कमाउन विदेशिनु नपर्ने उदाहरण बने शितगंगाका वासिन्दा

कमाउन विदेशिनु नपर्ने उदाहरण बने शितगंगाका वासिन्दा


शितगंगा नगरपालिका (अर्घाखाँची)को ग्रामीण क्षेत्र मौहावारी र पाकुरीबस्तीका वासिन्दाले बाख्रापालनबाट वार्षिक तीनलाख सम्म आम्दानी गर्ने गरेका छन् । शुरुमा ५–६ वटाको सङ्ख्याबाट बाख्रापालन आरम्भ गरेका उनीहरू हाल ३२ देखि १२५ वटासम्मका बाख्राधनी बनेका छन् । सुधारिएको खोर निर्माण र बाख्राहरूको पालनपोषणका आधुनिक विधि सिकाईपश्चात स्थानीयवासी बाख्रापालनतर्फ आकर्षित भएका हुन् । बाख्रापालनबाट आम्दानी गर्न लागेपछि जीवनस्तरमा परिवर्तनको आशा भित्रिएको मौहावारीकी विमला राउतले बताइन् ।

जिल्लाको करिव एक चौथाई भू–भाग ओगटेको साविक सिद्धारा गाविस पछिल्लो संरचनाअनुसार शितगंगा नगरपालिकाको तीनवटा वडामा सीमित बनेको छ । भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठुलो नगरपालिकाको रूपमा परिचित शितगंगा नगरपालिकाको सिद्धारा पुगेपछि विकटताका लागि कर्णाली पुग्नु पर्दैन । एक गाउँवाट अर्को गाउँमा पुग्नका लागि दिनभर पैदल हिँड्नुपर्ने समस्याका अलावा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, टेलिफोन, रोजगार तथा आयआर्जन आदि त्यहाँका जटिल समस्या रहेका छन् ।

राज्यको पहुँच पुग्न नसकेको सिद्धाराका केही भू–भागमा आजभन्दा करिव ३ वर्ष अगाडि हेफर इन्टरनेशनलको सहयोगमा स्थानीय साझेदार संस्था प्रकाश सचेतन समुह प्राग प्रवेश गरेको भए पनि शुरुवातमा आफनो लक्ष्य चुम्न कठिनाई भोग्नुपरेको प्रागका निर्देशक प्रेमनारायण गैरेले स्मरण गरे । महिलालाई घरभित्रै सीमित राख्नुपर्दछ भन्ने ग्रामिण सोच प्रागको अथक प्रयासबाट परिवर्तन भई हालको समयमा महिलाहरूले समुह गठन गरि क्षमता विकास र आयआर्जनमा सक्रिय बनेको वार्ड नम्बर ९ का निर्वाचित अध्यक्ष भीमबहादुर केसीले बताए । यसैगरि वडा नम्बर ११ का निर्वाचित अध्यक्ष कोपिलाचन्द्र आलेले पनि सार्वजनिक स्थानमा उभिएर ढुक्कसँग बोल्न र आफुलाई सामाजिक कार्यमा समर्पित हुन प्रागद्वारा सञ्चालित आधारशिला तालिम अविष्मरणीय रहेको बताए ।

परम्परागत रुपमा पशुपालन गर्दैआएका मौहावारी र पाकुरीका वासिन्दा हाल आधुनिक शैलीबाट बाख्रापालन गर्दै नश्ल सुधार तथा बाख्राका लागि गर्नुपर्ने स्याहारसुसारमा पनि अरुको भर पर्नुनपर्ने अवस्थामा पुगेपछि धन कमाउनकै निम्ति युवाहरु विदेशिन आवश्यक नपर्ने तथ्यको उदाहरण बन्न पुगेका छन् ।

– मुक्तिनाथ भुसाल