प्रख्यात डाक्टर रुइतलाई फेरि अर्को उपलब्धि

प्रख्यात डाक्टर रुइतलाई फेरि अर्को उपलब्धि


लण्डन । नेपालका विश्व विख्यात डाक्टर सन्दुक रुइत नेपाल आमाको मेहनती सपुत हुन् जसले नेपालमा मात्र नभई विश्वका कुना-कुनामा आफ्नो जीवनको ३० वर्षे चिकित्सक सेवाको अवधिमा गौरवपूर्ण सेवा दिएर नेपाललाई गौरवान्वित बनाएका छन् । नेपालको उत्तरपूर्वमा अवस्थित कंचनजंगा हिमालको काखमा रहेको विकट गाउँ ओलाङचुङ्गोलाको एउटा सामान्य शेर्पा परिवारमा जन्मेका डाक्टर सन्दुकले जीवनकालभरि आँखाको चिकित्सा गर्ने क्रममा कैयौं लाख मानिसहरुलाई आफूले आविष्कार गरेको नयाँ प्रविधिको चिकित्सा माध्यमबाट आँखाको ज्योति प्रदान गरेका छन् । आफूले अति माया गर्ने बहिनी १६ वर्षे कलिलो उमेरमा टीवी रोगबाट मृत्यु भएपछि उनलाई ठूलो आहात हुन पुगेको थियो । तर, बहिनीको मृत्यु उनको लागि चिकित्सक बन्ने प्रेरणा बन्दै आयो र अहिले उनी विश्वका अति सफल मानव कल्याण गर्ने मसिहा डाक्टरको रुपमा स्थापित भइसकेका छन् ।
शिक्षाको मामलामा उनी भाग्यमानी थिए । उनको गाउँबाट नजिकको स्कुल पुग्न हिँडेर ११ दिन लाग्दथ्यो । उनले प्रराम्भिक शिक्षा इण्डियाको इङ्गलिस स्कुलमा पढ्ने अवसर प्राप्त गरे । त्यसपछि एमबीबीएस पढ्नको लागि लखनउको किङ्ग जार्ज मेडिकल स्कुलमा पढ्ने अवसर प्राप्त गरे । उनमा स्कुल पढने बेलादेखि नै सफल चिकित्सक बन्ने सबै लक्षण थियो । एमबीबीएसको पढाइ सिद्धिएपछि उनले अल इण्डिया मेडिकल इन्स्टिट्युट अफ साइन्सबाट अप्थलमोलोजीमा पोस्ट ग्रेजुएटको प्रशिक्षण पूरा गरे । प्रशिक्षण समाप्तिलगत्तै आँखाको रोग निर्मुल गर्ने अभियानमा लागी परे । नेपालका गरीब जनतालाई उनले आँखा उपचारमा ज्योतिको अवतार नै बनेर बाटो देखाउँदै आएकाछन् । उनलाई अहिले विश्वले गरीबहरुका डाक्टर भनेर चिन्दछन् र उनका उपचारबाट आँखाको ज्योति प्राप्त गर्ने भाग्यमानीहरुले उनलाई आँखाको ज्योति प्रदान गर्ने भगवानसम्म भन्न थालेका छन् ।
विश्वलाई उनले एउटा सस्तो र छोटो समयमा नै सजिलै स्टिच नगरी आँखाको मोतिबिन्दु निकाल्ने प्रविधिको अविष्कार गरी गुण लगाएका छन् । जतिबेला उनले यो प्रविधिको आविष्कार गरेर चिकित्सा शुरु गरेका थिए, उनको यो प्रविधिलाई नेपालका नै उनको समकक्षी केही चिकित्सकहरुको समूहले विरोध गरेर प्रधानमन्त्रीसमक्ष उजुरी समेत गरेका थिए, तर, उनी आफ्नो काम र आविष्कारमा पूर्णतया आत्मविश्वास राख्दै आए । उनले नयाँ प्रविधि अपनाएर केवल पाँच मिनटमा मोतिबिन्दुको उपचार गरेर देखाइदिए । यो प्रविधि अहिले विश्वका हजारौं चिकित्सकहरुले उनबाट प्रशिक्षण प्राप्त गरिसकेका छन् । हाल आएर अमेरिकी सेनाका चिकित्सकहरुले समेत उनबाट प्रशिक्षण लिने भएका छन् । उनी नेपालका प्रसिद्ध तिलगंगा आँखा अस्पतालका संस्थापक तथा निर्देशक हुन् । डाक्टर सन्दुकले आफ्नो अस्ट्रेलियाई मित्र प्रोफेसर फ्रेड होलोजको सहयोगबाट तथा अन्तर्राष्ट्रिय समुहको सहयोगबाट सो अस्पताल निर्माण गर्न सफल भएका हुन् । जतिबेला शुरु-शुरुमा उनी नेपालमा नेपालिज प्रिभेन्शन अफ ब्लाइन्डनेश प्रोग्रामको मेडिकल अफिसर थिए, त्यतिबेला राष्ट्र संघबाट प्रोफेसर फ्रेड कन्सल्ट्याण्टको रुपमा नेपाल आएका थिए । डाक्टर सन्दुक र प्रोफेसर फ्रेडले त्यतिबेलादेखि नै नेपालमा आधुनिक आँखा उपचारको सेवा ल्याउने कुरामा संकल्प गरेका थिए । डाक्टर सन्दुक केही समयको लागि अस्ट्रेलियामा प्रोफेसर फ्रेडसँग आँखासम्बन्धी बृहत्तर प्रशिक्षणका लागि गएका थिए । उनले अस्ट्रेलियामा बस्दा नेपाल आई प्रोग्राम अस्ट्रेलिया [NEPA] संस्थाको स्थापना गरेर चन्दा संकलन गरेर नेपालका लागि आँखा उपचारको अभियान शुरु गरेका थिए । त्यसताका मोतिबिन्दु उपचार गर्ने आधुनिक साधन निकै महंगो साबित हुने थियो । प्रोफेसर फ्रेड होलोजको सहयोगबाट नेपालमा नै नयाँ प्रविधिको लागि इन्ट्रओक्यूलर लेन्सको माध्यमबाट उपचार गर्ने योजना गरेका थिए । नेपालमा आधुनिक आँखा अस्पतालको निर्माण र उद्घाटन हुनुअगावै प्रोफेसर फ्रेडको निधन हुन्छ । तर, अस्ट्रेलियाई जनता, फ्रेड होलोज फाउन्डेशन र उनको विधवी गबी होलोजको मदद्त र डाक्टर सन्दुकको अथक प्रयासबाट तिलगंगा आँखा अस्पतालको निर्माण पूरा भएर संचालनमा आयो । विदेशबाट आँखामा राख्ने लेन्स अत्यन्त महंगो भएकोले सन् १९९५ देखि नेपालमा नै सस्तो र गुणस्तरको आँखाको लेन्स पनि उत्पादन शुरु भयो जो अहिले पनि विदेशमा निर्यात हुँदै आएको छ । प्रोफेसर फ्रेड र उनले सम्पूण विश्वमा यो प्रविधि फैलाएर मानव कल्याण गर्ने अठेाट गरेका थिए । प्रोफेसर फ्रेड रहेनन्, तर, उनको सपना र संकल्प डाक्टर सन्दुकले पूरा गर्दैछन् । उनको मानव कल्याणको योगदानलाई कदर गरेर डाक्टर सन्दुक हालसम्म निम्न पुरुष्कार र सम्मान बाट सम्मानित भएका छन् ।
सन् २००५मा उनलाई नेपालबाट रोनास्टले रोनानस्टको दुइटा वार्षिक पुरुष्कारबाट सम्मानित,
सन २००६ मा फिलिपिन्सबाट रेमन मेगसेसे अवार्डबाट पुरुष्कृत भए जसलाई एसियाको नोवेल पुरुष्कार भनिन्छ ।
सन् २००७मा रिडर्स डाइजेस्टबाट “एसियान अफ द यार” को उपाधिबाट सम्मानित भए ।
सन् २००७मा नै अस्ट्रेलियाका गभर्नर जनरलबाट अनरेरी पद, अर्डर अफ अस्ट्रेलिया (एओ) बाट विभुषित
सन् २००७मा नै फेरि स्वास्थ्य चिकित्सा क्षेत्रमा ठूलो योगदान पुर्‍याएबापत थाइल्याण्डका “प्रिन्स महिडल अवार्ड”
डाक्टर सन्दुकले नेदरल्याड र अस्ट्रेलियाबाट माइक्रो र्सजरीमा फेलोशिप पूरा गरिसकेका छन् । अरु आँखाको थप प्रशिक्षण उनले विल्मार आई इन्स्टिट्युट अफ द जोन हपकिन्स् युनिभर्सिटी, स्कुल अफ मेडिसिन र युनिभर्सिटी मिचिगनबाट पनि प्राप्त
हालै उनले अर्को नयाँ पुरुष्कारबाट फेरि उनी सम्मानित भएका छन् । सीएमओ अवार्ड, उनले स्युचरलेस लेन्सको अविष्कार साथै यसको माध्यमबाट मोति बिन्दुको अपरेशन जस्मा स्टिच गर्नु पर्दैन, त्यसका लागि एसिया ब्राण्ड बिल्डर अफ द यार अवार्डबाट विभुषित भएका छन् ।
श्रोत – नेट, सुमल, मेस