निर्वाचन दुर्घटनाग्रस्त हुने एमाले अध्यक्षको भनाइ

निर्वाचन दुर्घटनाग्रस्त हुने एमाले अध्यक्षको भनाइ


नेपालमा भोलि शुक्रबार हुन लागेको प्रधानमन्त्री निर्वाचन दुर्घटनाग्रस्त हुने एमाले अध्यक्ष झलनाथ खनालले बताएका छन्। आज सरकार गठनका बिषयलाई लिएर पार्टी मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गरी खनालले भने, ‘भोलिको निर्वाचन केवल व्यायाममात्र हुनेछ ।’

अध्यक्ष झलनाथ खनालले हिजो दुई तिहाई बहुमत नपुगेको भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन। उम्मेदवारी फिर्तासम्बन्धमा उनले कुनै रोष व्यक्त गरेनन्। उम्मेदवारी फिर्ता पार्टीको निर्णयअनुसार गरेको उनले बताए, ‘यो केन्द्रीय कमिटीको सर्वसम्मत निर्णय हो,मतभिन्नता छैन’, उनले बताए।

प्रधानमन्त्रीको पहिलो चरणको निर्वाचनबाट बाहिरिएको एमालेले अब राष्ट्रिय सहमति नबनुन्जेल बहुमतीय सरकार निर्माणका लागि कसैलाई समर्थन नगर्ने जनाएको छ। एमाले शीर्ष नेताहरूले भोलि हुने दोस्रो चरणको चुनावमा माओवादी र कांग्रेस दुवै दललाई समर्थन नगर्ने बताएका हुन्।