नेपालमा नयाँ प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा

नेपालमा नयाँ प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा


काठमान्डौ । नेपालको व्यवस्थापिका संसद्मा आज प्रधानमन्त्रीको चुनाव हुँदै छ । सहमतिको प्रयास गर्दै आएका तीन ठूला दल अन्ततः नयाँ प्रधानमन्त्रीका लागि आपसी प्रतिस्पर्धामा उत्रेका छन् ।

एमाले अध्यक्ष झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका हुन् । तिनैजना नेताले बहुमत पुर्‍याउने आधार भने प्रस्तुत गर्न सकेका छैनन् ।

आन्तरिक विवादमा रहेका माओवादी र एमालेले अन्तिम समयमा प्रधानमन्त्रीको उम्मेदवारी दिने निर्णय गरेका हुन् । एमाले केन्द्रीय समिति बैठकले अध्यक्ष खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको आधा घन्टा नबित्दै माओवादी पोलिटब्युरो बैठकले पनि अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेसले भने संसदीय दलका नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय पहिल्यै गरेको थियो ।

माओवादी अध्यक्ष प्रचण्डले नतिजा आफ्नो पक्षमा आउने दाबी गरे, यद्यपि उनले सहमतिका लागि सबै विकल्प खुला रहेको बताए । कांग्रेस उम्मेदवार पौडेलले पनि चुनाव आफूले जित्ने दाबी गरे ।

यसैबिच आफूले सरकारको नेतृत्व नपाए एमाले अध्यक्ष झलनाथ खनाललाई सघाउने संकेत माओवादीले गरेकोछ । तर माओवादी समर्थनमा मात्रै झलनाथलाई प्रधानमन्त्री बनाउन हुने वा नहुनेमा एमाले नेताहरू विभाजित बनेका छन् । -मेस