सेवनबाट मुक्ति दिलाई सकेका छन् र देशको मूलधारमा फर्काई सकेका छन् । यस संस्थामार्फत प्रत्यक्ष टीभीमा प्रसारण, खबर कागजहरु, ई-मेल, सभा तथा सेमिनारहरु आयोजना गरेर यसकार्याक्रमले प्रत्यक्ष अथवा परोक्ष रुपमा सत्तरीलाख मानिसहरुलाई प्रभावित पारिसकेको छ । राजधानीमा लागू पदार्थ विरुद्ध ५ हजार जनाको विशाल र्‍याली प्रदर्शन गरेर लागू पदार्थ निर्मुल गर्ने पहल कुँवरजीले गरेका छन् । हामी पनि यसको लत् लाग्नेहरुलाई आजबाट नै त्याग्न लगाएर स्वास्ग्य समाजको निर्माण गरौं, समाजले छोड्न नसक्ने अर्को कलंक लागू पदार्थलाई निर्मुल गरौं । यस स्तम्भलाई यतिभन्दै यही बीट मार्ने अनुमति चाहान्छु ।
-Writer can be reached at [email protected]