कुमार कान्छाको परिवारलाई एक लाख प्रदान

कुमार कान्छाको परिवारलाई एक लाख प्रदान


लण्डन । हालै दिवंगत भएका प्रख्यात गायक कुमार कान्छाको परिवारलाई स्कटल्याण्डस्थित अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयरको संयोजनमा रु १ लाख एक रुपैयाँ सहयोग प्रदान गरिएको छ । आज बुधवार राजधानीमा आयोजित विशेष कार्यक्रममा आयोजक संस्थाको तर्फबाट एनआरएन यू.के.का सल्लाहकार डा. पदम सिंखडाले सुप्रसिद्ध नायक राजेश हमाललाई सो रकम प्रदान गरे ।

अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयरले स्कटल्याण्डका प्रमुख तीन शहरहरु एबरडिन, एडिनब्रा र ग्ल्यास्गोमा गायक कुमार कान्छा सहयोगार्थ ‘संगीत यात्रा २०११’ नामको सांगीतिक कार्यक्रमको आयोजना गरी रकम संकलन गरेको थियो । सो सांगीतिक कार्यक्रममा कन्दरा समूहका लोकप्रिय गायक विवेक श्रेष्ठ र गायिका शर्मिला बर्देवाले आफ्ना गीतहरु प्रस्तुत गरेका थिए भने स्थानीय नेपाली कलाकारहरुको पनि प्रस्तुति रहेको थियो । गायक श्रेष्ठ र गायिका बर्देवाले ‘संगीत यात्रा २०११’ मार्फत गायक कान्छाको परिवारलाई सहयोग गर्ने कार्य निकै सराहनीय रहेको बताएकाथिए ।

यसअघि सो कार्यक्रम गायक कुमार कान्छाको स्वास्थ्य उपचारमा सहयोगको लागि गर्ने भनिएकोमा उनको निधनपछि परिवारलाई सहयोग गरिएको आयोजक संस्थाका सल्लाहकार नारायण (जोनी) पहारीले बताए । ‘संगीत यात्रा २०११’ का लागि एबरडिनमा नेप्लिज हिमालयन एशोसियसन स्कटल्याण्डका अध्यक्ष टक थापा, एडिनब्रामा नेपाल स्कटल्याण्ड एशोसियसन एडिनब्राका अध्यक्ष किशोर डंगोल र ग्ल्यासगोमा ग्ल्यासगो नेपाली एशोसियसनका अध्यक्ष मोहन कार्कीको संयोजकत्वमा आयोजक समिति क्रियाशील रहेको थियो ।-स्कटल्याण्ड, मेस